खबर फटाफटस्वास्थ्य/जिवनशैली

ब्याट्रीको आयु जोगाउन विद्युतीय कार प्रयोगकर्ताले जान्नुपर्ने ५ उपाय

विद्युतीय सवारी प्रयोगकर्ताको संख्या दिनदिनै बढ्दो छ। उत्पादकहरु कम मूल्यमा कार बनाउन लागि परेका छन् भने सरकारले नगद तथा कर सहुलियत दिएर विद्युतीय कार प्रयोगकर्तालाई प्राेत्साहन गरिरहेको छ।

नेपालमा सरकारले विद्युतीय सवारीलाई प्रवर्द्ध गर्ने नीति लिएकाले आयातमा कर सहुलियत दिएको छ। त्यसैले संसारकै उत्कृष्ट टेस्लादेखि सामान्य र सस्ता चिनियाँ विद्युतीय कारसम्म नेपाली बजारमा उपलब्ध छन्।

 

विद्युतीय कार किन्नेको संख्या संसारभर बढ्दै गए पनि चार्जिङ समय, स्टेसन र रेन्ज एन्जाइटी खरिदकर्तामा कायमै छ। यसका बाबजुद कार्बन उत्सर्जन न्यून गर्न अब पेट्रोलियम कार किन्दिन भन्नेहरुका लागि विद्युतीय कार नै उपयुक्त विकल्पका रुपमा स्थापित भइसकेको छ।

हाल बजारमा उपलब्ध विद्युतीय कार रिचार्ज गर्न मिल्ने लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ। कारको ब्याट्रीमा चार्ज सकिए पनि पुनः चार्ज गर्नका लागि घरमै भएको वा सार्वजनिक स्थानमा उपलब्ध चार्जिङ स्टेसनमा चार्ज गर्नुपर्छ।

विद्युतीय कारमा प्रयोग भएका ब्याट्रीले कति किलोमिटर माइलेज दिन्छ भन्ने मात्र होइन त्यो चार्ज हुन कति समय लाग्छ भन्ने पनि महत्वपूर्ण हुन्छ। योभन्दा पनि अझ ब्याट्रीको आयु थप लम्ब्याउन प्रयोगकर्ताले त्यसलाई कसरी प्रयाेग गर्नुपर्छ भन्ने कुरा महत्वपूर्ण छ।

कार प्रयोगकर्ताले चार्ज गर्ने समय, ब्याट्री कति बेला चार्ज गर्नेलगायत विभिन्न कुरामा ध्यान दिनुपर्ने स्ल्यासगेयरले लेखेको छ।सोही प्लेटफर्ममा उल्लेखित विद्युतीय कारको ब्याट्री जोगाउने/आयु लम्ब्याउने ५ चर्चित विधिबारे उल्लेख गरिएको छ।

अधिक तापक्रमले ईभी ब्याट्रीमा गर्ने क्षति

तातो वा चिसो जेसुकै भएपनि अधिक हुनु विद्युतीय कारको ब्याट्रीका लागि लाभदायक हुँदैन। अधिक तापमानले विद्युतीय सवारीको चार्जिङ समय प्रभावित पार्छ। ब्याट्रीहरु चापमान संवेदनशील हुन्छन्। अधिक तातो वा चिसो मौसमले चार्ज गर्न लाग्ने समय, दिने रेन्ज तथा ब्याट्रीमा प्रभाव पार्छ।

चिसो मौसममा ब्याट्रीको केमेस्ट्री बिग्रिने र रेन्ज घट्छ। एएएले गरेको एक परीक्षणअनुसार तपक्रम २० डिग्री फरेनहाइटमा आएमा कारको रेन्ज १२ प्रतिशत घट्छ। तातो पनि ब्याट्रीका लागि उपयुक्त होइन। केही तालो वातावरणले ब्याट्रीको उपादेयतामा वृद्धि गर्छ। तर धेरै तातो हुँदा पनि ब्याट्रीको आयु क्षयीकरणमा सहयोग गर्छ। तामक्रम बढेर ९५ डिग्री फरेनहाइटम्म पुग्यो भने ब्याट्रीले दिने रेन्जमा ४ प्रतिशतसम्म गिरावट आउँछ।

चलाइमा पनि भर पर्छ ब्याट्रीको आयु

ब्याट्रीको लाइफ जोगाउन कार कसरी चलाइन्छ भन्ने कुरा निक्कै महत्वपूर्ण हुन्छ। ईभी चलाउनेहरुले सकेसम्म धेरै छिटो कार कुदाउनु हुन्न। यो चालकहरुका लागि चुनौतीको विषय हो, किनकि उनीहरुले पहिले चलाएको पेट्रोलियम कारको तुलनामा विद्युतीय कारको टर्क बढी हुन्छ। विद्युतीय कारमा एक्सिलेटर सहजै रुपमा बढ्ने गरि डिजाइन गरिएको हुन्छ।

विद्युतीय कार स्पोर्टस कारकै डीएनएमा डिजाइन नगरिएको भएपनि ती स्पोर्टस कार सरह नै शक्तिशाली हुन्छन्। चालकका लागि स्पीडमा कार कुदाउन पाउनु आनन्दको विषय हो। तर यो विद्युतीय कारको ब्याट्रीका लागि यो हानिकारक छ। धेरै स्पीडमा कुदाउँदा अकस्मात् ब्याट्रीको पावर डाउन हुन सक्छ। त्यसैले विद्युतीय कार शान्त गतिमा चलाउनु ब्याट्रीको आयु बढाउन योगदान पुग्छ।

फास्ट चार्जिङलाई प्राथमिकता नदिने

विद्युतीय कारको ब्याट्री छिटो चार्ज गर्न सबैको ध्यान फास्ट चार्जिङमा जाने गरेको छ। स्वभाविक हो फस्ट चार्जिङमा चार्ज गर्दा ब्याट्री निक्कै छिटो चार्ज हुन्छ। जुन गतिमा ब्याट्री छिटो चार्ज हुन्छ त्यही गतिमा ब्याट्रीको क्षयीकरण हुने अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरुले गरेको अध्ययनले देखाएको छ। फास्ट चार्जिङबाट चार्ज गर्दा ब्याट्री क्रयाक हुने, लिक हुने तथा विद्युत स्टोर क्षमता घट्दै जाने अध्ययनको निष्कर्षमा उल्लेख छ।

अध्ययनअनुसार ब्याट्रीको समग्र चार्जिङ साइकलमध्ये ४० प्रतिशत साइकल पुरा गरिसक्दा नियमित फस्ट चार्जरबाट चार्ज गर्ने ब्याट्रीको स्टोर क्षमता ६० प्रतिशतमा सीमित हुनेछ। त्यसैले आफ्नो कारको ब्याट्रीको आयु जोगाइराख्ने हो भने सकेसम्म एसी चार्जर (विस्तारै चार्ज हुने)बाटै चार्ज गर्नुपर्नेछ।

सकेसम्म फुल चार्ज नगर्ने 

विद्युतीय कारको ब्याट्री फुल चार्ज (१०० प्रतिशत) गर्ने बानी हटाउनुपर्छ भन्दा यो प्रत्युत्पादन सुनिन सक्छ। तर कारको ब्याट्रीको आयु जोगाउने हो भने १०० प्रतिशत नभइन्जेल चार्ज गर्ने बानी हटाउनुपर्छ। फुल चार्ज गर्दा त्यसको चार्जिङ साइलकमा समस्या आउन सक्छ। विद्युतीय कार पूर्ण रेन्ज क्षमतामा नगुड्ने भएकाले १०० प्रतिशत चार्ज गर्ने बानी हटाउनुपर्छ। त्यसैले ७० देखि ८० प्रतिशत चार्ज भएपछि चार्ज अनप्लग गर्नु उपयुक्त हुन्छ।

फुल चार्ज गर्दा ब्याट्री तात्ने सम्भावना धेरै हुने भएकाले ब्याट्रीको आयु क्षयीकरण बढ्न सक्छ। यसरी हुने तापले ब्याट्रीमा क्षति पुग्ने रिकरेन्टले गरेको अध्ययनले देखाएको छ। त्यसोभए ब्याट्री कति प्रतिशत चार्ज गर्ने त? ब्याट्रीको आयु लम्ब्याउने हो भने विद्युतीय कारको ब्याट्री २० देखि ८० प्रतिशत चार्जमा मेन्टेन गर्नु राम्रो हुन्छ।

ब्याट्री उपयुक्त ढंगले स्टोर भएको छ/छैन जाँच गर्ने

विद्युतीय कार प्रयोगकर्ताहरु कुनै कारणले बाहिर जाँदैछन् र कार थन्क्याएर राख्नुपर्ने अवस्था छ भने आफ्नो कारको ब्याट्री कुन अवस्थामा छ हेरेर जानुपर्छ। कारको ब्याट्रीको अवस्था ठीक छ भने त्यसको आयु बढाउन सहयोग पुग्छ। तर कार उत्पादकहरुले कार थन्क्याएर राख्दा ब्याट्रीको आयु घट्छ भन्ने कुरा इन्कार गर्दै आएका छन्। यद्यपी केही कार उत्पादकले भने पार्किङमा राख्दा ब्याट्रीको अवस्था हेरेर ठीक ढंगमा छैन भने मिलाउनु राम्रो हुने बताएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button