फेरि बढ्न थाल्यो कोरोना संक्रमण, अर्को लहर आउने सम्भवना छ कि छैन ?

विगत एक साताको तथ्याङ्कले नेपालमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या थपिने क्रम बढेको देखाउँछ। कोभिडबाट निको हुने व्यक्तिको सङ्ख्याभन्दा दैनिक नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या झन्डै दोबरले बढिरहेको पाइएको छ।
नयाँ सङ्क्रमित थपिने क्रमसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या पनि उकालो लागिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। जेठ ३१ गते १२ जना नयाँ सङ्क्रमित थपिएकोमा त्यसको सातौँ दिन २८ जना सङ्क्रमित फेला परेको तथ्याङ्क छ।
सामान्य लक्षण भएका सबै जनाले परीक्षण नगराउने भएकाले सङ्क्रमितको सङ्ख्या अझ बढी हुन सक्ने देखिन्छ। केही दिनयता भारतमा पनि कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेको त्यहाँको केन्द्रीय स्वस्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
सङ्क्रमणको दर हेर्दा अघिल्ला साताको तुलनामा अहिले सङ्क्रमण बढ्न थालेको मन्त्रायलका प्रवक्ता डा समिरकुमार अधिकारी पनि स्वीकार्छन्।
बढ्यो अथवा एकदमै गाह्रो भयो भन्ने अवस्था त आइसकेको छैन। तर सङ्क्रमण एक दिन मात्रै नभई हप्ता दिन नै बढेकोले चनाखो हुनुपर्ने चाहिँ देखिन्छ, उनले भने।
गत एक साताको तथ्याङ्कलाई सङ्क्रमण बढ्न लागेको सङ्केतको रूपमा लिन सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनी बताउँछन्। छिमेकी देशहरूमा पनि बढिरहेको छ। यहाँ पनि सङ्क्रमण दरे माथि जान लागेको सङ्केतको रूपमा लिन सकिन्छ, उनले भने।
कति र कस्ता व्यक्तिको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित फेला पर्ने गरेका हुन् भन्ने कुराले सङ्क्रमणको प्रवृत्तिबारे भन्न सकिने सङ्क्रामक रोग विशेषज्ञ डा अनूप सुवेदीको तर्क छ। अझ लक्षण देखिएका कति जनाको परीक्षण गरियो र तीमध्ये कति जना सङ्क्रमित फेला परे भन्ने कुराले बुझ्न सहज हुन्छ, उनले भने।
मानिसहरूको व्यवहारमा आएको परिवर्तन एउटा सम्भावित कारण रहेको मन्त्रालयका सहप्रवक्ता अधिकारी पनि बताउँछन्। हाम्रो हेलचेक्र्याइँ बढ्न थालेको देखिन्छ। एउटै सङ्क्रमितले पनि अरू धेरैलाई सङ्क्रमित बनाउन सक्छ भन्ने सचेतना हामीकहाँ अलि कम भएको हो कि ?
पछिल्ला दिनमा नयाँ सङ्क्रमित थपिँदै जानुमा जनस्वास्थ्यका मापदण्डको पालनामा लापरबाही हुनु प्रमुख कारण देखिएको जनस्वास्थ्यविज्ञले बताएका छन्। मास्क लगाउने, हात धुने, अलि परपर बस्ने गर्नुपर्थ्यो। तर मानिसहरूले ती काम बिस्तारै छोड्न थालेकाले पनि सङ्क्रमण बढ्न थालेको हुन सक्छ, मरासिनीले भने।
जनस्वास्थ्यका मापदण्डको पालना सम्बन्धमा निराशाजनक अवस्था देखिन थालेको कुरामा डा सुवेदी पनि सहमत देखिन्छन्। अस्पतालमै मास्क नलगाई मानिसहरू घुमफिर गरिरहेको देखिन्छ, ज्येष्ठ नागरिकहरू समेत मास्कबिना हिँडिरहेको देख्छु। मास्क अहिले सबैभन्दा भरपर्दो सुरक्षाको उपाय देखिएको छ। हामीले हाम्रो आनीबानीबारे बेवास्ता गर्दा पनि सङ्क्रमण बढ्ने सम्भावना ठूलो छ, उनले थपे।
अर्को लहर आउन सक्छ ?
कोभिड महामारीको अर्को लहर आउन सक्ने सम्भावनालाई नै नकार्न नसकिने विज्ञहरूको मत रहेको छ। धेरै ठूलो त नहोला किनभने नेपालमा कोभिड खोप लगाउनेहरूको सङ्ख्या धेरै छ। अहिले झन् पाँचदेखि ११ वर्षमुनिका बच्चालाई पनि लगाउन थालिएको छ, मरासिनीले भने।
त्यसो भएको हुनाले ठूलो लहरभन्दा पनि अहिले देखिएकाभन्दा धेरै बिरामी हुने सम्भावना बढेर गएको छ। कतिपय देशमा फेला परिरहेका कोरोनाभाइरसका नयाँ भेरिअन्ट हेर्दा नेपालमा पनि समस्या निम्तिन सक्ने जोखिम रहेको डा सुवेदी औँल्याउँछ।
हाम्रो स्वास्थ्य प्रणालीका कारण लहर डिटेक्ट गर्न अलि समय लाग्ला, तर जुन भेरिअन्टहरू देखिँदैछन् तिनले ठूलै लहर आउन सक्छ भनेर सोच्नुपर्ने सचेत हुनुपर्ने देखिन्छ, उनले थपे।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारी पनि महामारी नै सकिसकेको रूपमा प्रस्तुत हुन नहुने सुझाउँछन्। भारतमा सङ्क्रमण बढिरहेको पृष्ठभूमिमा पछिल्लो समय खासगरी सीमा क्षेत्रमा सजगता बढाइएको उनले उल्लेख गरे।
शङ्कास्पद व्यक्तिको नाकामै परीक्षण गर्ने र सङ्क्रमण पुष्टि भए सीक्वन्सिङ गर्ने काम हामीले बढाएका छौँ ताकि हामीकहाँ भएका भेरिअन्ट बढेको हो अथवा नयाँ हो भन्ने थाहा होस्।
कतिले लगाए खोप ?
स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको ७७.४ प्रतिशतले कम्तीमा एक मात्रा र ६८.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।
त्यसैगरी लक्षित जनसङ्ख्याको ९६.८ ले एक मात्रा र ८६.२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार खोप अभियान सुरु भएयता अहिलेसम्म कुल ४,५३,२२,७१५ मात्रा खोप लगाइएको छ।
नेपालले अहिलेसम्म ५,३३,८१,५७० मात्रा खोप प्राप्त गरेको मन्त्रालयको तथ्याङ्क छ। नेपालमा अहिलेसम्म कोभिडका कारण झन्डै १२,००० जनाको मृत्यु भएको पुषटि भएको छ । मूल स्रोत बीबीसी



