खबर फटाफटदेशस्वास्थ्य/जिवनशैली

वैदेशिक रोजगारीमा जानेलाई खोप दिँदै सरकार

काठमाडौं -सरकारले वैदेशिक रोजगारीमा  जानेलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप उपलब्ध गराउने भएको छ। नेपालीको मुख्य श्रम गन्तव्य मुलुकहरूले  कोभिडविरुद्ध खोप लगाएका श्रमिक मात्र लैजाने सर्त सारेसँगै सरकारले खोप उपलब्ध गराउन लागेको हो।

चीनबाट खरिद गरी ल्याएको खोप  प्राथमिकताका आधारमा उपलब्ध गराउन लागिएको हो। गन्तव्य मुलुकले खोपको सर्त राख्दै श्रमिक लैजान मानेका छैनन्।  खोप समितिमा वैदेशिक रोजगारीमा जानेलाई खोप लगाउन पहिलो प्राथमिकतामा राख्न प्रस्ताव गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप सल्लाहकार समिति विज्ञ डा. श्यामराज उप्रेतीले जानकारी दिए।

ओलम्पिकमा सहभागी हुने खेलाडी तथा विदेशमा उपचार र अध्ययन गर्न जानेलाई लगाउन पहिलो प्राथमिकतामा राख्ने गरी सिफारिस गरिएको उप्रेतीले जानकारी दिए।

वैदेशिक रोजगारमा जानेहरूलाई रोजगारीको अवसर गुम्ने भएकाले पनि खोप लगाउन लागिएको उप्रेतीले बताए। श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने र श्रमको क्षेत्रमा काम गर्नेलाई खोप उपलब्ध गराइदिन माग आएकाले समितिले खोप लगाइदिन सिफारिस गरेको जनाए। विदेश अध्ययन गर्न जानेलाई पनि खोप लगाइने भएको छ। विद्यार्थीको भिसा तथा अन्य कागजपत्र हेरेर खोप दिइने छ।

कुवेतले आगामी अगष्टदेखि खोप लगाएका विदेशी श्रमिकलाई मात्र प्रवेश दिने जनाएको छ। तर, कुवेतले नेपालमा प्रयोग भइरहेको कोभिसिल्ड र भेरोसेल दुवै खोपलाई मान्यता नदिने भएको छ। कुवेतले अस्ट्राजेनिका, जोन्सन एण्ड जोन्सन र फाइजरको खोपलाई मात्रै मान्यता दिएको छ। अन्य कम्पनीबाट उत्पादित खोपलाई कुवेतले मान्यता नदिने भएको हो।

बिदामा नेपाल आएका कतिपय श्रमिकहरू खोप कै कारण वैदेशिक रोजगारी मुलुक जान पाएका छैनन्। धेरै मुलुकले विदेशी श्रमिकमाथि प्रतिबन्ध लगाएका छन्। पछिल्लो समय मलेसिया, युएई, कुवेत, बहराइन र ओमानले कामदार लिएका छैनन्।

साउदी अरब र कतारले भने १४ दिन क्वारेन्टिनमा बस्ने अनुमति दिएर कामदार लगिरहेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button