डेंगी संक्रमण : महिला संक्रमितलाई लामो समयसम्म समस्या-अध्ययन

पछिल्लो समय संक्रमण हुनेको सङ्ख्यामा कमी हुँदै गैरहेको भएता पनि संक्रमित भैसकेका कतिपयमा भने लामो समयपछि पनि स्वास्थ्यमा निरन्तर समस्या देखिएको डाक्टर शेरबहादुर पुनले बताए ।
कतिपयलाई शारीरिक काम गर्दा पनि छिटो स्याँ स्याँ हुने, टाउको भारी हुने, अत्यधिक थकित महसुस हुने, एकाग्रता नहुने, शारीरिक तथा मानसिक कमजोरी महसुस हुने, मांशपेशी दुख्ने, गिजा दाँत दुख्ने र अत्यधिक कपाल झर्ने, सामान राखेको ठाउँ समेत पटकपटक भुल्ने गरेको जस्ता समस्या हुने गरेको छ ।
पोष्ट डेगींको समस्या सम्भवत नेपालको लागि नौलो अनुभव भएकोले पोष्ट कोभिड खासै सतहमा नआएको वा आइनसकेको चिकित्सकको बुझाई छ ।
विश्वमा पोष्ट डेंगी सम्बन्धी पर्याप्त अनुसन्धान भएको देखिँदैन । यसबाट पनि यो समस्याप्रति धेरैको ध्यानाकर्षण नभएको प्रष्टै हुन्छ ।
डेंगी संक्रमण भएको कति हप्ता वा महिना पछिको अवस्थामा पनि स्वास्थ्यमा समस्या देखिरहे पोष्टडेंगीको अवस्था जनाउने भन्नेमा विश्वका वैज्ञानिकबीच एकल धारणा बनिसकेको छैन ।
श्रीलंकामा गरिएको एक अनुसन्धानले त्यहाँ डेंगी संक्रमितमध्ये एक तिहाइमा दुई महिनापछि पनि पोष्टडेंगीका समस्या देखिने गरेको देखाएको थियो ।
ब्राजिलमा गरिएको अनुसन्धानले डेंगी संक्रमितमध्ये झन्डै पचास प्रतिशतमा ६ महिनासम्म पनि पोष्ट डेंगीको समस्या हुने नतिजा प्रकाशित गरिएको थियो।
क्युबामा गरिएको एक अर्को अनुसन्धानमा त डेंगी संक्रमित भएको २ वर्षसम्म पनि ‘पोष्ट-डेंगी’को समस्याबाट प्रभावित हुने गरेको तथ्य पत्ता लगाएको थियो । सो क्युबाली अनुसन्धानमा डेंगी संक्रमितका पचास प्रतिशतभन्दा बढीमा पोष्टडेंगीको समस्या देखिएको थियो ।
अधिकांश अनुसन्धानहरूले महिला संक्रमितहरूमा पोष्ट डेंगी समस्या बढी हुने गरेको नतिजा प्रकाशित गरेका थिए । जसको यकिन कारण भने थाहा छैन । पोष्ट डेंगीमा पर्याप्त अध्ययन र अनुसन्धान नभएकोले उपचारको बारेमा पर्याप्त जानकारी वा अनुसन्धान नभएको डा. पुनको भनाई छ ।



