No Image Headlineदेशमुख्य खबर

चाडपर्वमा बढ्दो सवारी दुर्घटना र न्यूनीकरणका उपाय

नेपालमा मनाइने दशैँ र तिहारजस्ता मुख्य चाडपर्वका बेला सडक दुर्घटनाका घटनाहरू हुने गरेका विवरणहरू आउने गरेका छन्। मुख्य चाडपर्वकै बेला विशेषगरी राजधानी काठमाडौंसहित सहरी क्षेत्रबाट दशैँतिहार मनाउन जाने मानिसहरू दुर्घटनामा परेका दुखद खबरहरू सार्वजनिक हुन्छन्।

बुधवार मात्र मध्यपश्चिम नेपालको सल्यानमा एउटा जीप दुर्घटनामा पर्दा आठ जनाको ज्यान गएको छ। सल्यानका प्रहरी नायब उपरीक्षक दामोदार केसीका अनुसार बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकातर्फ जाँदै गरेको बुधवार सबेरै २ बजे दुर्घटना भएको थियो र आठै जनाको घटनास्थलमै मृत्यु भएको थियो।

मानिसहरूको आवतजावत बढी हुने चाडवाडका बेलामा खाले दुर्घटना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अधिकारीहरू र विज्ञहरूले सुझाव दिएका छन्। यद्यपि विज्ञका भनाइमा चाडपर्वमा हुने दुर्घटना घटाउन दीर्घकालीन रूपमै कदम चाल्नुपर्ने देखिन्छ। सरकारी अधिकारीहरू भने चाडपर्वका बेला दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चालिएको दाबी गर्छन्।

आवतजावतमा वृद्धि
सरकारी निकायहरूले दिएको जानकारीअनुसार दशैँतिहार जस्ता चाडपर्वका बेलमा विशेषगरी सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा जाने र पर्व सकिएपछि फर्किने मानिसको सङ्ख्या निकै बढ्ने गर्छ। त्यसका लागि सबैभन्दा धेरै सार्वजनिक यातायातको प्रयोग हुने गर्छ।

काठमाडौं उपत्यकाबाट पनि अन्य बेलाको तुलनामा उपत्यकाबाट बाहिरिने मानिसको सङ्ख्या तीन गुनाभन्दा धेरैले बढ्ने ट्राफिक प्रहरीको भनाइ छ। अरू बेला दैनिक औसतमा २०,०००-२५,००० जना उपत्यकाबाट बाहिरिने गरेका छन्। दशैँका बेलामा भने ६०,००० भन्दा बढी मानिसहरू दैनिक रूपमा बाहिरिरहेका छन्, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले भने।

उनका भनाइमा घटस्थापनायता उपत्यकाबाट दैनिक ९,००० वटाभन्दा बढी सवारीसाधन बाहिरिरहेका छन्। त्यस्तो सङ्ख्या अन्य बेलामा ५,००० वटाको हाराहारीमा हुने गर्थ्यो।

दुर्घटना न्यूनीकरणका लागि के गर्दै छ सरकार ?
चाडपर्वलाई लक्ष्य गरी ल्याइने सुरक्षा योजनाका लागि आवश्यक काम कारबाही गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकिएको गृह मन्त्रालयले जनाएको छ। त्यस क्रममा सरोकारवाला निकायका प्रतिनिधिहरू रहेको एउटा समिति बनाइएको र त्यसले समन्वय गरिरहेको अधिकारीहरूको भनाइ छ।

उक्त समितिले दुर्घटना न्यूनीकरणका लागि पनि विभिन्न निर्देशन दिएको बताइएको छ। उक्त निर्देशनअनुसार नै देशैभरिका ट्राफिकले काम गरिरहेको भट्टले बताए।

उनले उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई आफूहरूले विशेष निगरानी गर्ने गरेको जानकारी पनि दिए। भट्टले भने, हामीले नियम र कानुनमा भएका व्यवस्थाहरू लागु गर्ने हो। त्यसका लागि काम गरिरहेका छौँ।

उनका अनुसार अहिले उपत्यकाबाट बाहिरिने सवारीसाधनका चालकहरूले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने, लामो दूरीका सवारीसाधनमा दुई चालक भए नभएको हेर्ने, सवारीको गति मापन गर्ने, तेस्रो पक्ष बीमा गरेको छ छैन हेर्ने, सवारीको यान्त्रिक अवस्था हेर्ने जस्ता कार्य ट्राफिक प्रहरीले जारी राखेको छ।

यातायात व्यवस्था विभाग के भन्छ ?
कैफियत देखिएमा ट्राफिकले गर्न मिल्ने कारबाही गर्ने र अन्य निकायमा पठाउनुपर्नेलाई पठाउने गरिएको छ, उनले भने। उनले सवारीसाधनको अवस्थाका कारणले पनि दुर्घटना हुने गरेकाले अहिले अभियानकै रूपमा सवारीसाधनको अवस्था हेर्न थालिएको जानकारी दिए।

सवारीसाधनको स्वास्थ्य हेर्ने छुट्टै निकाय भए पनि हामीले समेत त्यसलाई हेरिरहेका छौँ। गलत भएको भेटिएमा सम्बन्धित निकायमा पठाउँछौँ, उनले भने।यान्त्रिक अवस्था ठिक नभएको पाइएका दैनिक २० देखि २५ सवारीसाधनलाई कारबाही भइरहेको उनको भनाइ छ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु दशैँका बेलामा प्राविधिक खटाएरै त्यस्तो जाँच जारी राखिएको दाबी गर्छन्। त्यसबाहेक नाकानाकामा पनि ट्राफिक प्रहरीले चेक गरेर हामीलाई पठाएकालाई सुधार गर्न लगाउने र जरिवाना गर्ने गरिरहेका छौँ, उनले भने।

उनका भनाइमा लामो दूरीका सवारीसाधनलाई पहिले जाँच गराएर मात्र पठाउने गरिएको छ। सडक सुरक्षा तथा यातायातसम्बन्धी एकजना विज्ञ चन्द्रबहादुर श्रेष्ठ दशैँतिहारका बेला हुने दुर्घटनामा धेरै व्यक्तिको ज्यान जाने गरेको देखिएको बताउँछन्।

त्यसको कारणबारे उनी भन्छन्, नेपालको सडक दुर्घटनाको प्रवृत्ति हेर्दा सहरमा हुने दुर्घटनामा मृत्यु कम हुने र ग्रामीण क्षेत्रमा धेरै मृत्यु हुने देखिन्छ। त्यसमा एउटा कारण सहरी क्षेत्रमा सवारीको गति कम हुनु पनि हो तर अन्य धेरै कारण छन्।

चाडवाडका बेलामा मानिसहरू सहरबाट गाउँतिर जाने गर्छन् त्यसले पनि दुर्घटनामा ज्यान गुमाउने धेरै हुन्छन्। उनका बुझाइमा नेपालमा सडक दुर्घटना हुने तीनवटा मुख्य कारण छन् पूर्वाधार, मानवीय कारण र सवारीको अवस्था। पूर्वधारजन्य कारणमा विशेषगरी ग्रामीण क्षेत्रमा इन्जिनियरिङ नमिलेका तथा जथाभावी बनाइएका सडक मुख्य दोषी रहेको उनको भनाइ छ।

यो नेपालको अर्थराजनीतिसँग पनि जोडिएको विषय हो। नेताहरूलाई कार्यकर्ता पाल्नका लागि पनि सडक बनाउने काम दिनुपर्ने अवस्था छ। त्यसैले उनीहरूले ए चलिहाल्छ नि, भन्ने खालको सडक बनाउन बजेट विनियोजन गरिदिन्छन्, उनले भने। न इन्जिनियरिङ मिलेको हुन्छ न सडकको अवस्था नै ठिक हुन्छ। चलिहाल्छ भनिएको सडक चल्दैन रहेछ भन्ने त देखिएकै छ नि ।

त्यस्ता सडकमा सवारीसाधनहरू गुडाउनु भनेकै मृत्युलाई निम्ता दिनु सहर भएको उनको भनाइ छ। ग्रामीण क्षेत्रका कच्ची तथा सवारीसाधनहरू चिप्लिने सडक दुर्घटनाको एउटा मुख्य कारण हो।

त्यसैले दुर्घटना कम गर्नका निम्ति सबैभन्दा पहिले सडक पूर्वाधार सुधार गर्नुपर्ने उनको भनाइ छ। तर त्यसका लागि नेपालको अर्थराजनीतिक संरचनामै सुधार गर्नुपर्ने खाँचो उनी औल्याउँछन्।

श्रेष्ठका बुझाइमा अहिले पनि नेपालमा विशेषगरी सहरी क्षेत्रमा थोत्रिएपछि ती सवारीसाधनलाई ग्रामीण क्षेत्रमा लाने गरिएको छ। त्यसरी थोत्रा सवारीसाधन ग्रामीण क्षेत्रमा लैजादा दुर्घटना बढेको छ।

एकातिर कमजोर पूर्वाधार भएको र अर्कोतिर सवारीसाधन पनि थोत्रो हुँदा त्यसले दुर्घटना तिम्त्याएको उनको भनाइ छ। सवारीको स्वास्थ्य जाँच गर्ने कुरा पनि प्रभावकारी देखिएको छैन। अस्वस्थ सवारीसाधन दुर्घटनाका कारण हुन्, उनले भने। त्यसैले दुर्घटना न्यूनीकरणका लागि यस्ता सवारीसाधनमा रोक लगाउने र त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने हुन्छ।

मानवीय सुधार
दुर्घटनाको अर्को कारण मानवीय भएको उनको भनाइ छ। त्यसमा अदक्ष चालकले सवारीसाधन चलाउनु तथा क्षमताभन्दा बढी यात्रु राखेर सवारीसाधन चलाउनु जस्ता कुरा पर्छन्।

दशैँका बेलामा आराम नगरीकन लगातार सावरीसाधन चलाउने कुराले पनि दुर्घटना बढाएको उनको भनाइ छ। यसको सुधारका लागि ग्रामीण क्षेत्रमा समेत ट्राफिकको पहुँच विस्तार गर्ने वा स्थानीय सरकार सक्रिय भएर निगरानी गर्ने गर्छ सकिने श्रेष्ठको धारणा छ।

त्यस्तै यात्रुले पनि अनावश्यक भिडमा यात्रा नगर्ने बानी बसाल्नु उपयुक्त हुने उनी ठान्छन्। यद्यपि स्थानीय तहका पदाधिकारी वा उनीहरूलाई प्रभाव पार्न सक्ने खालका व्यक्तिहरू नै सवारीधनी हुने गरेको भन्दै स्थानीय तहले निगरानी गर्नेमा उनी शङ्का व्यक्त गर्छन्। यद्यपि नागरिकस्तरबाट हुने निरन्तरको खबरदारीले मानवीय कमजोरीलाई कम गर्न सक्ने उनको बुझाइ छ।

संयुक्त राष्ट संघको तथ्याङ्कमा सडक सुरक्षा

  • बर्सेनि सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या: साढे १३ लाख
  • विश्वभरि सडक दुर्घटना ५-२९ वर्ष उमेर समूहको ज्यान जानुको प्रमुख कारण
  • दैनिक सडकमा संसारभरि ज्यान गुमाउनेको सङ्ख्या: ३७००
  • अफ्रिका र दक्षिण पूर्वी एशियामा सबैभन्दा बढी सवारी दुर्घटना
  • न्यून आय भएका देशमा सन् २०१३ यता सवारी दुर्घटना नियन्त्रणमा आउन सकेको छैन
  • सवारी दुर्घटनामा हुने मृत्युमध्ये २७ प्रतिशत दक्षिण एशियामा
  • नेपालमा प्रति १ लाखमा लभभग १६ जनाको मृत्युको कारण सवारी दुर्घटना
  • सडक दुर्घटनाका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनमा बर्सेनि ०.८ प्रतिशत क्षति
  • विश्वमा हुने सडक दुर्घटनामध्ये करिब २७ प्रतिशत दक्षिण एशियामा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button