No Image Headlineविशेषस्वास्थ्य/जिवनशैली

फैलिँदै मंकीपक्स, नेपालमा यसको जोखिम र रोकथामको तयारी कस्तो छ ?

कम्तीमा १२ वटा देशमा ८० जनाभन्दा बढीमा मङ्कीपक्स सरेको पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले थप ५० जनालाई बिफरजस्तो उक्त भाइरल सङ्क्रमण सरेको आशङ्कामा अनुसन्धान भइररहेको जनाको छ।

Patanjali Nepal
SweetMart Nepal

तर उसले कुनै देशको पनि नाम उल्लेख गरेको छैन। डब्ल्यूएचओले अझ बढी मानिसमा मङ्कीपक्स सर्न सक्ने भन्दै चेतावनी दिएको छ।

मङ्कीपक्स युरोपका नौ देश, संयुक्त राज्य अमेरिका, क्यानडा र अस्ट्रेलियामा पनि पुष्टि भइसकेको छ। मङ्कीपक्स मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम भेगहरूमा सामान्य मानिन्छ।

यूकेको न्याश्नल हेल्थ सर्भिसका अनुसार यो एक प्रकारको भाइरसले गराउने दुर्लभ सङ्क्रमण हो। सङ्क्रमण हुँदा मध्यम खालका लक्षणहरू देखा पर्छन् अनि बिरामीहरू केही साताभित्रै निको हुन्छन्।

यो भाइरस एक व्यक्तिबाट अर्कोमा त्यति सजिलै सर्दैन। जनसाधारणमा व्यापक रूपमा फैलिने जोखिम एकदमै कम भएको बताइन्छ।

यो रोगविरुद्ध छुट्टै खोप उपलब्ध छैन। यद्यपि बिफरविरुद्ध निर्मित खोपले ८५ प्रतिशत सुरक्षा दिन्छ। बिफर र मङ्कीपक्स भाइरसमा निकै समानता छ।

अहिलेसम्म युरोपका यूके, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली र स्वीडनका जनस्वास्थ्य निकायहरूले आफ्नो देशमा मङ्कीपक्सका बिरामी फेला परेको पुष्टि गरेका छन्।

रोगको निगरानी गर्न अनि को प्रभावित हुन सक्छन् र कस्तो सहयोग गर्न सकिन्छ भन्ने पत्ता लगाउन प्रभावित देशहरू र अरूसँग मिलेर आफूले काम गरिरहेको डब्ल्युएचओले जनाएको छ।

रोगका कारण कुनै समुदायविरुद्ध लाञ्छना नलगाउन पनि उसले चेतावनी दिएको छ। रोगको प्रकोप ‍अन्त्य गर्न यो एउटा अवरोध बन्न सक्छ किनभने यसले मानिसहरूलाई उपचार खोज्न रोकिदिन सक्छ अनि त्यसबाट रोग थाहै नपाई फैलिन सक्छ, डब्ल्यूएचओले बताएको छ।

डब्ल्यूएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले ग्रीष्म याम सुरु हुँदा जमघट, पर्व र भोज गरिँदा यो रोग फैलिने गति बढ्न सक्ने चेतावनी दिएका छन्। उनका अनुसार अहिलेका सङ्क्रमण पुष्टि भएका बिरामीमध्ये एक जनाबाहेक अरू सबैले मङ्कीपक्स भेटिने ठाउँको यात्रा गरेका थिए।

यूकेमा यो रोगको पहिलो सङ्क्रमणको विवरण मे ७ मा आएको थियो। ती बिरामी नाइजिरिया गएका थिए र इङ्ग्ल्याण्ड फर्किनुअघि नै उनलाई सङ्क्रमण भइसकेको ठानिएको यूकेको स्वास्थ्य सुरक्षा एजेन्सीले जनाएको छ।

मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन। तर सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ। अहिले यूकेमा २० जना पुष्टि भएका सङ्क्रमितहरू भएको स्वास्थ्यमन्त्री साजिद जाभिदले शुक्रवार बताएका थिए।
यूकेका अधिकारीहरूले आफूहरूले बिफरको खोप किनेर भण्डारण गरेको र मङ्कीपक्सको जोखिममा पर्न सक्ने मानिसहरूलाई वितरण गरिने बताएका छन्।

स्पेनका अधिकारीहरूले पनि महामारीसँग लड्न बिफरका हजारौँ खोपहरू खरिद गरेको त्यहाँको एउटा अखबारले जनाएको छ। अस्ट्रेलियामा फेला परेका प्रथम सङ्क्रमित यूकेको भ्रमण गरेर फर्किएका एक व्यक्ति भएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ।

उत्तर अमेरिकामा अमेरिकी राज्य म्यासचूसिट्सका स्वास्थ्य अधिकारीहरूले क्यानडाको भ्रमणपछि एक जना व्यक्तिमा उक्त रोग देखिएको बताएका छन्।

अहिलेसम्म नेपालमा यो सङ्क्रमण कसैमा सरेको शङ्का नभएको अधिकारीहरू बताउँछन्। परीक्षण नै नभएकाले पुष्टि पनि भएको छैन।

यद्यपि अहिले मङ्कीपक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको जनस्वास्थ्यविद्हरूको धारणा छ।

मङ्कीपक्स हुँदा जीउमा डाबर आउँछ । नेपालमा मङ्कीपक्सबारे चासो देखिए पनि भौतिक रूपमै सतर्कता अपनाउनेबारे अहिलेसम्म कुनै कदम नचालिएको एक अधिकारीले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले नेपालले विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका पर्खिरहेको बताए।

सरुवा रोगबारे सतर्कता अपनाउनुपर्ने भएमा विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका जारी गर्ने गर्छ। अहिलेसम्म अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिका जारी भइसकेको छैन, लालले भने।

लालका अनुसार अहिलेसम्म दक्षिण अफ्रिकी देशहरूमा मात्र देखिएको यो सङ्क्रमणबारे नेपालका निकायहरूले पनि निगरानी गरिरहेका छन्। अहिलेसम्म मानवबाट अर्को मानवमा सङ्क्रमण सर्ने पुष्टि भइसकेको छैन। तर कपडाहरूबाट सर्छ भनिएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिकाको निगरानी सूचीमा पर्‍यो भने हाम्रोमा पनि सतर्कताका कदमहरू चालिन्छ, उनले भने। बीबीसी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button