No Image Headlineदेशमुख्य खबर

प्रधानमन्त्रीले विश्वासको मत लिँदै : कांग्रेसले लगायो ह्विप, पक्ष र विपक्षमा कति मत ?

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा सोमवार विश्वासको मत लिँदैछन् ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने र उनको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले विश्वासको मत दिने र त्यसका लागि आफ्ना सांसद्हरूलाई ह्वीप जारी गर्ने बताए।

नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेकै दिन नेकपा एमाले प्रतिनिधिसभाको बैठका प्रतिपक्षी बेञ्चमा बसिसकेको छ ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गीरीले आफूहरू आइतवारको बैठकबाटै प्रतिपक्षमा बसेको बताएका छन्

एमालेले राष्ट्रपति चुनावमा आफ्नो पक्षमा नउभिएको सहितका कारण देखाउँदै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थक केही साताअघि फिर्ता लिएको थियो।

कांग्रेस संसदीय दलमा ह्वीप

यसअघि राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपरराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई निर्वाचित गर्ने क्रममा पनि कांग्रेस, माओवादी केन्द्र र कतिपय साना दलहरू एक ठाउँमा उभिएका थिए।

त्यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर सोमवार प्रचण्डलाई विश्वासको मत दिने र आइतवारैदेखि संसद्‌मा सत्तापक्षको पङ्तिमा बस्ने निर्णय गरेको थियो।

बैठकले प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस पनि सामेल हुने निर्णय समेत गरको छ।

बैठकपछि बोल्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संवाददाताहरूलाई भने, प्रचन्डज्यूको सरकारले जुन विश्वासको मत लिँदैछ। त्यसमा नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ। त्यही किसिमको निर्देशन कार्यसम्पादन समितिले हाम्रो संसदीय दललाई दिनेछ।

उनले सरकारमा जाने निर्णय गरे पनि कांग्रेसबाट कोको सरकारमा सामेल हुने र कस्तो जिम्मेवारीमा जाने तय भइनसकेको बताए।

प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि त्यसबारे नेतृत्व तह बसेर छलफल गरी टुग्याउने उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको उक्त दलका नेताहरूले बताएका छन्।

उक्त दलका केन्द्रीय सदस्य रमेश प्रसाईँले मुद्दाका आधारमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको उल्लेख गर्दै त्यो फेरबदल नभएसम्म आफ्नो दलले दिएको समर्थन कायम रहने बताए।

उनी भन्छन्, यसअघि हामीले सरकारलाई समर्थन दिएको समयमा २०४६ साल यताका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने, सरकारी सेवा प्रवाहमा टाइम कार्ड लागु गर्ने, विदेशमा भएका नेपालीहरूलाई मतदानको अधिकार दिने जस्ता मुद्दा समावेश दिए। यी मुद्दाहरू सरकारको वार्षिक निती र कार्यक्रममा कायमै रहेको अवस्थामा हाम्रो समर्थन जारी रहन्छ।

उनले अब बिस्तार हुने मन्त्रिपरिषद्‌मा सहभागी हुनेबारेमा भने आफ्नो दलले कुनै निर्णय नलिएको बताए।

कसले कता हाल्दैछन् मत ?

प्रधानमन्त्रीलाई विश्वास छ भन्ने पक्षमा कांग्रेस ८७ (राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि रिक्त र टेकबहादुर गुरुङ निलम्बित), माओवादी ३२, रास्वपा १९, जसपा १० (सांसद शहनाज रहमानको निधन भई रिक्त पदमा सिफारिस मञ्जु अन्सारीको शपथ बाँकी र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव नियुक्त भई सांसद पद रिक्त), एकीकृत समाजवादी १०, जनमत ६, नागरिक उन्मुक्ति ४, स्वतन्त्र २ (प्रभु साह र अमरेशकुमार सिंह) गरी १७० सांसदले विश्वासको मत दिँदै छन्।

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न १३८ सांसद भए पुग्छ। यसमा राष्ट्रिय जनमोर्चाको १ मत पनि थपिने सम्भावना छ।

उनीप्रति विश्वास छैन भन्ने पक्षमा एमाले ७९, राप्रपा १४ र नेमकिपाका १ गरी ९४ सांसद उभिने भएका छन्।

यसअघि एमालेसँग गठबन्धन गरेर सरकार बनाएका प्रधानमन्त्री दाहालले २६ पुसमा विश्वासको मत लिएका थिए। उनले एमालेसँग मिलेर १० पुसमा सरकार बनाएका थिए। यसबीचमा एमालेले उनलाई दिएको समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button