कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौँ– आगामी साउन ३१ गतेबाट सञ्चालन हुने कक्षा १२ वार्षिक परीक्षा सञ्चालनका विषयमा पुनर्विचार गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ ।



कोरोना संक्रमितको संख्या बढेसँगै १२ कक्षाको परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई पत्र पठाइएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले बताए ।



उनले भने, ‘परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न भन्दै स्वास्थ्य मन्त्रालयको पत्र प्राप्त भएको र सोही पत्र शिक्षा मन्त्रालयमा पठाइएको हो ।’



सीसीएमसीले परीक्षा सञ्चालनको मोडालीटिलाई पुनर्विचार गर्न पत्र पठाए पनि त्यसको निर्णय भने शिक्षा मन्त्रालयले गर्ने उनले जानकारी दिए ।
यस अघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै कोरोना संक्रमितको संख्या बढ्दै गएकाले आगामी दिनमा हुने परीक्षा स्थगित हुन सक्ने संकेत गरेका थिए ।
कोरोनाको जोखिम बढेसँगै परीक्षा स्थगित गर्न परीक्षार्थीका अभिभावकहरुले पनि आग्रह गर्दै आएका छन् ।