वर्षातको समयमा लाग्ने रोग र बच्ने उपाय

गर्मीसँगै पानी पर्ने सिजनमा धेरै रोग देखा पर्छन्। विशेषगरी यो मौसममा संक्रमण हुने खालका रोग बढ्ने गरेका छन। भाइरल फ्लु (रुघाखोकी लाग्ने, ज्वरो आउने) देखा परेका छन्।
तापक्रम बढेसँगै विभिन्न सरुवा रोग, दूषित खाना र पानीबाट सर्ने रोग झाडापखाला, हैजा, टाइफाइड जस्ता रोग बढी मात्रामा देखिने गरेका छन्।
मौसम परिवर्तनसँगै इन्फ्लुएन्जा
यो सिजनमा इन्फुलुएन्जा हुनेगर्छ। यो भाइरसले हुने रोग हो। तर, कुनै निश्चित समयमा भाइरल रुघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ। भाइरल संक्रमण आफै निको हुने रोग हुन्।
ज्वरो आउने, धेरै खोकी लाग्ने, स्वाँ स्वाँ हुने भयो भने अस्पताल जानुपर्छ। कहिलेकाहीँ भाइरल इन्फेक्सन भइरहेको अवस्थामा फेरि ब्याक्टेरीयल इन्फेक्सन हुने गर्दछ। यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ।
इन्फुलुएन्जासँगै यो समयमा ब्याक्टेरियल संक्रमण धेरै हुने गरेको छ। ब्याक्टेरियल संक्रमण जीवाणुबाट हुने गर्छ।
दूषित पानीका कारण हैजा
रोग लाग्न नदिन हामीले सरसफाइमा विशेष ध्यान दिनुपर्छ। दूषित पानीका कारण नै हैजा लाग्ने गरेको छ। अहिलेको समयमा पनि हात सफा गरौं, सुरक्षित ठाउँमा दिसा पिसाब गरौँ।
पानी उमालेर खाउँ भन्न परिरहेको छ। काँचो फलफूल, सागपात राम्ररी पखालेर खानुपर्छ। पानी फिल्टर गरेर, उमालेर मात्र पिउने बानी बसाल्नुपर्छ। सुरक्षित ठाउँमा दिसा पिसाब गर्ने बानी बसाल्यो भने पनि हैजाबाट बच्न सकिन्छ।
घरमा के गर्ने ?
झाडापखाला हुँदा हाम्रो शरीरमा भएको पानी र पोटासियम कम हुनेगर्छ र डिहाइड्रेसन हुनेगर्छ। डिहाइड्रेसन हुँदा हाम्रो शरीरबाट गएको पानी फिर्ता ल्याउनु पर्छ। घरमा धेरै मात्रामा जीवनजल पानी बनाएर पिउनाले शरीरमा पानीको कमी हुन पाउदैन। प्रशस्त मात्रामा झोल पदार्थ पिउनुपर्छ। तर, निरन्तर पातलो दिशा लागिरहेको छ, बिरामी सिकिस्त हुँदै गइरहेको छ भने तुरुन्तै स्वास्थ्य चौकी जानुपर्छ।
काठडौंमा हैजा फैलिदो क्रममा
कुनै पनि सरुवा रोगको लागि जनचेतना फैलाउनु आवश्यक छ। हामीले सरसरफाइमा ध्यान दियौँ, खानेकुरा राम्ररी पखालेर र पकाएर खाने गर्यौँ भने हैजा हुन पाउँदैन।
घर बाहिर खाना खाँदा सुरक्षित ठाउँमा मात्र खानुपर्दछ। काठमाडौंमा पानी फोहोर भएकाले उमालेर मात्र खाने गरियो भने हैजा हुन पाउँदैन।
जोखिमको उमेर समूह
सबैभन्दा धेरै संक्रमण हुने भनेको बालवालिकामा हो। बालबालिकालाई छिट्टै डिहाइड्रेसन पनि हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, वृद्धवृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई बढी असर हुनेगर्छ। लामो समयदेखि कुनै रोग भएका व्यक्तिमा पनि संक्रमण छिटो हुन्छ।
खानेकुरामा ध्यान दिनु आवश्यक
हामीले स्वस्थ्य जीवनका लागि खानेकुरामा विशेष ध्यान दिनुपर्छ। फलफूल, सागपात, गेडागुडी, माछामासु, दूध खान अति आवश्यक छ।
यस्ता खाने कुरा राम्रोसँग पकाएर मात्रै खानुपर्छ। बाहिर खुलारुपमा राखेका खानेकुरा खानु हुँदैन। यो गर्मी मौसममा खाना खाँदा सफा खानुपर्छ।
बाहिरबाट ल्याएको फलफूल तरकारी राम्ररी पखालेर मात्र खान सकिन्छ। आफ्नो घरवरीपरी सफा राख्नाले रोगबाट बच्न सकिन्छ।तरकारी तथा फलफूल किन्दा ध्यान दिनुपर्छ। कुनै तरकारी तथा फलफूल सिजन सुरु हुनु भन्दा अगाडि नै बजारमा आएका छन् भने केमिकल मिसाएर पकाइएका हुन सक्छन्। राम्ररी पाकेको फलफूल हेरेर थाहा पाउन सकिन्छ।
बेमौसमी तरकारी र फलफूल सकेसम्म खानु हुँदैन्। त्यसमा धेरै केमिकल राखिएको हुन्छ। केमिकल हालेर पकाएको फलफूल हेर्दा हरियो देखिने हुन्छ। यस्ता खानेकुरा किनिसकेपछि हामीले केही समय पानीमा राखेर राम्ररी पखालेर खान सकिन्छ।
समस्या हुनै नदिन के गर्ने ?
हामीले गर्मीयाम सुरु भएसँगै विभिन्न संक्रामक रोग फैलिने भएकाले विशेष सावधानी अपनाउनुपर्छ। आफ्नो सरसफाइमा विशेष ध्यान दिनुपर्छ।
सकेसम्म घर बाहिरका खानेकुरा नखाने, पानी उमालेर मात्रै पिउने, काँचै खाने फलफूल सकेसम्म नखाने खानै परे राम्रोसँग सफा गरेर मात्रै खाने, योसँगै जनचेतनाका कार्यक्रम फैलाउनुपर्छ। घर वरीपरिको वातावरण स्वच्छ र सफा राख्नुपर्छ। साथै खानपानमा विशेष ध्यान दिन सकियो भने समस्या आउन पाउदैन।



