No Image Headlineदेशयस्तो पनिविशेष

प्रचण्डका ६ नाम, उनले फेरेका ७ गठबन्धन

Thrill Factory
Rungta Group

प्रचण्डले आफ्नो नाम मात्रै छ पटक परिवर्तन गरिसकेका छन्। 

प्रचण्डले राजनीतिक आदर्श मान्ने गरेका स्टालिनले पनि तीन पटक नाम परिवर्तन गरेका थिए। स्टालिन नाम राख्नुअघि उनको नाम कोबा थियो भने वास्तविक नाम जोसेफ भिसारिओनोभिच जुगासभिली हो। उनका अर्का आदर्शपुरुष लेनिनको वास्तविक नाम पनि भ्लादिमिर उलियानभ हो।

तर नाम फेर्ने विषयमा प्रचण्डले ती चर्चित नेताहरूलाई पनि पछि पारेको कम्युनिष्ट नेताहरू बताउँछन्।

नारायणी विद्या मन्दिर चितवनमा कक्षा १० मा पढ्दै गर्दा छविलाल दाहालबाट नाम फेरेर पुष्पकमल दाहाल राखेका प्रचण्डले भूमिगत कालमा आफ्नो नाम पटकपटक परिवर्तन गरे।

पञ्चायतविरोधी आन्दोलनमा २०३८ सालमै भूमिगत भएका प्रचण्ड एकैपटक २०६३ साल असार २ गते बालुवाटारमा सार्वजनिक भए। उनी ४६ सालको जनआन्दोलन र ४७ सालमा भएको कट्टर वामपन्थी दलहरूको एकतामा पनि सार्वजनिक भएनन्।

उनी २०४६ सालपछि केही वर्ष अर्ध भूमिगत रहेर जनयुद्ध सुरु भएपछि मात्रै भूमिगत भएका थिए। यसबीचमा उनले कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम राखे। त्यसअघि नै उनी छविलालबाट पुष्पकमल बनिसकेका थिए।

शिक्षक हुँदा योङ कम्युनिस्ट लीग भनिने वाम सङ्गठनमा आबद्ध भएका कारण आफ्नो परिचय नखुलोस् भनेर आफ्नो नाम कल्याण राखे। मसालको केन्द्रीय सदस्य हुँदा उनको नाम विश्वास थियो।

वाम एकतापछि पार्टी निर्माणका लागि उनले निर्माण नाम राखेको माओवादीका पुराना नेता नारायण शर्मा बताउँछन्। ‘एकतापछि पार्टी निर्माणको दौरानमा निर्माण नाम राख्नुभयो। पछि हामी क्रान्तिमा युद्धमा जाने कुरा थियो, निर्माण शान्तिवादी जस्तो नाम भयो,’ उनले भने।

रूप र सारको बीचमा मेल हुनुपर्छ भनेजस्तै क्रान्तिकारी नेताको नाम पनि क्रान्तिकारी हुनुपर्छ भनेर प्रचण्ड राख्नुभएको होला।

उनले पार्टीको नाम पनि ६ पटक परिवर्तन गरिसकेका छन्। प्रचण्ड राजनीति सुरु गर्दा तत्कालीन कम्युनिस्ट पार्टीको पुष्पलाल समूहमा आबद्ध भएका थिए।

उनी २०४६ सालमा पहिलो पटक पार्टी प्रमुख (महामन्त्री) हुँदा उनको पार्टीको नाम नेकपा मसाल थियो। त्यसको दुई वर्षपछि २०४८ सालमा पार्टीको नाम एकता केन्द्र भयो। जनयुद्ध सुरु गर्नुअघि उनले पार्टीको नाम माओवादी राखे।

संसदीय राजनीतिमा आएपछि उनको पार्टी र एकता केन्द्र मसालबीच एकता भएपछि पार्टीको नाम एकीकृत माओवादी राखियो।

प्रचण्डले फेरि साना कम्युनिस्ट पार्टीहरूसँग एकता गरेर पार्टीको नाम माओवादी केन्द्र बनाए। तर एमालेसँगको एकता पछि त्यो नाम फेरिएर नेकपा मात्रै रह्यो। पार्टी एकता बदर भएपछि प्रचण्ड पुरानै माओवादी केन्द्रको अध्यक्ष छन्।

आफ्नो नाम र पार्टीको नामपछि उनले सबैभन्दा धेरै फेरेको गठबन्धन हो। संसदीय राजनीतिमा आएपछि कहिले एमाले र कहिले कांग्रेस त कहिले मधेशवादीसहित साना दलहरूसँग बनाएको गठबन्धन पनि उनले छ पटक नै फेरिसकेका छन्।

माओवादीले नै अघि सारेको मुद्दाका कारण २०६४ सालमा भएको संविधानसभाको निर्वाचनपछि उनको दल पहिलो भयो तर बहुमत पाएन। त्यसपछि प्रचण्डले सरकार बनाउन नेकपा एमालेसँग गठबन्धन गरे।

प्रधानसेनापति रुक्माङ्गद कटुवाललाई हटाउने उनको निर्णयपछि एमालेले सरकार छोड्यो र प्रचण्डको दल प्रतिपक्षमा गयो। उनले विपक्षी दलहरूको मोर्चा बनाए। प्रचण्ड नेतृत्वको मोर्चामा एक पटक २७ वटासम्म दलहरू सहभागी थिए।

प्रधानसेनापति हटाउन आफूलाई साथ नदिएपछि टुटेको एमालेसँगको गठबन्धन प्रचण्डले फेरि २०६७ मा फेरि सुरु गरे र एमालेका तात्कालिक अध्यक्ष झालनाथ खनाललाई प्रधानमन्त्री बन्न सहयोग गरे।

निर्धारित समयमा संविधान नबनेपछि पहिलो संविधानसभा विघटन भयो। दोस्रो संविधानसभापछि कांग्रेस एमालेको गठबन्धन बन्दा प्रचण्ड एक्लिए। संविधान जारी भएपछि प्रचण्डले एमालेको साथ छोडे। केपी ओलीलाई अविश्वासको प्रस्ताव दर्ता गराउँदै प्रचण्ड आफैँ प्रधानमन्त्री बने, नेपाली कांग्रेसको साथ लिए।

कांग्रेससँग प्रचण्डको ठूलो वैचारिक अन्तरमात्र थिएन कांग्रेसको नेतृत्व गरिरहेका शेरबहादुर देउवा तिनै व्यक्ति थिए जसले २०५९ सालमा आफू प्रधानमन्त्री हुँदा माओवादी नेताहरूको टाउकोको मूल्य तोकेका थिए।

कांग्रेससँग गठबन्धन बनाएपछि एमालेसँग बनेको कटुतापूर्ण सम्बन्ध अन्त्य गर्दै प्रचण्डले संविधान जारी भएपछि हुँदै गरेको सङ्घीय निर्वाचनमा एमालेसँगै चुनावी गठबन्धन गरे। गठबन्धन पार्टी एकतामै पुग्यो।

एमालेसँगको एकताका लागि प्रचण्डले आफैँले बनाएको माओवादी विचारधारा मात्रै छोडेनन्, उनको पार्टी पङ्क्तिले गर्व गर्दै आएको जनयुद्ध दिवस पनि मनाउन छोडिदिए।

ओलीसँग उनको सम्बन्ध बिग्रँदै गएपछि प्रचण्ड एमालेसँग एकतापछि बनेको नेकपाबाट बाहिरिने तरखरमै रहेका बेला अदालतले एकता बदर गर्ने निर्णय गर्‍यो। अब प्रचण्ड पुरानै पार्टीमा फर्किएर फेरि कांग्रेससँग गठबन्धन गर्ने निर्णयमा पुगे।

गएको मंसिरमा आम चुनाव सम्पन्न हुनुअघि नै प्रचण्डले आफूले एक पटक पुन: सत्ताको नेतृत्व गर्न चाहेको सार्वजनिक रूपमा नै बताएका थिए।

त्यसमाथि चुनावी परिणामले सत्ता निर्माणको अङ्क गणित पेचिलो हुने देखाएपछि तेस्रो ठूलो दलका रूपमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान उनले राख्दै आएका थिए।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा आफ्नो दाबी कायम राखेपछि सरकार निर्माणका लागि दिइएको समयसीमा सकिनै लाग्दा प्रचण्डले आफ्ना कटु आलोचक रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता साझेदारीको हात मिलाएका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button