अर्थमुख्य खबर

वीरगञ्जमा मर्यादित होटल व्यवसाय प्रवर्द्धन गर्न प्रहरी र व्यवसायीको संयुक्त अभियान

व्यवसायी भन्छन् - प्रहरीले होटलको कोठाकोठा चाहारेर समय बर्बाद गर्दैछ

वीरगञ्जको होटल व्यवसायलाई मर्यादित बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित व्यवसायी र प्रहरीले संयुक्त अभियान सञ्चालन गरेका छन्। होटल तथा पर्यटन व्यवसायी संघ र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा आइतबार ‘मर्यादित होटल व्यवसाय सञ्चालनमा व्यवसायी र प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका सहभागीहरूले सीमावर्ती क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न होटल व्यवसायलाई स्वच्छ, मर्यादित र पर्यटनमैत्री बनाउनुपर्नेमा जोड दिए। होटल व्यवसाय पर्यटनको मुख्य आधार भएकाले व्यवसायको पारदर्शिता अनिवार्य भएको उनीहरूको भनाइ थियो।

पछिल्लो समय वीरगञ्जमा स्तरीय होटलसँगै क्यासिनो र स्पा सञ्चालन बढेको छ। तर, ती स्थानहरूमा गैरकानूनी क्रियाकलापहरू वृद्धि हुन थालेपछि प्रहरी र व्यवसायीले मर्यादित व्यवसाय प्रवर्द्धनका लागि अभियान थालेका हुन्। पहिलो चरणमा होटल व्यवसायी र प्रहरीबीच अन्तरक्रिया गरी सचेतना जगाउने कार्य भइरहेको आयोजकहरूले बताएका छन्।

कार्यक्रममा भारतीय पर्यटकको सहजताका लागि व्यवस्थापन सुधार गर्नुपर्ने माग उठाइएको थियो। होटल तथा पर्यटन व्यवसायीहरूले भारतीय पर्यटक नेपाल प्रवेश गर्दा सवारी साधन लिएर आउने प्रक्रियामा सहजीकरण, मुद्रा सटही व्यवस्थापन, सीमामा प्रभावकारी पर्यटन सूचना तथा सहायता कक्ष स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए।

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले केही होटल व्यवसायीहरू गैरकानूनी धन्दामा संलग्न रहेको खुलासा गर्दै हालै चार जना व्यवसायीलाई मानव बेचबिखनको आरोपमा कारबाही अघि बढाइएको जानकारी दिए। उनले कानूनविपरीत कार्यमा संलग्न व्यवसायीहरूलाई सचेत गराउँदै कारबाही भोग्न तयार रहन चेतावनी दिए।

 

यसअघि मधेश प्रदेशका मुख्यमन्त्री सतीस सिंहले वीरगञ्जका केही होटलमा अनुगमन गरेका थिए। स्थानीय चार होटलमा सञ्चालनमा रहेका क्यासिनोहरू भारतीय पर्यटकलाई लक्षित गरी खोलिए पनि नेपालीलाई खेलाइएको गुनासो बढेपछि अनुगमन गरिएको थियो।

होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले प्रहरी र व्यवसायीको सहकार्यले होटल व्यवसायलाई मर्यादित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। तर, उनले प्रहरीले अनावश्यक रूपमा होटलहरूमा छापा मारेर समय बर्बाद गरिरहेको भन्दै कटाक्ष पनि गरे।

अन्तरक्रियामा वीरगञ्जका ७० भन्दा बढी होटल व्यवसायीहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button