के हो हैजा, यसबाट कसरी जोगिने ?

नेपालमा बर्सेनि गर्मी र वर्षाका बेला हैजाको बिरामी फेला परेको समाचार सुनिन्छ। यो वर्ष पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गत साता संघीय राजधानी काठमाडौंका एक व्यक्तिलाई हैजाको सङ्क्रमण भएको पुष्टि गरेको छ।
हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ। गर्मी बढेसँगै राजधानीमा पानीको अभाव देखिने गरेको छ।
हैजाको बिरामी फेला परेपछि यो रोगको प्रकोप फैलिन्छ कि भन्ने त्रास देखिएको भए पनि चिकित्सकहरूले भने अहिलै नै महामारीको अवस्था नरहेको बताएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालका अनुसार हैजा भएका ती व्यक्ति उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन्। हैजा महामारीका रूपमा फैलिन सक्ने भएकाले अन्य झाडापखालाको समस्या हुँदाभन्दा यसमा बढी सावधानी अपनाउनु पर्ने बताइन्छ।
के हो हैजा ?
हैजा गम्भीर खालको झाडापखाला हो। समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ
भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाख देखि ४० लाख मानिसलाई हैजा भएको हुन सक्छ । हैजाका कारण बर्सेनि २१,००० देखि १,४३,००० मानिसको संसारभरि मृत्यु हुने आकलन गरिएको छ । हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ ।
गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ । अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन् ।
विश्वमा हैजाबाट हुने मृत्यु ९० प्रतिशतले घटाउने उद्देश्य राखेर सन् २०१७ मा एउटा रणनीति ल्याइएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
के हुन् लक्षण ?
अन्य झाडापखालाझैँ हैजा हुँदा पनि पातलो दिसा र बान्ता हुन्छ। तर हैजा लागेको व्यक्तिले तारन्तार पातलो चौलानी पानीजस्तो दिसा गर्ने र वमन गर्ने चिकित्सकहरूको भनाइ छ।
जसका कारण छिट्टै शरीरमा जलवियोजन हुने खतरा हुन्छ त्यसैले शरीरमा पानीको मात्रा कम हुन दिनुहुँदैन र दिसा नरोकिए तुरुन्त अस्पताल जानु बेस हुन्छ, डा लालले बताए।
जलवियोजनका कारण मांसपेसी बाउँडिने पनि उनी बताउँछन्। सामान्य झाडापखाला लागेको र एकदुई पटक दिसा भएको हो भने त्यो व्यक्तिले घरमै जीवनजल खाएर स्वास्थ्य अवस्था कस्तो हुन्छ त्यो विचार गर्नुपर्ने हुन्छ।
तर तारन्तर चौलानी पानीजस्तो पातलो दिसा भयो भने नजिकैको स्वास्थ्य चौकी जाने सुझाव चिकित्सकहरूको छ। यसको उपचारका लागि शरीरबाट घटेको पानी तथा लवणतत्त्व सेलाइनमार्फत् दिइन्छ र एन्टिबायोटिकको पनि प्रयोग हुन्छ।
कसरी हुन्छ सङ्क्रमण ?
हैजाको जीवाणुले सानो आन्द्रामा आक्रमण गर्छ। गर्मी र वर्षाको समयमा पानीको स्रोतमा हैजाको जीवाणु मिसिन पुग्यो भने दूषित पानी पिउने मानिसमा यो रोगको सङ्क्रमण हुन सक्छ।
दूषित पानी प्रयोग भएको खाद्य पदार्थबाट पनि यो सर्न सक्छ। त्यसैले पानी उमालेर तथा खाद्य पदार्थ राम्ररी पकाएर खान चिकित्सकहरू सल्लाह दिन्छन्।
हैजा लागेको व्यक्तिको दिसा पानीमा पुग्यो ब्याक्टेरियाले पानी दूषित हुन्छ र त्यो पानी पिउने मानिसमा सर्छ। त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ, डाक्टर लालले भने।
कसरी गर्न सकिन्छ रोकथाम ?
हैजा र अन्य पानीजन्य सरुवा रोग रोकथाम गर्न खानेपानीको स्रोत सफा राख्न आवश्यक छ। खानेपानीका साथै ढल व्यवस्थापन गर्न पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।
सबै व्यक्तिले एउटै स्रोतको पानी प्रयोग गर्ने तथा ढल र शौचालयको व्यवस्थित उपाय नभएको ठाउँमा हैजाले महामारीको रूप लिन सक्ने सम्भावना बढी हुने बताइन्छ। यसका साथै व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनु आवश्यक भएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
खाना खानुअघि, खाएपछि, फोहर चलाएपछि र शौचालय गएपछि साबुनपानीले हात धुने बानी बसाल्दा यो रोगको नियन्त्रण गर्न सकिन्छ।
कसरी पत्ता लगाइन्छ ?
इपिडिमियोलोजी तथ रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष काठमाण्डूमा तीन जना व्यक्तिमा हैजा देखिएको थियो। त्यसका लागि प्रयोगशालमा परीक्षण गरिएको थियो।
देशका कतिपय स्थानमा झाडापखालाको कारण पत्ता लगाउन राम्रा प्रयोगशाला नभएको भएकाले हैजा हो कि हैन त्यो पत्ता लगाउन गाह्रो भएको देखिन्छ। हैजाका देखिएका ठाउँमा त्यो जीवाणु भएको स्रोत पत्ता लगाएर त्यसको व्यवस्थापन गर्नु सबैभन्दा उचित उपाय मानिन्छ।



