बाह्य क्षेत्र सुध्रिए पनि आन्तरिक अर्थतन्त्र किन सुस्त ?

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म सरकारले १ खर्ब ८० अर्ब १५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको भए पनि मात्र १ खर्ब ४० अर्ब २२ करोड रुपैयाँ संकलन भएको छ। राजस्व संकलनको लक्ष्यभन्दा कम हुने क्रमले आन्तरिक अर्थतन्त्र सुस्त भएको स्पष्ट देखिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूले पर्याप्त तरलता राखेको र कर्जाको ब्याजदर कम रहेको भए पनि कर्जाको मागमा उल्लेखनीय वृद्धि देखिएको छैन। व्यवसायीहरूले सस्तो कर्जामा पनि लगानी गर्न चाहेका छैनन्, जसले देशमा वस्तु तथा सेवाको माग नै कमजोर भएको संकेत गर्छ।
कर र अन्तःशुल्कमा कमी
सरकारले उत्पादन, विक्री, तथा सेवाबाट ५१ अर्ब १ करोड मूल्य अभिवृद्धि कर संकलन गर्ने लक्ष्य राखे पनि ४१ अर्ब ४५ करोड मात्र संकलन भएको छ। त्यस्तै, ४२ अर्ब १० करोड अन्तःशुल्क उठाउने लक्ष्य भए पनि ३० अर्ब ५५ करोड रुपैयाँ मात्र उठ्न सकेको छ। भन्सार राजस्वमा पनि गिरावट आएको छ, जसले उपभोग्य र औद्योगिक वस्तुको माग घटेको देखाउँछ।
विदेशी मुद्रा सञ्चिति वृद्धि
नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असोज मसान्तमा कुल विदेशी मुद्रा सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ। यो १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ। विदेशी विनिमय सञ्चिति बढ्नुमा मुख्यतः विप्रेषण आप्रवाहमा भएको ११.५ प्रतिशतको वृद्धिले योगदान पुर्याएको हो। तर, आयातमा आएको संकुचनका कारण विदेशी मुद्रा आन्तरिक आर्थिक गतिविधिमा प्रयोग नभई सञ्चिति थपिँदै गएको हो।
उत्पादनमूलक क्षेत्रमा लगानीमा गिरावट
बैंकहरूको कर्जा लगानी उत्पादनमूलक क्षेत्रमा विस्तार हुन सकेको छैन। सीमित कर्जा मुख्यतः शेयर र आयातमा केन्द्रित रहेको छ। निजी क्षेत्रको कर्जा माग कम हुनु र सरकारी विकास खर्चको गति अत्यन्तै सुस्त हुनुले अर्थतन्त्रको विस्तारमा अवरोध गरेको छ।
सरकारको कमजोरी
नयाँ सरकारले अर्थतन्त्र सुधारलाई प्राथमिकता दिने घोषणा गरे पनि ठोस कार्यान्वयन देखिएको छैन। विकासनिर्माणमा लगानी बढाउन सकस हुँदा आर्थिक गतिशीलता थप कमजोर भएको छ। सरकार ठोस योजनाबिनाको समिति गठन र सुझाव संकलनमा सीमित देखिएको छ।
विश्लेषकहरूका अनुसार अर्थतन्त्रको यो निराशाजनक अवस्था चाँडै सुधार हुने सम्भावना कम छ। आर्थिक सुधारका लागि सरकारले ठोस र दीर्घकालीन नीति अपनाउनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ।



