सरकारको प्राथमिकतामा खोप, प्रधानमन्त्रीले खोप केन्द्रको निरीक्षण गर्ने

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोपमा भएको बताएका छन्। ‘सरकारको पहिलो प्राथमिकता खोप हो। दोस्रो प्राथमिकता पनि खोप र तेस्रो प्राथमिकता खोप नै हो’, प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, ‘अहिलेलाई विकासभन्दा पनि नागरिकको जीवनरक्षा महत्वपूर्ण हो।’
देउवाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको सोमबार स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने भएका छन् ।


मित्रराष्ट्र अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप सोमबार देशका विभिन्न स्थानहरूमा सञ्चालन हुने र त्यस क्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरुको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।