मुख्य खबरस्वास्थ्य/जिवनशैली

दक्षिण अफ्रिकामा कोरोना ‘ओमिक्रोन’ को आतंक, नेपालमा कस्तो छ पूर्वतयारी ?

Thrill Factory
Rungta Group

दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा जानकारी पाएपछि विश्व स्वास्थ्य संगठन यसको अनुसन्धानमा लागेको छ। ओमिक्रोन तीव्र रुपमा फैलिरहेको विज्ञहरुले बताइरहेका छन्।

यो भाइरस धेरै संख्यामा पत्ता लागेको आशंका गरिएको छ। यद्यपि यो भेरियन्ट पहिले भन्दा बढी घातक छ या कम घातक छ भन्ने कुरा अनुसन्धानकै विषय बनेको छ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ। यतिबेला अमेरिका, बेलायत, जर्मनी, क्यानडा, युरोपियन मुलुक लगायत छिमेकी देश भारतले पनि उच्च सतर्कता अपनाउन सुरु गरेका छन्।

इजरायलले त एक कदम अगाडि बढ्दै १४ दिनका लागि विदेशीको प्रवेशमा प्रतिबन्ध लगाएको छ। इजरायलको क्याबिनेटले शनिबारको आपतकालिन बैठकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ भेरियन्टबारे सचेत रहन चेतावनी दिएको छ। नयाँ भेरियन्ट चिन्ताको विषय बनेको छ तर वैज्ञानिक दृष्टिकोण राखेर मात्रै यात्रामा प्रतिबन्ध लगाउन संगठनले अनुरोध गरेको छ।

नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपाल भित्रने जोखिम रहेको जनाएको छ। जनस्वास्थ्यका मापदण्ड पालना नभएसम्म नयाँ भेरियन्ट नेपाल भित्रने जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन्।

नयाँ भेरियन्टको जोखिममा नेपाल पनि छ। जनस्वास्थ्यका मापदण्डमा चुक्यौं भने खतरा हुन्छ। नयाँ भेरियन्टको जोखिन रोक्न तयारी थालेका छौं। हुन त दक्षिण अफ्रिकाबाट नेपालमा सिधै उडान छैन तर पनि ट्रान्जिट हुँदै आउने मानिसहरुबाट जोखिम छ, उनले भने ।

प्रभावित देशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने र त्यसको लागि पहिले नै जारी भएको आदेश कार्यान्वयनमा ल्याउन सकिने उनले बताए। कोरोनाको जोखिम नटरिसकेको अवस्थामा संक्रमण रोकथामका लागि पूर्वाधारहरु तयारी अवस्थामा रहेको डा। पौडेलले बताए।

ओमिक्रोन फैलिएपछि कतिपय देशले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई सीमित बनाएका छन्। वैज्ञानिकहरूले यो भेरियन्ट कत्तिको संक्रामक छ भन्ने कुराको अनुसन्धान गरिरहेकाले नयाँ भेरियन्टको संक्रमणदर केही हप्तामा पत्ता लाग्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

नेपालमा नयाँ भेरियन्ट भित्रन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनका अनुसार अहिले लगाइरहेको कोरोनाविरुद्धको खोपले नयाँ भेरियन्टलाई काम गर्छ भन्न सकिँदैन।

‘यो खोपले काम गर्न नसक्ने खालको भेरियन्ट रहेछ भने फेरि हामीले अर्को क्षति बेहोर्नुपर्ने हुन सक्छ। भारतमा नयाँ भेरियन्ट पुष्टि भए नेपालमा खतराको घण्टी बज्न सक्छ। त्यसैले हामीले क्वारेन्टिनलाई व्यवस्थित गर्दै होल्डिङ सेन्टरहरु तयारी अवस्थामा राख्नुपर्छ,’ पुनको सुझाव छ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ। ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा खतरनाक हुन सक्ने भन्दै वैज्ञानिहरुले सचेत रहन आग्रह समेत गरेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ भेरियन्टको जोखिम रोकथामका लागि पूर्वतयारी थालिसकिएको छ। अफ्रिकाबाट आएका मानिसलाई क्वारेन्टिन अनिवार्य राख्ने, परीक्षण गर्ने लगायत विषयमा निर्णय भइसकेको छ।

गत वैशाख ६ मा नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको आदेशलाई पालना गरिने प्रवक्ता पौडेलले बताए।

उक्त आदेशअनुसार प्रवेश बिन्दुका हेल्थ डेस्कमा एन्टिजेन वा पीसीआर परीक्षण गर्दा नतिजा पोजेटिभ आएका सीमित व्यक्तिलाई अस्पताल वा आइसोलेसन केन्द्र वा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा पठाउन स्थानीय तहसँग सहकार्य गर्ने छ ।

संक्रमणको शंका नभएका अन्य व्यक्तिलाई स्वास्थ्य मापदण्ड पालना गराई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गन्तव्यमा पठाई कम्तीमा दश दिन क्वारेन्टिनमा अनिवार्य राख्न लगाउने लगायत उल्लेख छ।

सोही आदेशलाई कार्यान्वयनमा ल्याउने र आजको बैठकबाट थप निर्णयहरु गर्न सकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेल बताउँछन्। बाहिरबाट आउने मानिसको निगरानी तथा परीक्षण गर्ने काम भइरहेको र रेन्डमली जिन सिक्वेन्सिङ गरिने मन्त्रालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button