No Image Headlineअर्थमुख्य खबर

अब खानेतेलको भारत निकासी बन्द हुँदै, स्वदेशी उद्योग संकटको संघारमा

Thrill Factory
Rungta Group

स्वदेशी तेल उत्पादकले अब भारततर्फ प्रशोधित खानेतेल निकासी गर्न नसक्ने भएका छन् । अन्तरराष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको भाउ निरन्तर उकालो लाग्दा भारत निकासी गरिरहेका थिए । अब मूल्य घट्न थालेपछि भारतीय बजारमा प्रतिस्पर्धा गर्न नसकिने उत्पादकले बताएका छन् ।

स्वदेशी तेल उत्पादक अब निर्यात गर्न नसक्ने अवस्थामा पुगेका छन् । निर्यात व्यापारमा मुख्य योगदान दिँदै आएको प्रशोधित तेल निर्यात नभएपछि नेपालको निर्यात व्यापार घट्ने देखिएको छ ।

भारतमा तेल निकासी गर्न भारत र नेपालको आयातमा भन्सार शुल्कमा ठूलो अन्तर हुनुपर्ने अन्नपूर्ण भेजिटेबलका सञ्चालक प्रभुदयाल अग्रवाल बताउँछन् । पहिला भारतले तेल आयातमा ४० प्रतिशत सीमा शुल्क लिन्थ्यो । अहिले घटाएर ५ प्रतिशतमा झारेको छ ।

नेपालमा भने १० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्यअभिवृद्धि कर रहेकोमा निकासी गरेपछि यो रकम फिर्ता हुन्छ । भारतमा उच्च दरको भन्सारको अन्तर र शून्य भन्सारमा निकासी गर्न पाएपछि नेपाली तेलले भारतीय बजारमा प्रतिस्पर्धा गर्न सकिरहेको थियो । भारतले सीमा शुल्क घटाएपछि समस्यामा पर्ने अवस्था देखिएकोमा केही समय अन्तरराष्ट्रिय बजारमा तेलको कच्चा पादर्थको भाउ निरन्तर बढ्दा स्वदेशी उद्योगले भारत निकासी गर्न सकिरहेका थिए ।

तेस्रो मुलुकबाट कच्चा पदार्थ भित्र्याउन ३ महीनासम्म समय लाग्ने गरेकोमा यसबीचमा कच्चा पदार्थको मूल्य बढ्दा स्वदेशी उत्पादकले भारत निकासी गर्न सकिरहेकोमा अब त्यो मूल्यको सहुलियत समाप्त भएको वीरगञ्जको नारायणी आयलका सञ्चालक निखिल चाचान बताउँछन् । अर्धप्रशोधित तेलको भाउ घट्न थालेकाले अब भारततर्फको निकासी असम्भव बनिसकेको चाचानले बताए ।

अन्तरराष्ट्रिय बजारबाट नेपालमा कच्चा पदार्थ भित्र्याउन लाग्ने समय र यसबीचमा पुनः मूल्य बढ्ने भएपछि यसबाट बजार मूल्यमा हुने अन्तर उपयोग गरेर स्वदेशी उद्योगले निर्यात गरिरहेका थिए । अहिले रूस र युक्रेन आपसी तनावमा अल्झिएको र मुख्य पाम उत्पादक इन्डोनेशियाले करीब १ महीनादेखि निर्यात रोकेपछि स्वदेशी उद्योगको कच्चा पदार्थको मौज्दात रित्तिएको उद्यमीहरूले बताए ।

इन्डोनेशियाले सोमवारदेखि निर्यात खुलाउने निर्णय लिएको छ । यसबाट कच्चा पदार्थको आयात केही सहज भए पनि भारत निकासी गर्न नसकिने ओसीबी फूडका सञ्चालक सुरेश रुंगटा बताउँछन् ।

‘भारतमा सबै खालको खानेतेलको आयातमा साढे ५ प्रतिशत सीमा शुल्क र ७ प्रतिशत वस्तु तथा सेवा कर लाग्छ । हामीकहाँ सरकारले १० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धिकर लिन्छ,’ रुंगटाले भने, ‘भारतको कोलकातादेखि वीरगञ्जसम्म ढुवानी खर्च नै प्रतिकिलो ८ रुपैयाँ पर्छ । यस्तोमा अब तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर भारततर्फ प्रशोधित तेल निकासी गर्न सम्भव छैन ।’

तेलको भारत निकासी अब भारतको आयात नीतिमा भरपर्ने उद्योगी अग्रवालले बताए । भारतले आयातमा सीमा शुल्क बढाएमात्रै यताबाट निकासी सम्भव छ । अन्यथा उत्पादन घटाउनुको विकल्प छैन, उनले भने, यसो हुँदा पनि स्वदेशी बजारमै व्यापक प्रतिस्पर्धा हुन्छ ।

अब मूल्य अन्तरको लाभ लिएर भइरहेको निकासी सम्भव नदेखिएको उद्योगी चाचानले बताए । अहिले पुरानो मौज्दातबाट नाममात्रको निकासी भइरहेको उनले आर्थिक अभियानलाई बताए । यसअघि स्वदेशी उत्पादकले इन्डोनेशिया, मलेशिया, युक्रेन, रूस, अस्ट्रेलियालगायत देशबाट अर्धप्रशोधित तेल ल्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए ।

कोरोना महामारी र रूस–युक्रेन तनावले मूल्य बढेर प्रतिमेट्रिक टन १ हजार ७५० अमेरिकी डलरसम्म पुगेको पामको अर्धप्रशोधित तेलको मूल्य अहिले १ हजार ६४० मा झरिसकेको चाचानले बताए । ‘गोदाम र बाटोमा रहेको कच्चा पदार्थको मूल्य घट्न थालेकाले अब निकासीमा मात्र होइन, स्थानीय बजारमा समेत समस्या हुने देखिएको छ,’ एक उद्योगीले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button