बहुउपयोगी बेसार : यस्ता छन् सेवनका फाईदा

बेसार स्वास्थ्यका लागि लाभदायक भएको भन्दै लोकप्रियता कमाएको मसला हो। यसमा पाइने प्रमुख रसायन कुर्क्युमिनलाई रोग प्रतिरोधात्मक र वैकल्पिक उपचारका लागि प्रभावकारी मानिन्छ।
कुर्क्युमिनले क्यान्सरसँग लड्ने क्षमता रहेको विभिन्न प्रयोगशाला अध्ययनहरूले देखाएका छन्, तर यसको प्रभाव शरीरमा त्यति प्रबल नहुन सक्ने बताइन्छ, किनकि मानव शरीरमा कुर्क्युमिनको मात्रा सीमित रहन्छ।
येल विश्वविद्यालयका इतिहासका प्राध्यापक पल फ्रीडमेनका अनुसार, मध्यकालीन युगमा पश्चिमा विश्वमा बेसार र अन्य मसला प्रयोगले वैकल्पिक औषधिका रूपमा स्थान पाएको थियो। त्यस समयमा मानिसहरूले खानामा मसलाहरूलाई तातो, चिसो, ओसिलो र सुक्खा गुणको सन्तुलनका लागि प्रयोग गर्थे।
फ्रीडमेनले भनेका छन्, “मसलाहरूले खानालाई सन्तुलन दिन्थे।” उदाहरणका लागि, माछालाई चिसो र ओसिलो मानिन्थ्यो भने मसलालाई तातो र सुक्खा मानिन्थ्यो। भारतमा हजारौँ वर्षदेखि प्रचलित आयुर्वेदिक सिद्धान्त अनुसार, खानामा सन्तुलन कायम गर्ने उद्देश्यले मसला प्रयोग गरिन्थ्यो, जुन खाद्य परम्पराको एक अभिन्न हिस्सा बनेको छ।
मिनेसोटा विश्वविद्यालयको थेरप्यूटिक डिस्कभरी एन्ड डिभलप्मन्ट इन्स्टिच्यूटका पूर्वशोधसहायक प्राध्यापक क्याथ्रिन नेल्सनका अनुसार, बेसारले केही फाइदा पुर्याउन सक्छ, तर कुर्क्युमिन एक मात्र कारण भने होइन।
बेसारलाई पकाउने क्रममा यसको रासायनिक संरचना फेरबदल हुने हुँदा स्वास्थ्य लाभको प्रकार बदलिन सक्छ। अन्ततः, बेसार स्वाद र सुगन्धका लागि स्वस्थकर विकल्पको रूपमा प्रचलित छ, तर यसको स्वास्थ्य लाभबारे थप प्रमाण आवश्यक रहेको विज्ञहरूले बताएका छन्। एजेन्सीहरुको सहयोगमा



