के हो कोरोनाको डेल्टाक्रोन भेरिअन्ट, यो घातक छ ?

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मार्च ९ मा वैज्ञानिकहरूले नयाँ कोभिड १९ भेरिअन्ट पत्ता लगाएको घोषणा गर्यो। डेल्टा र ओमिक्रोन भेरिअन्टको संयुक्त रूप भएकाले यो नयाँ भेरिअन्टलाई डेल्टाक्रोन नाम दिइएको छ।



डब्ल्यूएचओले यो भेरिअन्टलाई एवाई४ बीए १ पनि भन्छ र यसलाई अहिलेसम्म चिन्ताको भेरिअन्टका रूपमा वर्गीकरण गरिएको छैन। जसको अर्थ यो भेरिअन्ट अहिलेसम्म जनस्वास्थ्यका ठूलो प्रभाव पार्ने खालको देखिएको छैन।



डेल्टाक्रोनको सङ्क्रमण युरोप, अमेरिका र दक्षिण अमेरिकामा भेटिएको छ। तर वैज्ञानिकहरू यो भेरिअन्ट कत्तिको सङ्क्रामक छ वा यसमाथि खोपले कति काम गर्छ वा यसले गम्भीर खालका लक्षण ल्याउँछ कि ल्याउँदैन भन्ने कुरामा स्पष्ट भइसकेका छैनन्।



डेल्टाक्रोनको पहिलो सङ्क्रमण सन् २०२२ को जनवरीमा फ्रान्समा भेटिएको थियो।
त्यसयता यो बेल्जियम, जर्मनी, डेन्मार्क र नेदरल्यान्डमा फेला परिसकेको वैज्ञानिकहरूले कोरोनाभाइरसबारेजानकारी आदानप्रदान गर्ने अनलाइन प्ल्याटफर्म जीसेडमा उल्लेख गरिएको छ।
हालैका दिनमा डेल्टाक्रोन यूके, अमेरिका र ब्रजिलमा पनि भेटिएको छ।
यसको सङ्क्रमण अहिलेसम्म निकै कम छ । मार्च १५ सम्म जम्मा ४७ नमुनाका बारेमा जीसेडमा जानकारी छ जसमध्ये ३६ वटा फ्रान्सको नमुना हुन्।
अहिलेसम्म् डेल्टाक्रोनको सङ्क्रमण जति फैलिएको देखिएको छ त्यसलाई हेर्दा यो डेल्टा वा ओमिक्रोनभन्दा धेरै सङ्क्रामक नदेखिएको प्रारम्भिक सङ्केत छ।
यो सङ्केतसँग मिल्दोजुल्दो तथ्याङ्क अमेरिकामा जीन सीक्वन्सिङ गर्ने निजी कम्पनी हेलिक्सको अप्रकाशित अध्ययनमा छ।
हेलिक्सका वैज्ञानिकहरूले सन् २०२१ को नोभेम्बरदेखि सन् २०२२ को फेब्रुअरीसम्म सङ्कलन गरेका कोभिडका २९,००० नमुनामध्ये दुई नमुनामा मात्रै डेल्टाक्रोन सङ्क्रमण देखिएको छ। त्यो समयावधि भनेको अमेरिकामा डेल्टा र ओमिक्रोन ज्यादै फैलिएको समय थियो।
ब्रजिलका भाइरसविज्ञ फिलिप नाभेकाका अनुसार भाइरसका भेरिअन्ट मिसिनु कुनै नयाँ वा अनपेक्षित कुरा होइन।
अन्य भेरिअन्टहरू पनि केही पटक मिसिइसकेको हुनुपर्छ। तर कोरोनाभाइरसका भेरिअन्टहरू एकआपसमा ज्यादै फरक नभएको हुँदा यी मिसिएको कुरा पत्ता लगाउन गाह्रो हुन्छ।
भाइरसहरू निरन्तर परिवर्तित भइरहन्छन् र नयाँ भेरिअन्ट देखिनु भनेको नराम्रै हुन्छ भन्ने होइन। हामीले अब यो नयाँ भेरिअन्टले महामारीमा पार्ने असरका बारेमा अध्ययन गर्नुपर्छ।
पहिलो कुरो त गत केही महिनामा डेल्टा र ओमिक्रोन भेरिअन्टको सङ्क्रमण एकदमै धेरै थियो। यो अवस्थामा कुनै व्यक्तिलाई दुवै भेरिअन्टबाट सङ्क्रमण हुनु नौलो होइन।
त्यस्तो अवस्थामा दुवै भेरिअन्टले एकै पटक मानवकोषमा सङ्क्रमण गर्छन् र परिणामस्वरूप त्यहाँ विकसित भएका भाइरसले दुवै भेरिअन्टको गुण लिएका हुन सक्छन्।
वैज्ञानिकहरूले डेल्टाक्रोनमा ओमिक्रोनको स्पाईक र डेल्टाको कलेवर भएको बताएका छन्। तर वैज्ञानिकहरू दुई महत्त्वपूर्ण भेरिअन्ट मिसिँदा बनेको भेरिअन्टले अझ गम्भीर लक्षण देखाउने वा नदेखाउने एवम् अस्पताल भर्ना हुनुपर्ने अवस्था वा मृत्युको जोखिम बढाउने वा नबढाउने विषयमा स्पष्ट भइसकेका छैनन्।
त्यस्तै खोपले वा पहिला सङ्क्रमण हुँदा विकसित प्रतिरोधी क्षमताले यसलाई रोक्छ या रोक्दैन भन्ने कुरामा पनि वैज्ञानिकहरू स्पष्ट हुन सकेका छैनन्।
अन्तर्राष्ट्रिय जनस्वास्थ्य निकायहरूले नयाँ भेरिअन्टका विषयमा चिन्ता नलिन भनेका छन्। डब्ल्यूएचओ र अमेरिकाको सीडीसीले डेल्टाक्रोनलाई अहिलेसम्म चिन्ताको भेरिअन्ट भनी वर्गीकरण गरेका छैनन्।
डब्ल्यूएचओले यसलाई हाल निगरानीमा रहेको भेरिअन्टमा राखेको छ। कोरोनाभाइरसको कुनै पनि भेरिअन्टको सङ्क्रमणको जोखिम कम गर्न खोपको पूर्ण मात्रा लिनु र अन्य स्वास्थ्य सावधानीका उपायहरू अपनाउनु अत्यावश्यक छ।