No Image Headlineअर्थ

वैदेशिक व्यापारमा इन्धन र सवारीसाधनको वर्चस्व, दुई तिहाई राजस्व पेट्रोलियम पदार्थ र गाडीबाटै

Thrill Factory
Rungta Group

आयातनिर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ ।

यो भन्सारबाट भित्रिने मुख्य २० वस्तुको सूचीमा ११ ओटा पेट्रोलियम पदार्थ र सवारीसाधन परेका छन् । त्यसबाहेक भटमासको अर्धप्रशोधित तेल, एचआर सीट, सूर्यमुखीको कच्चा तेल, कच्चा पाम तेल, स्टील स्टीप, पोलिथिन दाना, एमएस बिलेट, पेय पदार्थका कन्सन्ट्रेडलगायत औद्योगिक कच्चा पदार्थ आयात हुन्छन् ।

तयारी कपडा पनि यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्छ । भन्सारले उठाउने राजस्वमा समेत सबैभन्दा बढी योगदान इन्धन र सवारीसाधनकै देखिन्छ ।

भन्सारले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासिक अवधिमा यस्ता उत्पादनको आयातबाट सबैभन्दा बढी राजस्व उठाएको भन्सारको तथ्यांक छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि कात्तिकसम्ममा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट मात्रै करीब दुई तिहाइ राजस्व उठेको छ ।

बितेको ४ महीनामा पेट्रोलियम पदार्थबाट ३३ दशमलव २३ र गाडी आयातबाट २८ दशमलव ८७ प्रतिशत गरी कुल ६२ प्रतिशत राजस्वको योगदान देखिएको भन्सार प्रमुख हरिहर पौडेलले बताए । भन्सारले पहिलो चौमासिकमा ७० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको थियो ।

वीरगञ्ज पेट्रोलियम पदार्थ र गाडी आयात हुने मुख्य नाका हो । यो वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा वीरगञ्ज नाकाबाट इन्धन आयात उल्लेख्य बढेको छ ।

भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेटोलियम पाइपलाइन निर्माण भएकाले इन्धन ढुवानी सहज बनेको छ ।

अघिल्लो आव २०७७/७८ मा शुरूको ४ महीनाको अधिकांश समय बन्दाबन्दी र निषेधाज्ञामा बितेकाले पनि चालू वर्षमा यस्ता वस्तुको आयात उल्लेख्य बढेको देखिएको हो । अघिल्लो वर्ष उत्पादन र बजार बन्द भएकाले पनि आयातनिर्यात प्रभावित भएको थियो ।

चालू आवको पहिलो चौमासमा गतवर्षको समीक्षा अवधिको तुलनामा डिजेल आयात ४१, पेट्रोल ३६, एलपी ग्यास १४ प्रतिशतले बढेको वीरगञ्ज भन्सारको सूचनाप्रविधि शाखाले बताएको छ ।

त्यस्तै हवाई इन्धनको आयात १६२ प्रतिशत बढेको भन्सारको तथ्यांकले देखाउँछ । गतवर्ष आन्तरिक बाह्य हवाई सेवा अवरुद्ध भएकाले यस्तो इन्धनको आयात निकै कम भएको थियो । कोइला आयात ३४ र मोबिल २९ प्रतिशतले वृद्धि भएको छ ।

सवारीका साधनको आयात पनि यो वर्ष उल्लेख्य परिमाणले बढेको देखिन्छ । सबैभन्दा बढी जीप, कार र भ्यानको आयात वृद्धि भएको छ । अघिल्लो वषको ४ महीनामा वीरगञ्ज भन्सार हुँदै १ हजार ९६३ ओटा यस्ता साधन भित्रिएका थिए ।

यो वर्ष यस्तो संख्या ३ हजार ४०६ पुगेको भन्सारले बताएको छ । जीप, कार र भ्यानको आयात वृद्धि प्रतिशत ७४ छ ।

पिकअप गाडी, ट्रक बस, मोटर गाडीका पार्टपुर्जा, विकास निर्माणमा प्रयोग हुने उपकरण तथा साधनको आयात पनि उल्लेख्य मात्रामा बढेको देखिन्छ ।

गतवर्ष कोरोना महामारीका कारण उत्पादनका कमी आएकाले यो वर्ष अपेक्षित रूपमा यस्ता सधान भित्रिन नसकेको प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ । ‘गाडीको आयात अझै बढी हुनुपर्ने हो । कोरोनाका कारण अधिकांश गाडी र त्यसका पार्टपुर्जा उत्पादकले लामो समय उत्पादन बन्द गरेकाले अहिले मागअनुसार आपूर्ति दिन सकेको छैनन्,’ उनले भने, ‘यदि उत्पादकहरूले माग भएजति गाडी दिन सकेको भए सवारीसाधनको आयात झन् बढी हुने थियो ।’ आर्थिक अभियानबाट 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button