यामलको प्रेरणादायी प्रदर्शन, स्पेन युरोपेली नेसन्स कपको फाइनलमा

विश्व फुटबलमा पछिल्ला दुई वर्षयता चर्चा बटुलिरहेका युवा खेलाडी लमिन यामलको उत्कृष्ट प्रदर्शनले स्पेनलाई युरोपेली नेसन्स कपको फाइनलमा पुर्याएको छ। बिहीबार स्टुटगार्टमा भएको सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको स्पेनले निको विलियम्स र माइकल मेरिनोका गोलमार्फत अग्रता बनायो। त्यसपछि लमिन यामलमाथि आड्रियन रोबियोटले गरेको फाउलमा स्पेनले पाएको पेनाल्टीमा यामलले नै गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए।
दोस्रो हाफको ५५ औँ मिनेटमा विलियम्सको पासलाई सदुपयोग गर्दै पेड्रीले चौथो गोल गरे। तर, चार मिनेटपछि फ्रान्सले पेनाल्टी पायो, जसमा केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई खेलमा फर्काए।
६७ औँ मिनेटमा यामलले व्यक्तिगत दोस्रो तथा टोलीको पाँचौं गोल गर्दै फराकिलो अग्रता दिलाए। यद्यपि, त्यसपछि फ्रान्सले शानदार कमब्याक प्रयास गऱ्यो। वैकल्पिक खेलाडी रायन छेराकीले एम्बाप्पेको पासमा डेब्यु खेलमै गोल गरे भने ८४ औँ मिनेटमा स्पेनका डानी भियिनले आत्मघाती गोल गरे।
इन्जुरी समयको अन्त्यतिर कोलो मुवानीले हेडमार्फत गोल गरेपछि स्कोरलाइन ५–४ मा झरेको थियो। तर, बाँकी समयमा स्पेनले अग्रता जोगाउँदै रोमाञ्चक जित दर्ता गर्यो।
यो जितसँगै स्पेन युरोपेली नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ भने लमिन यामलको प्रदर्शनले फेरि एकपटक फुटबल विश्वको ध्यान तानेको छ।



