अर्थमुख्य खबर

अमेरिकी नीतिको प्रभाव : नेपालमा एमसीसी कार्यक्रम स्थगित, भविष्यबारे अन्योल

नेपालमा अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हाललाई स्थगित गरिएको छ। अर्थ मन्त्रालयका प्रवक्ताका अनुसार एमसीसीले मन्त्रालयलाई इमेलमार्फत जानकारी गराएपछि नेपाल सरकारले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

यस निर्णयलाई हालै अमेरिकी राष्ट्रपतिको पदभार सम्हालेका डोनल्ड ट्रम्पको वैदेशिक सहायता कटौती नीतिसँग जोडिएको छ। ट्रम्प प्रशासनले अमेरिकी सहयोग नियोग यूएसएआईडीका विभिन्न कार्यक्रम कटौती गरिसकेको छ, जसको प्रभाव नेपालमा पनि परेको छ।

एमसीसी अन्तर्गत नेपालमा विद्युत् प्रसारण लाइन, सबस्टेशन निर्माण, तथा सडक स्तरोन्नति कार्यहरू भइरहेका थिए। अमेरिकी सरकारबाट ५०० मिलियन डलर र नेपाल सरकारले १९७ मिलियन डलर लगानी गर्ने प्रतिबद्धता थियो। यस कार्यक्रममार्फत ३०० किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण तथा ७७ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएको थियो।

नेपालले सन् २०१७ (२०७४ साल) मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो। तर, यो सम्झौता नेपालमा विवादित बन्यो, विशेष गरी वामपन्थी दलहरूले यसलाई अमेरिकाको इन्डोप्यासिफिक रणनीतिसँग जोडेर आलोचना गरे। अन्ततः सन् २०२२ (२०७८ फागुन १५) मा नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्यो।

एमसीसी परियोजनाको कार्यान्वयन डेढ वर्षअघि मात्र शुरू भएको थियो। तर नेपालभित्र राजनीतिक बहस र विवादकै बीच यो परियोजना निरन्तर चर्चामा रह्यो।

बेइजिङले एमसीसीलाई ‘वाशिङ्टनले नेपालमाथि जबरजस्ती लादेको सहयोग’ भन्दै आलोचना गरेको थियो। हालको स्थगनपछि एमसीसी परियोजनाको भविष्य अन्योलमा परेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button