
भारत सरकारले सोयाबिन तेलको पैठारीमा लगाइएको शुल्क बढाएपछि नेपालबाट प्रशोधित खानेतेलको निर्यात उल्लेखनीय रूपमा बढेको छ।
भारत सरकार अन्तर्गतको व्यापार निर्देशनालयले मूल्य नियन्त्रणमा राख्न भन्दै आयातमा शून्य शुल्क नीति लिएपछि नेपालबाट निर्यात ठप्प भएको थियो । अहिले आयातमा शुल्क लगाएपछि नेपालबाट निकासी सम्भव भएको हो ।
नेपालका उद्योगले तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर यहाँबाट तयारी खानेतेल निकासी गर्दै आएका छन् । वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा रहेका १५ वटा तेल उद्योगको निर्यात ठप्प पारेको थियो। प्रतिबन्धका कारण नेपालका तेल उद्योगहरूमा ठूलो असर परेको थियो।
नेपालबाट दुई सातायता दैनिक रूपमा सोयाबिन तेल निर्यात सुरु भएको छ। स्थानीय व्यापारीहरूका अनुसार अहिले वीरगंज–पथलैया कोरिडोरका १५ वटा तेल उद्योगबाट दैनिक १०० टन अर्थात् पाँच ट्रक सोयाबिन तेल भारत पठाइँदैछ।
उक्त औद्योगिक कोरिडोरमा निम्बस, नारायणी रिफाइनरी, अन्नपूर्ण भेजिटेबल, महालक्ष्मी सोलमेट, गणपति, शिवशक्ति, र ओसिबी फूड्स एन्ड फिडजस्ता १५ उद्योग सञ्चालनमा छन्। यी उद्योगहरूले विदेशबाट कच्चा सोयाबिन तेल आयात गरेर प्रशोधन गर्ने र भारतमा निर्यात गर्दै आएका छन्।
प्रतिबन्ध हटेसँगै तेल उद्योगहरूले फेरि आफ्नो उत्पादन र व्यापार विस्तार गर्न थालेका छन्। यसले नेपालको व्यापार घाटा सन्तुलनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।



