
विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा पुलिस क्लबले मच्छिन्द्र क्लबलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।
वीरगञ्ज रंगशालामा भएको रोमाञ्चक फाइनल खेलमा निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो। पेनाल्टीमा पुलिस क्लबले मच्छिन्द्रलाई ३–० को अन्तरले हराउँदै उपाधि रक्षा गर्न सफल भयो।
यसअघि, गत संस्करणको फाइनलमा पनि पुलिस क्लबले अर्को विभागीय टोली नेपाल आर्मीलाई पेनाल्टी सुटआउटमै २–० गोलले हराउँदै उपाधि जितेको थियो।
मधेस प्रदेशकै सर्वाधिक राशी पुरस्कार रहेको यो प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधिसँगै नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता मच्छिन्द्र क्लबले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पायो।
वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए, जसमा एउटा विदेशी टोलीसमेत सहभागी थियो। प्रतियोगिताको आयोजना भेटान क्लब, वीरगञ्जले गरेको हो।



