खबर फटाफटदेश

समाजिक काममा उदाहरणीय रोटरी क्लव, कृत्रिम खुट्टाले फर्काउँदै खुशी

Thrill Factory
Rungta Group

मोरङ, उर्लाबारीका गोपाल श्रेष्ठलाई २२ वर्षअघिको त्यो कालो दिनले अहिले पनि झस्काउँछ । २०५७ सालमा १३ वर्षको उमेरमा सवारी दुर्घटनामा गम्भीर घाइते गोपाल लामो समय अस्पतालको बसाइपछि निको त भए, तर चिकित्सकले उनको बायाँ खुट्टा जसोतसो जोगाए पनि दायाँ खुट्टा जोगाउन सकेनन् । उनले आफ्नो दायाँ खुट्टा सधैंका लागि गुमाए ।

दुर्घटनाको ११ वर्षसम्म एउटा खुट्टाविना कष्टकर जीवन बिताएका गोपाल अहिले आफ्नै खुट्टामा हिँडडुल गर्छन् । २०६८ सालमा पहिलोपटक विराटनगरमा एक संस्थाको सहयोगमा कृत्रिम खुट्टा प्रत्यारोपण गर्न पाएपछि उनले नयाँ जीवन पाएको अनुभव गरे ।

दशकअघि प्रत्यारोपण गरिएको खुट्टा सानो भएर हिँडडुलमा समस्या हुन थाल्यो । तर, अर्को खुट्टा कहाँ प्रत्यारोपण गर्ने उनी अन्योलमा परे । बायाँ खुट्टामा समेत ठाउँठाउँमा रड हालिएकाले उनलाई कष्ट हुन थाल्यो । यस्तैमा ६ महीनाअघि वीरगञ्जमा प्रत्यारोपण सेवा पाउने सुनेका उनी भदौको तेस्रो साता वीरगञ्जको रोटरी डाइग्नोस्टिक सेन्टरमा पुन: खुट्टा प्रत्यारोपणका लागि आइपुगे ।

सामाजिक संस्था रोटरी क्लब अफ वीरगञ्जले सञ्चालन गरेको केन्द्रले खुट्टाको नाप लिएर नयाँ खुट्टा प्रत्यारोपण गरिदिएपछि उनका खुशीको सीमा नै रहेन । उनले भने, ‘खुट्टा सानो भएपछि हिँड्न पनि अत्यन्तै सकस भएको थियो । अब भने कष्टबाट मुक्ति मिल्ने भयो ।’

उनको काटिएको खुट्टाको मोटाइ बढ्दै गएपछि दशकअघि लगाइएको खुट्टाले मासु च्यापिएर हिँडडुल असहज भइरहेको थियो । अहिले नयाँ नापको कृत्रिम खुट्टा प्रत्यारोपण भएपछि उनको दैनिकी सहज भएको हो ।

कृत्रिम खुट्टा प्रदान गर्दै वरिष्ठ उद्यमी सत्यनारायण क्याल ।
कृत्रिम खुट्टा प्रदान गर्दै वरिष्ठ उद्यमी सत्यनारायण क्याल ।

गोपाललाई लिएर वीरगञ्ज आइपुगेकी उनकी आमा दुर्गाले कृत्रिम खुट्टाले छोराको दिनचर्या सहजमात्रै नभएर आफ्नो परिवारमा खुशी फर्काएको बताइन् । ‘दुर्घटना हुँदा यो १३ वर्षको थियो । खुट्टा काटिएपछि फेरि यसरी हिँड्न सक्ला भन्ने त सोचेकै थिएनौं । कृत्रिम खुट्टाले हाम्रो जीवनबाट गुमेको खुशी नै फर्काइदियो,’ भावुक हुँदै उनले भनिन् ।

गोपालमात्र होइन, रोटरी क्लब अफ वीरगञ्जले महावीर जयपुर रिहाबिलिटेशन सेन्टरको सहकार्यमा अहिलेसम्म ३ सय जनाभन्दा बढीलाई कृत्रिम खुट्टा प्रत्यारोपण गरिदिएको छ । त्यसमा ७ वर्षे बालकदेखि ७५ वर्षे ज्येष्ठ नागरिकसम्म छन् ।

कृत्रिम खुट्टा प्रत्यारोपणमा सहयोग पुर्‍याउँदै वीरगञ्जका वरिष्ठ उद्योगी बाबुलाल चाचान ।
कृत्रिम खुट्टा प्रत्यारोपणमा सहयोग पुर्‍याउँदै वीरगञ्जका वरिष्ठ उद्योगी बाबुलाल चाचान ।

केन्द्रले संस्थाका सदस्य र स्थानीय दाताबाट सहयोग जुटाएर ३ सय १५ जनालाई यस्तो खुट्टा नि:शुल्क प्रत्यारोपण गरिसकेको रोटरी क्लव अफ बीरगन्जका पूर्वअध्यक्ष अभिषेक चौधरीले जानकारी दिए । तीमध्ये ७ जनालाई दुवै खुट्टा प्रत्यारोपण गरिएको छ ।

रोटरीले यसका लागि २ जनालाई प्राविधिक तालीम दिएर नापअनुसारका कृत्रिम खुट्टा बनाउन दक्ष बनाएको छ । केन्द्रका सचिवसमेत रहेका चौधरीले आउँदो कात्तिकदेखि कृत्रिम हात पनि प्रत्यारोपण गर्ने योजना सुनाएको समाचार आर्थिक अभियानमा छापिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button