No Image Headlineस्वास्थ्य/जिवनशैली

धेरै नुन खाँदा स्वास्थ्यमा गम्भीर समस्या : मापदण्डभन्दा दोब्बर नुन खान्छन् नेपाली

नेपालीहरूमा नुन धेरै खानाले हुने स्वास्थ्यसम्बन्धी समस्या बढ्न थालेको र त्यो चिन्ताको विषय भएको चिकित्सक तथा अनुसन्धानकर्ताहरूले बताएका छन्।

उनीहरूका भनाइमा नेपालमा नसर्ने रोगहरूमा देखिएको वृद्धिका लागि पनि नुनको अधिक प्रयोग एउटा प्रमुख कारण हुनसक्छ।

तर त्यसका लागि अधिक नुन खाँदा र त्यसले कस्ता रोग कति मात्रामा वृद्धि गरेको छ भन्ने छुट्टै विस्तृत अनुसन्धान आवश्यक पर्ने चिकित्सकहरू बताउँछन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेका पछिल्ला अध्ययनले पनि नेपालीले औसतमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले तोकेकोभन्दा बढी मात्रामा नुन खाने गरेको देखाएका छन्।

सन् २०१९ मा गरिएको र त्यसको अर्को वर्ष सार्वजनिक भएको नसर्ने रोगसम्बन्धी एउटा अध्ययन प्रतिवेदनमा नै सबैभन्दा विस्तृतमा नुन खाने गरिएकोबारे उल्लेख भएको थियो ।

६० जिल्लालाई समेटेर सो अध्ययान भएको थियो । उक्त अनुसान्धान अनुसार नेपालीले औसतमा दैनिक ९.१ ग्राम नुन खाने गरेको देखिएको छ।

तर डब्लूएचओले दैनिक ५ ग्रामभन्दा कम नुन खानुपर्ने सिफारिस गरेको छ। नेपालमा औसतमा पुरुषहरूले दैनिक ९.६ ग्राम र महिलाले ८.७ ग्राम नुन खाने गरेको अनुसन्धानले देखाएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार विभिन्न स्थानका व्यक्तिहरूको ठाउँको ठाउँ पिसाब परीक्षण गरेर उक्त विवरण निकालिएको हो।

ूडब्लूएचओले भनेको भन्दा नेपालीले औसतमा झन्डै दोबर नुन खाने गरेको देखिन्छ।

अत्यधिक मात्रामा नुन खाँदा गम्भीर स्वास्थ्य समस्याहरू देखा पर्ने चिकित्सकहरूको भनाइ छ। नुनको मात्रा बढी हुँदा नै नेपालमा अहिले उच्च रक्तचापको समस्या बढ्दो क्रममा रहेको देखिएको छ।

त्यस्तै अन्य मुटुसम्बन्धी समस्या पनि यसले बढाउने स्वास्थ्यकर्मीहरु बताउँछन् । मिर्गौला रोगको मुख्य कारण पनि नुनको अधिक प्रयोग भएको बताउने गरेका छन् ।
अधिक नुन सेवनले मिर्गौलामा नकारात्मक असर पार्ने चिकित्सकहरू बताउँछन्

नुन बढी खाएपछि उच्च रक्तचाप त बढ्छ नै मिर्गौलामा पनि गम्भीर असर पर्छ। मिर्गौला भनेको हाम्रो शरीरको विकास तत्त्व छान्ने अङ्ग हो। तर नुन बढी खाने पानी कम खाने अवस्थाले गम्भीर स्वास्थ्य समस्या निम्त्यउँछ।

नुन बढी भएका कारण हृदयाघात, उच्च रक्तचाप, अनिद्रा, चिट्चिटाहट, जोर्नी सुनिने र दुख्ने लगायतका स्वास्थ्य समस्या देखा पर्छन्। त्यस्तै दीर्घकालमा थाइरोइड लगायतका समस्या पनि देखिने उनको भनाइ छ।

नुन बढी खाँदा हुने तत्काल र दीर्घकालका स्वास्थ्य समस्या कम गर्न नुन खाने मात्रा कम गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

सरकारले नीति बनाएर मुख्यतः जङ्क फुडको नियमन गर्नुपर्छ। यस्ता फुडमा अधिक नुन हुन्छ । त्यो नियमलाई कडा ढङ्गले पालन गराउन अनुगमन गर्नुपर्छ। नुन कम खानेमा स्वयम् व्यक्ति बढी अनुशासित हुनुपर्ने चिकित्सकहरुको सुझाव रहेको पाइन्छ ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button