अन्तराष्ट्रिय

काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपतिको चेतावनी

Thrill Factory
Rungta Group

अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् ।

सैनिक कमान्डरहरूले आइतबारसम्ममा नै अर्को आक्रमण हुनसक्ने जानकारी दिएको उनको भनाइ छ । स्टेट डिपार्टमेन्टले जोखिमलाई मध्यनजर गदै यसअघि नै सो क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेको छ ।

बेलायतले उद्धार कार्य बन्द गरिसक्दा अमेरिकाले भने काबुलबाट उद्धारलाई जारी राखेको छ । बिहीबार विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा १७० जनाले ज्यान गुमाएका थिए ।

इस्लामिक स्टेटको स्थानीय सङ्गठन इस्लामिक स्टेट इन खोरासान प्रान्त (आईएस–के) ले उक्त हमलाको जिम्मेवारी लिएको छ ।

यसको बदलामा अमेरिकाले शुक्रबार पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो । हमलामा आईएस–के दुई जना उच्च सदस्य मारिएको अमेरिकाको दाबी छ । मारिने दुई जनामा एकजना योजनाकार र एकजना सहयोगी भएको बताइएको छ ।

तर, उनीहरू नै काबुलको विमानस्थलमा भएको हमलामा प्रत्यक्ष रुपमा संलग्न थिए भन्ने चाहिँ स्पष्ट पारिएको छैन । ‘यो अन्तिम आक्रमण होइन । हामी उक्त विभत्स आक्रमणमा संलग्नहरूको खोजी कार्यलाई जारी राखेर उनीहरूलाई मूल्य चुकाउन बाध्य पार्ने छौँ,’ बाइडेनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आईएस–के अफगानिस्तानमा रहेका जिहादी सशस्त्र समूहमध्ये सबैभन्दा चरमपन्थी र हिंस्रक मानिन्छ । तालिबानले अमेरिकासँग शान्ति सम्झौता गरेर युद्ध मैदानबाट भागेको उसको आरोप छ । यता, तालिबानले भने अमेरिकाको ड्रोन हमलाको आलोचना गरेको छ । कुनै पनि आक्रमण गर्दा आफूसँग सल्लाह हुनुपर्ने तालिबानको भनाइ रहेको छ ।

काबुल विमानस्थलबाट अमेरिकी सेना पनि फर्किन थालेका छन् । गत हप्ता ५ हजार ८ सय सेना रहेकोमा हाल करिब ४ हजार सेना विमानस्थलमा रहेका छन् । ह्वाइट हाउसले अबका केही दिन थप चुनौतीपूर्ण र खतरनाक हुन बताएका छ । तालिबानले विमानस्थल वरपर चेकजाँचलाई थप बढाएको छ । दुई हप्ता यता १ लाख १० हजारभन्दा बढी अमेरिकी र अफगान नागरिकको अफगानिस्तानबाट उद्धार भइसकेको छ । बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button