
माध्यमिक शिक्षा परीक्षा (एसइई) मंगलबार सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठीमीका अनुसार देशभरका २,०७९ परीक्षा केन्द्रमा चैत ७ गतेदेखि सञ्चालन भएको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यस वर्षको परीक्षा मर्यादित रूपमा सम्पन्न भए पनि केही निरीक्षकहरू अर्मयादित गतिविधिमा संलग्न भएकाले निष्कासित गरिएको छ।
यस वर्षको एसइई परीक्षामा ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये सबैभन्दा धेरै काठमाडौंमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङमा ४३ जना रहेका छन्। जापानस्थित एक परीक्षा केन्द्रमा पनि २९ विद्यार्थीले परीक्षा दिएका छन्। साथै, केन्द्रीय कारागार काठमाडौं, दैलेखका दुई कारागार र भक्तपुरको बालसुधार गृहबाट समेत परीक्षार्थी सहभागी भएका थिए।
राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाको नतिजा आगामी असार ७ गतेभित्र सार्वजनिक गर्ने जनाएको छ। परीक्षामा न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण ठहरिनेछन्। यस वर्ष उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ। गत वर्ष (वि.सं. २०८०) मा मात्र ४८ प्रतिशत विद्यार्थी सफल भएका थिए।



