No Image Headlineअर्थ

व्यापार सहजीकरणका लागि सुक्खा बन्दरगाह र आईसीपीमा ध्यान

चोभारको सुक्खा बन्दरगाह तयार     

Thrill Factory
Rungta Group

काठमाडौं – मुलुकको अन्तरराष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ ओटा स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी(आईसीपी) निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ ।

तीमध्ये केही संरचना निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्  । केही निर्माणको अन्तिम चरणमा रहेका छन् । यसै क्रममा वीरगन्ज सुक्खा बन्दरगाह तथा नेपाल र भारत एकीकृत जाँचचौकी सञ्चालनमा आइसकेको छ ।

विराटनगरमा विराटनगर एकीकृत जाँच चौकी पनि सञ्चालनमा आइसकेको छ । भैरहवा र नेपालगन्जको एकीकृत जाँच चौकीको काम जारी छ । ती जाँच चौकीको कामसमेत शीघ्र सम्पन्न गरेर अन्तर्राष्ट्रिय व्यापारमा सहजता थप्ने सरकारको तयारी छ ।

व्यापार व्यवसायमा सहजता थप्ने र भौतिक सुविधा सम्पन्न बनाउने उद्देश्यले देशका प्रमुख सात नाकामा सुक्खा बन्दरगाह निर्माणमा पनि उत्तिकै ध्यान दिइएको छ ।

परम्परागत तवरबाट गरिने व्यवसायलाई अत्याधुनिक बनाउने लक्ष्यका साथ भैरहवा, काँकडभिट्टा, तातोपानी, रसुवा, काठमाडौं र दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । तीमध्ये वीरगन्ज र तातोपानी सुक्खा बन्दरगाह निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । भौतिक निर्माणको अन्तिम चरणमा रहेको सो सुक्खा बन्दरगाह केही समयभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिस गजुरेलले जानकारी दिए ।

रसुवाको रसुवागढीमा निर्माणमा रहेको रसुवा सुक्खा बन्दरगाहको निर्माण कोरोनाका कारण केही सुस्त भए पनि तोकिएको समयमा पूरा गर्ने योजनाका साथ अगाडि बढाइएको छ ।   दोधारा चाँदनी सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भइसकेको छ ।

काँकडभिट्टा सुक्खा बन्दरगाहको कामसमेत अगाडि बढाइएको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए।

यस्तै, दोधारा–चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाहको गुरुयोजना तयार भइसकेको छ । गुरुयोजना तयार भएपछि सुक्खा बन्दरगाहका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सकिएको र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम जारी छ ।

सुक्खा बन्दरगाहका लागि २८० बिघा जग्गा पहिचान भएको छ । त्यसका लागि ६।२ किलोमिटर लामो पहुँच सडक निर्माण भइरहेको छ । बन्दरगाह जोडनका लागि महाकाली नदीमा चार लेन क्षमताको पुल निर्माणको चरणमा छ । नेपाल भारत सीमा नजिकै निर्माण हुने बन्दरगाहमा गाडी तथा रेलका लागि छुट्टाछुट्टै लेन निर्माण हुने कार्यकारी निर्देशक गजुरेलको भनाइ छ ।

आयोजना निर्माणका लागि १२ अर्ब रुपैयाँ बराबरको बजेट खर्च हुने अनुमान छ । पहिलो चरणमा ७ अर्ब रुपैयाँ र दोस्रो चरणमा थप ५ अर्ब रुपैयाँ खर्च हुनेछ । भारतीय रेल सञ्जालसँग पनि सुक्खा बन्दरगाह जोडिनेछ । यसबाट सुदूरपश्चिमसँगै नेपालको समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्नेछ ।

समितिका अनुसार पहिलो चरणमा ४०० ओटा गाडी पार्किङ गर्न सकिन्छ भने दोस्रो चरण निर्माण सम्पन्न भएपछि ३ हजार ओटा गाडी पार्किङ गर्न सकिनेछ ।

चोभारको सुक्खा बन्दरगाह तयार     

राजधानी काठमाडौंको मुटुमा रहेको हिमाल सिमेन्टको कारखाना रहेको चोभारमा निर्माण भएको सुक्खा बन्दरगाह अब सञ्चालनका लागि योग्य भएको छ । “भन्सार जाँच पास नगरीकनै सिधै सुक्खा बन्दरगारमा आएर सबै काम गर्न सकिने गरी संरचना तयार भएको छ ।

बन्दरगाहलाई कसरी सञ्चालन गर्ने भन्ने बारेमा समितिले आवश्यक तयारी समेत गरेको छ । विदेशबाट आयात हुने तथा नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिने लक्ष्यका साथ बन्दरगाह निर्माण गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोकत्वमा समिति गठन गरी सञ्चालन ढाँचा तयार भइरहेको छ । समितिमा भन्सार विभाग र समितिकै प्रतिनिधि सदस्य छन् ।

बन्दरगाह निर्माणका लागि सरकार र विश्व बैंक बीच सन् २०१३ भएको सहमतिअनुसार सन् २०१९ भित्रै काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, कोरोना, निर्माण सामग्रीको उपलब्धतामा भएको केही कठिनाइलगायतका कारणले केही ढिला भएको हो ।

बन्दरगाहमा ५०० ओटा ट्रक र त्यतिनै सङ्ख्यामा कन्टेनर अट्नेछ ।  बन्दरगाहमा भन्सार भवन, क्वारेन्टिन भवन, सुरक्षाकर्मीको भवनलगायत संरचना बनिसकेका छन् ।

यस्तै सामान परीक्षण गर्ने ठाउँ, दुई ओटा ५४ मिटर लम्बाइ र २४ मिटर चौडाइका गोदाम निर्माण सम्पन्न भइसकेको छ । अर्को एक गोदाम निर्माण सकिने तरखरमा छ ।

कुल २२० रोपानी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा विश्व बैंकको १ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी रहेको छ । कुल  २० करोड रुपैयाँको लागतमा बन्दरगाहमा नै समितिको आवासीय भवन निर्माण भइरहेको छ ।

बन्दरगाह तयार भए पनि त्यहाँ पुग्ने बाटो साँघुरो छ । यसको व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती रहेको छ । काठमाडौं तराई–मधेश द्रूतमार्ग निर्माण भई सञ्चालनमा आएपछि मात्रै बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन सक्ने छ ।

द्रुतमार्ग सञ्चालनमा आएपछि वीरगञ्जबाट हिंडेको मालबहाक सवारी तीनदेखि चार घण्टामा चोभार आइपुग्छ । वाग्मतीमा निर्माण हुने पुलले बन्दरगाह र द्रुतमार्गलाई जोड्नेछ ।

यस्तै, रक्सौल काठामाडौं रेलमार्गलाई पनि बन्दरगाहसँग जोड्ने सरकारको योजना छ । चीनबाट आउने भनिएको रेललाईसमेत चोभार लैजाने तयारी छ । पहिलो चरणको निर्माण सम्पन्न भएसँगै दोस्रो चरणको निर्माणका लागि पनि प्रशस्त ठाउँ रहेको छ ।

समितिले वीरगञ्जस्थित सुक्खा बन्दरगाह सञ्चालन गरिरहेको छ । यस्तै, रसुवाको टिमुरेमा २ अर्ब रुपैयाँ लगानीमा सुक्खा बन्दरगाहको काम भइरहेको छ । कोरोनालगायतका कारणले सो आयोजनाको भौतिक प्रगति १३ प्रतिशत मात्रै भएको छ ।

समितिले ओलाङचुङगोला, मुगुको नाक्च्यालग्न र मुस्ताङको कोरलामा पनि भौतिक पूर्वाधार निर्माण गर्ने योजना अगाडि सारेको छ । नेपाल चीनबीचको व्यापार सहजीकरण गर्ने लक्ष्यका साथ कोरलाको काम छिट्टै प्रक्रियामा लैजाने समितिको तयारी रहेको कार्यकारी निर्देशक गजुरेलको भनाइ छ ।

समितिले आफ्नै स्रोत तथा साधन एवं सरकारको बजेटबाट व्यापार सहजीकरणका लागि काम गरिरहेको र आगामी दिनमा अझै विस्तारित हुने कार्यकारी निर्देशक गजुरेलको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button