
काठमाडौं- एमालेको एकताका लागि गठित कार्यदल ब्युँतिएको एक साता पुगेको छ। कार्यदलमा रहेका दुवै पक्षका नेताले आइतबार औपचारिक रूपमै एकताको घोषणा हुने बताएका छन्। नेताहरूले यसअघि शनिबार निष्कर्षमा पुग्ने बताए पनि एकता घोषणा भने हुन सकेन।



पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले आइतबार सबैले सुखद खबर सुन्न पाउने बताए। ‘



वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले सहमतिको अन्तिम बिन्दुमा रहेकाले छिट्टै निष्कर्षमा पुग्ने बताए। ‘विभिन्न विषयवस्तुमा छलफल गर्यौं। अब अन्तिम बिन्दुमा छौं’, नेता रावलले भने, ‘छिट्टै निष्कर्षमा पुर्याउँछौं।’



कार्यदल सदस्य गोकर्ण विष्टले आइतबार अन्तिम निष्कर्षमा पुग्ने बताए। नेता विष्टले भने, ‘आइतबारका दिन एकताको निष्कर्ष सुन्ने दिन हुनेछ।’
नेता नेम्बाङले मिल्न बाँकी भाषागत विषयसमेत मिलिसकेको बताए। तीन वर्षदेखिको विवाद मिलाउन धेरै मिहिनेत गरेको नेता नेम्बाङको भनाइ छ।
एकता दस्तावेजको भाषा मिलाउन कार्यदललाई हम्मेहम्मे भएको छ। सहमतिका भाषा मिलाउन नै कार्यदलले निक्कै कसरत गर्नुपरेको हो। पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन, एमाले–माओवादी केन्द्र एकतापूर्व थपिएका ३८ र एकता भंग भएपछि माओवादी केन्द्रमा नफर्र्किएका २३ जनाको व्यवस्थापनलगायत विषयमा दोस्रो तहका नेताबीचको छलफल नै सहमतिनजिक पुगेको थियो। प्रतिनिधिसभा विघटनपछि नेपाल पक्षका २३ जनाले गरेको हस्ताक्षरको विषयमा मात्रै असहमति थियो।
अध्यक्ष ओलीले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २३ जनाले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका थिए। तर, हस्ताक्षर फिर्ता नलिने अडान नेपाल पक्षको छ। ओली पक्षका कार्यदल सदस्य यस विषयमा लचिलो भएका छन्।
अदालतको विषयमा मौन बस्ने सहमति भएको जनाइएको छ। तर, अदालतको निर्णयअघि नै एकताको घोषणा हुने टुंगो लागेको छ। प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सुनुवाइ सकेर असार २८ गते अर्को पेसी तोकिएको छ।