No Image Headlineस्वास्थ्य/जिवनशैली

किन मानिसहरूमा अझै कोभिड संक्रमण देखिएको छ ?

कोभिड विरूद्धको खोप विकास गर्नुको एउटै उद्देश्य भनेको यस रोगको जटिल अवस्थाहरू देखिने जोखिम कम गर्नु रहेको थियो। खोपले अस्पताल भर्ना हुनुपर्ने, कृत्रिम रूपले श्वास फेर्नुपर्ने हुनसक्ने गराउने र मृत्युसम्म हुने अवस्थाबाट जोगाउने ठानिन्छ।

खोप विकासमा रहेको प्रविधिका बावजुद ती सबैको एउटै लक्ष्य हुन्छ, भाइरस वा ब्याक्टेरियासँग हाम्रो प्रतिरक्षा प्रणालीलाई सुरक्षित रुपले संलग्न गराउने।

हाम्रो स्वास्थ्यलाई असर नगर्ने त्यो प्रारम्भिक संसर्गबाट हाम्रा कोशिकाले वास्तविक सङ्क्रमण हुने अवस्थाका लागि त्यससँग जुझ्ने क्षमता विकास गर्छन्। प्रतिरक्षाको प्रक्रिया निकै जटिल हुन्छ र त्यसमा कैयौँ कोशिकाहरू र रोगप्रतिरोधी तत्त्वहरू संलग्न हुन्छन्।

जसले गर्दा प्रतिरोधी क्षमता भाइरसको प्रकृति, त्यसको उत्परिवर्तन क्षमता, खोपको विकास गरिएको प्रक्रिया, व्यक्तिमा पहिल्यैदेखि रहेका समस्याजस्ता धेरै पक्षहरू अनुसार फरकफरक हुन्छ।

त्यसैले गर्दा सङ्क्रमण नै रोक्ने प्रतिरोधी तत्त्व विकास गर्न अर्थवा रोगको कारकलाई हाम्रो शरिरभित्र छिर्न रोक्ने काम कठिन हुन्छ।

तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ, खोपले पनि सङ्क्रमण रोक्न नसक्ने अवस्थामा खोपले सिर्जना गर्ने प्रतिरोधी क्रियाले लक्षणहरू कम गम्भीर बनाउँदै गम्भीर रोग लाग्न र मृत्युबाट जोगिन सघाउँछ।

कोभिड १९ का हकमा उपलब्ध खोपले सङ्क्रमणको नयाँ लहरलाई रोक्न सकेको छैन। तर तिनले सङ्क्रमणलाई खराब हुनबाट रोक्न भने राम्रोसँग सकेका छन्।

प्रमाणका रूपमा सन् २०२१ को अन्त्यतिर र सन् २०२२ को सुरुको अवधिमा देखा परेको ओमिक्रोन भेरिअन्टको लहर छ। जतिखेर कैयौँ देशमा कोभिड सङ्क्रमितको सङ्ख्यामा कीर्तिमानहरू तोडिए पनि अस्पताल भर्ना र मृत्यु हुने दर महामारीका अरु बेलाभन्दा उल्लेख्य रूपमा कम रह्यो।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडिसी)ले मार्च महिनामा प्रकाशन गरेको एक अध्ययनले यस प्रक्षेपणको तह निर्धारण गरेको थियो।

त्यसले देखाएको विवरणमा तीनवटा खोपको मात्रा लिएका वयस्कमा अस्पताल भर्ना हुनुपर्ने, श्वास फेर्न उपकरणयुक्त सहायता चाहिने वा मृत्यु नै हुने जोखिम खोप नै नलगाएकाको तुलनामा ९४ प्रतिशत कम हुन्छ। सुरक्षात्मक प्रभावको एउटा तेस्रो प्रमाण जोई र किङ्स कलेजले गरेको थप अध्ययनबाट निस्कियो।

उनीहरूले पाएको निष्कर्ष अनुसार स्वासप्रश्वासमा कठिनाई हुने र उच्च ज्वरो आउनुजस्ता केही गम्भीर कोभिडका लक्षण महामारीका सुरुवाती अवस्थामा निकै धेरै देखिएका थिए। त्योबेला कोभिड खोप उपलब्ध भइसकेको थिएन।

सङ्क्रमणका कैयौँ लहर र त्योभन्दा महत्त्वपूर्ण रूपमा जनसङ्ख्याको ठूलो जमातले खोपका मात्राहरू लिएपछि यस्ता लक्षणहरूको क्रम घट्दो छ र सामान्य असहजताहरू जस्तो नाकबाट पानी बग्नु वा हाच्छ्युँ लाग्नुजस्ता लक्षण शीर्ष स्थानमा पर्न थालेका छन्।

नाकबाट पानी बग्नु, टाउको दुख्नु, हाच्छिउँ आउनु, घाँटी दुख्नु र लहरे खोकी लाग्नु। यी दुई वा दुईभन्दा बढी मात्रामा कोरोनाभाइरस विरूद्धका खोप लगाएर पनि कोभिड हुनेमा धेरैजसो देखिने लक्षण हुन्।

खोप नलगाएका मानिसहरूमा सबैभन्दा टाउको दुख्छ, त्यसपछि घाँटी दुख्छ, त्यसपछि नाकबाट पानी बग्छ, अनि ज्वरो आउँछ र अन्त्यमा खोकी लाग्छ। यी तथ्यहरू यूकेमा दुई वर्षभन्दा धेरै समयदेखि घटनाहरूको निगरानी गरेपछि थाहा भएको हो।

प्रविधि कम्पनी जोईले विकास गरेको एउटा एपको सहायताले त्यस्तो अध्ययन गरिएको थियो। उक्त तथ्याङ्कलाई किङ्स कलेज लन्डनका अनुसन्धानकर्ताहरूसँग मिलेर विश्लेषण गरिएको थियो जसलाई ब्रिटिश जनस्वास्थ्य सेवा एनएचएसले सघाएको थियो।

सतचालीस लाखभन्दा धेरै उक्त डिजिटल प्लेटफर्ममा सूचीकृत भएका प्रयोगकर्ताहरूले कोभिड पोजिटीभ देखिएपछि आफूमा विकास भएका लक्षणबारे उल्लेख गरेका थिए।

जसका भरमा विज्ञहरूले धेरै साझा लक्षणहरूबारे वर्गीकरण गरेका छन् जुन महामारीभरि उल्लेख्य रूपमा परिवर्तन भएको छ। ब्रिटिश सरकारबाट आर्थिक सहायता पाएको उक्त काम कोभिडका केही कम अपेक्षित प्रभावलाई बुझ्न लाभदायी भए।

कम्तीमा दुई मात्रा खोप लगाएका मानिसहरूमध्ये धेरैमा देखिएका कोभिड लक्षण

नाकबाट पानी बग्नु
टाउको दुख्नु
घाँटी दुख्नु
लहरे खोकी

कुनै मात्रा नलगाएकामा देखिने मुख्य लक्षणहरू

टाउको दुख्नु
घाँटी दुख्नु
नाकबाट पानी बग्नु
ज्वरो
लहरे खोकी

मुख्य फरक भनेको खोप नलगाएकामा ज्वरो देखिन्छ, जुन निकै गम्भीर समस्या देखाउने सङ्केत हो। खोप लगाएका सङ्क्रमितहरूले दुई वा बढी मात्रा खोप नलगाउनेको तुलनामा धेरै टाउको दुख्ने र घाँटी दुख्ने बताएका छन्। कोभिडका लक्षणमा केही फरकपन देखिन सक्छ भन्ने कुरा समेत ख्याल गर्नु जरुरी छ।

कोभिडको लक्षण भए के गर्ने ?

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अधिकारीहरूका अनुसार यदि कोभिडका एक वा बढी मुख्य लक्षणहरू देखिएमा सुरुमा गर्नुपर्ने काम भनेको घरमै बस्ने र अरुसँगको घुलमिल घटाउने हो।

कोभिडले सिर्जना गर्ने जटिलताबाट जोखिममा हुने व्यक्तिहरूको संसर्गमा रहने अवस्थामा त्यो झनै महत्त्वपूर्ण हुन्छ। खासगरी ज्येष्ठ मानिसहरू वा प्रतिरक्षा प्रणाली कमजोर हुने अवस्थामा रहेका व्यक्तिमा सङ्क्रमण सर्न नदिने काम झनै महत्त्वपूर्ण छ।

अर्को महत्त्वपूर्ण कदम भनेको कोभिड भए नभएको टुङ्गो लगाउन परीक्षण गर्नु हो। जसका लागि धेरै देशमा सबैभन्दा प्रभावकारी मानिने पीसीआर परीक्षणबाहेक औषधि पसल वा अन्यत्रबाट किन्न पाइने एन्टीजन परीक्षणको सहायता लिन सकिन्छ।

यदि नतिजा पोजिटीभ देखिएमा पाँचदेखि सात दिनसम्म एकान्तबास बस्नु आवश्यक हुन्छ। यदि त्यसपछि सहजता महसुस हुन थालेमा नियमित दिनचर्या सुरु गर्न सकिन्छ।

तर यदि अवस्था झन् बिग्रँदै गएमा वा स्वास फेर्न गाह्रो हुनेजस्ता थप गम्भीर अवस्था देखा परेमा तत्कालै थप स्वास्थ्य सहायता लिनु आवश्यक हुन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button