No Image Headlineस्वास्थ्य/जिवनशैली

मङ्कीपक्स ७५ देशमा फैलियो, डब्ल्यूएचओले घोषणा गर्‍यो आपतकाल

विश्वभरि ७५ देशमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ।

विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको हो। यस भाइरसबारे डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको हो।

डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६,००० भन्दा धेरै सङ्क्रमितहरू पुष्टि भएको जनाएका छन्। उनले मङ्कीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको बताएका छन्।

मङ्कीपक्सबाहेक हाल कोरोनाभाइरस र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन्। डा टेड्रोसका अनुसार आपत्कालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन।

तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै उनले त्यो निश्चय नै अन्तर्राष्ट्रिय सरोकार बनेको कुरा निर्णय गरेको बताए। उनले सङ्क्रमणको नयाँ माध्यमबारे निकै कम कुराहरू स्पष्ट भएको बताए।

मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ। तर सङ्क्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन्। केही वैज्ञानिकहरूले यो भाइरसको नाम एचएमपीएक्सभी राख्न सुझाव दिएका छन्।

तर यसबारे डब्ल्यूएचओको प्रतिक्रिया जान्न केही समय प्रतीक्षा गर्नुपर्छ। मङ्कीपक्स सङ्क्रमणका लक्षणहरू मध्यम खालका हुन्छन् र सर्वसाधारण मानिसलाई यो रोग सर्ने सम्भावना न्यून हुन्छ।

यूके सरकारले यो रोग थप फैलिन नदिने उद्देश्यले आवश्यक परे प्रयोग गर्नका लागि बिफरविरुद्धको खोप किनेर राखेको छ। केही महिनादेखि यो भाइरस विश्वभरि असामान्य रूपमा फैलिरहेको छ।

पहिलाका प्रकोपहरू अफ्रिकाका केही भागमा सीमित थिए। ती स्थानमा बाँदरमा नभई मुसा र लोखर्केजस्ता जीवमा यो भाइरस पहिला सर्ने गरेको विश्वास गरिन्छ।

मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ। सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ।

यसलाई यौन रोग नमानिए पनि यौन संसर्गबाट पनि यो भाइरस सर्न सक्छ। लक्षण नहराउन्जेल यो सङ्क्रमण भएका मानिसले सहवास गर्नु हुँदैन।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button