रवीन्द्र मिश्रको अभिव्यक्ति : कमल थापा खुशी, आफ्नै नेता बेखुशी

काठमाडौं -विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेपछि राप्रपा अध्यक्ष कमल थापाले त्यसलाई सफलता भनेका छन्। तर, उनको अभिव्यक्तिलाई लिएर उनको आफ्नै पार्टीभित्र मतभेद बढेको छ ।
विवेकशील साझाका केही नेताहरुले मिश्रको अभिव्यक्तिलाई व्यक्तिगत भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यता कमल थापाले विगतमा एक्लै उठाएका एजेन्डाको पक्षमा जनमत बढ्दै गएको दाबीसमेत गरेका छन्।


सोमबार मिश्रले व्यक्तिगत प्रस्ताव भन्दै संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको प्रस्ताव सार्वजनिक गरेका थिए। वैकल्पिक शक्ति दाबी गर्नेहरूले संघीयताको विरोध गरेको भन्दै आलोचना भइरहेका बेला राप्रपा अध्यक्ष थापा भने खुसी देखिएका छन्।
‘संघीयताको खारेजी, धर्म निरपेक्षतावारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक छ,’ ट्वीट गर्दै थापाले भनेका छन्, ‘विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ती विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो।’ उनले आफूहरू सही बाटोमा रहेको यसबाट प्रमाणित हुँदै जाने दाबी पनि गरेका छन्।