जुनसुकै यातायात कार्यालयबाट स्मार्ट लाइसेन्सको परीक्षा दिन सकिने, कहिले खुल्छ आवेदन ?

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन पुनः सुरु गर्ने तयारी अघि बढाएको छ।
विभागका अनुसार नयाँ प्रणालीमा आधारित रहेर “एक साताभित्रै” आवेदन खुला गर्नेगरी तयारी अघि बढाइएको हो।


नयाँ प्रणालीले जुनसुकै स्थानमा रहेका मानिसले देशको जुनसुकै यातायात कार्यालयबाट सेवा प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराउने सरकारी दाबी छ।
प्रविधिमा आधारित नयाँ प्रणाली प्रयोगमा आयसँगै सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने विभागको भनाइ छ।
लामो समयदेखि व्यवस्थित स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको आरोप खेपिरहेको विभागले गत चैत महिनाबाट आवेदन प्रणाली बन्द गरेको थियो।
सरकारले ‘चिप-जडित’ स्मार्ट लाइसेन्स जारी गरेपछि माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नसक्दा पछिल्ला केही वर्षदेखि सवारीचालक अनुमतिपत्र प्राप्त गर्न निकै कठिनाइ भोग्नुपरेको सर्वसाधारणहरूको अनुभव छ।
अधिकारीहरूका अनुसार अब सेवाग्राहीले आवेदनसँग सम्बन्धित लगभग सबैजसो कार्य अनलाइन प्रणालीबाटै गर्न पाउने छन्।
यसले यातायात कार्यालयहरूमा देखिने सेवाग्राहीहरूको भिड कम गर्ने अपेक्षा अधिकारीहरूले गरेका छन्।
आवेदन दिएको “१५ दिनभित्रमा” पालो आउनेगरी व्यवस्था मिलाइएको र अनलाइनबाटै शुल्क तिर्न सकिने व्यवस्था मिलाउन लागिएको छ विभागले जनाएको छ।
नयाँ प्रणाली प्रयोगमा ल्याइएसँगै दर्ता भएका चिकित्सकले परीक्षण गरेर उपलब्ध गराउने स्वास्थ्य सम्बन्धी रिपोर्ट पनि अनलाइन अप्लोड गर्न सकिने बताइएको छ।
“आवेदन दिँदा कुन ठाउँमा कति कोटा उपलब्ध छ भनेर हेर्न पनि पाइने छ,” विभागका महानिर्देशक नमराज घिमिरेले बताए।
”एकान्तकुनामा १५ दिनसम्म पालो पाइने देखिएन भने ठूलोभर्याङमा हेर्न सकियो, काठमाण्डू उपत्यकामा छैन भने हेटौँडा वा पोखरामा यहीँबाट आवेदन दिन पाइन्छ।”