साउनमा मेहन्दी लगाउँदै हुनुहुन्छ ? होस गर्नुहोस्, हुन सक्छन् यस्ता समस्या
साउन महिनामा मेहेन्दी लगाउने प्रचलन निकै बढेको छ। हरियो चुरा र मेहेन्दी लगाउनैपर्छ भन्ने धार्मिक मान्यता नभए पनि पछिल्लो समय यसको प्रयोग फेसनकै रुपमा बढ्दो छ। तर सुन्दर हुन लगाइने मेहेन्दीको असर खतनाक हुनसक्ने देखिएको छ।
साउन महिनामा विशेष गरी हरियो चुरा र मेहेन्दीले हात सजाउने धेरै हुन्छन्। हातलाई सुन्दर देखाउन तथा साउन महिनासँग तालमेल मिलाउनकै लागि विषेश गरी महिला साउनमा मेहेन्दी लगाउने गर्दछन्। तर सुन्दर र आर्कषक देखिने होडबाजीमा मेहन्दी कति सुरक्षित छ भन्ने हेक्का धेरैलाई नहुनसक्छ।
कृतिम रुपमा बनाइने मेहेन्दीमा छालाका लागि हानिकारक केमिकल वा रसाइन मिसाइएको हुन्छ। जुन केमिकल स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ। यसबाहेक प्राकृतिक मेहेन्दीले पनि केही व्यक्तिमा रियाक्सन गर्ने हुँदा एक्जिमा र इरिटेन्ट एलर्जीको समस्या देखिनसक्छ।
अहिले बजारमा पाइने तयारी मेहेन्दीमा रंग गाडा बनाउन तथा रंग लामो समयसम्म टिकाउन प्रयोग हुने केमिकलले पनि छालाई असर गर्ने गर्छ। कतिपय मेहेन्दी रगतमा छिरेर शरीरभर एलर्जी हुनुका साथै क्यान्सरको जोखिम समेत बढाउने गरेको विभिन्न अध्ययनले देखाएको जानकार बताउँछन्।
मेहेन्दीको प्रयोग
अहिले मेहेन्दीकै जस्तो बुट्टामा ट्याटु बनाउने प्रवृत्ति पनि बढेको छ। हात खुट्टाको शोभा बढाउन, पूजाआजा गर्दा मेहेन्दी लगाउँदा चोखो हुन्छ भन्ने परम्परागत मान्यता छ।
विशेषगरी साउनको महिना र विवाहमा यसको प्रयोग अनिवार्य मानिन्छ। त्यसैले सजगता अपनाउनुपर्छ। आफ्नो छाला कस्तो खालको छ यदि एलर्जी हुने खालको छाला छ भने नलगाउँदा नै राम्रो हुन्छ। छालामा कुनै समस्या देखिएन भने लगाउँदा फरक नपर्ने उनको भनाइ छ।
मेहेन्दीले स्वास्थ्यमा पार्ने असर
परापूर्व कालमा प्राय सबैको घरमा मेहेन्दीको बोट नै हुन्थ्यो। त्यसको पात टिपेर सिलौटामा पिसेर हातमा लगाउँदा स्वास्थ्यमा निकै फाइदा पुग्छ भनिन्थ्यो। त्यो मेहेन्दी पिसेर टाउकोमा लगाउँदा शीतलता प्रदान गर्छ, टाउको दुख्ने समस्याबाट छुटकारा पाइन्छ भन्ने मान्यता थियो। तर अहिले त्यो अवस्था रहेन बजारमा आउने सबै मेहेन्दी रशायनयुक्त नै हुन्छन्।
मेहेन्दी लगाउँदा छाला चिलायो, पोल्यो, सकसक केही कुरा हिँडेको जस्तो गर्यो, सुन्नियो, पानीफोका निस्कियो भने त्यस्तो छालामा मेहेन्दी नलगाउन उनको सुझाव छ। लगाउनै मन लागेको भए रसायन नभएको मेहेन्दी लगाउन सकिने उनले बताइन। पछिल्लो समय स्टिकर खालको मेहेन्दी आएको छ त्यस्तो मेहेन्दी पनि लगाउन सकिन्छ।
मेहेन्दी लगाइसकेपछि के गर्ने ?
मेहेन्दीसँग विभिन्न विषय जोगिएका छन्। जहाँ मायाप्रेमका प्रसंग पनि छन्। पहिलेको बोटबाटै टिपेर घरमै बनाएको मेहेन्दी लगाउँदा मेहेन्दीको रङ जति राम्रो हुन्छ त्यति नै माया गर्ने मान्छे पाइन्छ भन्ने मान्यता थियो। मेहेन्दी रातभर राख्ने चलनसमेत थियो। तर अहिलेको मेहेन्दी लगाएर सुक्नेबित्तिकै कालो गाढा भएर बस्छ। त्यसैले यसलाई लामो समय राखिरहनु पर्दैन।
केमिकलको जोखिम
यो केमिकलयुक्त मेहेन्दी लगाएको हातले खाना खाँदा छलामा मात्रै नभएर अन्य स्वास्थ्यमा पनि समस्या देखिने भएकाले मेहेन्दी नगएसम्म चम्चाले खान सुझाव छ। त्यस्तै नेल पोलिसमा पनि केमिकलको मात्रा एकदमै धेरै हुने भएकाले औंलाहरु मुखमा हाल्नु नहुने भनाइ छ। राम्रो बन्ने चक्करमा हामीले आफ्नो स्वास्थ्यलाई हानी गरिरहेका हुन्छौं। त्यसैले मेहेन्द्री लगाउँदा केमिकलसँग सवधानी अपनाउनु आवश्यक छ।
केमिकलयुक्त मेहन्दीको निरन्तर प्रयोगले दीर्घकालीन असर पर्ने उनको भनाइ छ। केमिकलयुक्त मेहन्दी शरीरको छालाबाट शरीरको भित्री अंगमा पुग्छ र त्यो केमिकलकै कारण मिर्गौलामासमेत जोखिम हुनसक्छ। मेहेन्दीको केमिकलकै कारण मिर्गौलामा समस्या हुने तथा क्यान्सर हुने जोखिम बढ्नसक्छ ।
महिलाले मेहेन्दी जति गाढा भयो त्यति नै बढी माया गर्ने पति पाउने धार्मिक विश्वास गर्छन्। त्यसैले हरेक महिला आफ्नो हातमा मेहेन्दीको रङ गाढा होस् भन्ने चाहन्छन्। तर स्वास्थ्यका हिसाबले हेर्ने हो भने मेहन्दीको रङ हातमा जति गाढा बस्छ, त्यति नै हानिकारक हुने उनको भनाइ छ।
मेहेन्दीमा प्रयोग हुने केमिकलले रङ छालाको भित्रसम्म पुग्छ र मेहेन्दी गाढा हुन्छ, तर यसले छालालाई असर गर्छ । मेहेन्दीको एलर्जी छ वा छैन भनेर परीक्षण गरेर मात्र लगाउन सकिने उनको भनाइ छ। त्यसको लागि मेहेन्दीको थोरै मात्रा घाटी, काँखी वा शरीरको कुनै भागमा लगाएर २४ घण्टा राख्नुपर्छ। यो समयमा छाला चिलाउने, पोल्ने भएमा मेहेन्दीको एलर्जी रहेछ भनेर बुझ्न सकिन्छ। यस्तो अवस्थामा विज्ञको सुझाव अनुसार मेहेन्दी लगाउनुपर्छ।
स्वास्थ्य तथा सौन्दर्यकर्मीहरुसँगको कुराकानी र एजेन्सीहरुको सहयोगमा तयार पारिएको सामग्री



