No Image Headlineमुख्य खबरस्वास्थ्य/जिवनशैली

नेपालमा हैजाको जोखिम कति ? लक्षण र उपचारका उपाय कस्ता छन् ?

काठमाडौं दुई जना बिरामीको एन्टिजन परीक्षण गर्दा हैजा देखिएको अधिकारीले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विज्ञ डा शेरबहादुर पुनका अनुसार उनीहरूमा हैजाको लक्षण देखिएपछि परीक्षण गरिएको थियो।

डा पुनका अनुसार हाल दुवै बिरामीहरूको दिसाको कल्चर गरेर हैजाको जीवाणु छ या छैन पुष्टि गर्न लागिएको छ। एन्टिजनमा हैजा देखिएकाले हामीले सोही अनुरूप उपचार अघि बढाएका छौँ तर दिसाको कल्चर गरेपछि आउने नतिजालाई आधिकारिक र स्तरीय मानिन्छ, उनले भने।

डा पुनले हाल झाडापखालाका बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा बिरामीलाई विभिन्न किसिमको सङ्क्रमण हुने भए पनि हैजाले सबैभन्दा छिटो र बढी असर गर्ने बताए।

हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ। सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन्।

सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने डा पुनको भनाइ छ। उनका अनुसार उक्त जीवाणुको सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन्।

हैजाका लक्षणहरू

हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ। उनीहरूको दिसा अधिक पातलो हुने बताइन्छ। चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ। त्यसो हुँदा बिरामीको शरीरलाई आवश्यक तत्त्वहरू पनि बग्छन्, डा पुन भन्छन्।

त्यस्तै पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिनेजस्ता समस्याहरू अधिकांश बिरामीमा देखिने उनले बताए। अधिक तरल पदार्थ खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा समेत लाग्ने उनले बताए। त्यस्तै बिरामीहरूमा अधिक थकान र बेचैनी हुने उनको भनाइ छ।

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ।

ती व्यक्तिले सरसफाइमा ध्यान दिएनन् भने उनीहरूमार्फत हैजा अन्य मानिसहरूमा पनि फैलिन्छ, डा पुनले भने। अधिक कमजोरीका कारण केही मानिसहरू बेहोस नै हुनसक्ने उनले बताए।

हैजाको कारण सङ्क्रमितलाई पीडा नहुने भए पनि यसको सङ्क्रमण जोखिमपूर्ण भएको डा पुनको भनाइ छ। उनका अनुसार अन्तर्राष्ट्रिय रूपमै हैजाका १० जना बिरामीमध्ये एक जनालाई कडा किसिमको सङ्क्रमण हुने तथ्याङ्क छ।

डा पुन भन्छन्, कडा किसिमको रोग लागेका व्यक्तिले समयमै उपचार नपाएको अवस्थामा मृत्युको जोखिम उच्च हुन्छ। उपचार अभावमा मानिसको मृत्यु हुने सम्भावना ५० प्रतिशतसम्म रहने बताइन्छ।

वर्षा याम लागेपछि नेपालका विभिन्न क्षेत्रमा हैजाका बिरामीहरू बर्सेनि देखिने गर्छन्। तीमध्ये केहीको मृत्युसमेत हुने विवरणहरू सार्वजनिक भएका छन्। उनीहरूको मृत्युको प्रमुख कारण देशको भौगोलिक विकटता र विकट क्षेत्रका मानिसहरूले भोग्नु पर्ने उपचार अभाव भएको डा पुन बताउँछन्।

गत वर्ष कपिलवस्तुमा हैजाको कारण सयौँ मानिस प्रभावित भए र केहीको मृत्यु भयो। मृत्यु हुनेमा प्राय समयमा उपचार नपाउनेहरू थिए, उनले भने। बिरामीले झाडापखालालाई सामान्य ठानेर घरमै उपचार विधि नअपनाउँदा समस्या जटिल बन्न सक्ने उनले बताए।

पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ। व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सार्ने उनको बुझाइ छ।

उपचारका उपाय
हैजा भइसकेको अवस्थामा पुनर्जलीय झोल अर्थात् जीवनजललाई प्राथमिक उपचार उपाय मानिन्छ। त्यसबाहेक जटिल अवस्थामा रहेका बिरामीलाई नसामार्फत सलाइन दिइने डा पुनले बताए।

कुनै अवस्थामा बिरामीको शरीरमा रोगको अवधि कम गर्नका निम्ति एन्टिबायोटिक प्रयोग गरिने उनको भनाइ छ। त्यसबाहेक स्वच्छ पानी पिउनु र सरसफाइमा ध्यान दिनु नै विकल्प हो।
हैजाको जीवाणु फैलिनुअघि नै यसविरुद्ध खोप लगाउनु उपयुक्त उपाय हुने डा पुन बताउँछन्। उनले विशेषगरी विकट क्षेत्रका मानिसहरूसम्म त्यस्ता खोप पुर्‍याउनु अत्यावश्यक देखेका छन्।

जहाँ स्वास्थ्य सेवा प्रभावकारी छैन, त्यहाँ रोग लाग्नै नदिनु उचित हुन्छ, उनले भने। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दास नेपालमा हैजाविरुद्ध खोपको उपलब्धता सहज नभएको स्वीकार्छन्।

उनका अनुसार अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त खोप हाल कपिलवस्तुका मानिसहरूलाई उपलब्ध गराइएको छ। हैजाको खोप खरिद र भण्डारण अरू खोपको जस्तो सहज छैन। त्यसैले यो राष्ट्रिय खोप कार्यक्रम भित्र समावेश गरिएको छैन। त्यसको जोखिम कम गर्न हामी काम गरिरहेका छौँ, डा दासले भने।

अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाखदेखि ४० लाख मानिसलाई हैजा हुन्छ र २१,००० देखि १,४३,००० मानिसको मृत्यु हुने आकलन गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button