No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

१० मेडिकल कलेजलाई स्वास्थ्य बीमाको स्वीकृति, कुनकुन संस्था भए बीमामा आवद्ध ?

स्वास्थ्य बीमा बोर्डले १० वटा ठूला मेडिकल कलेज शिक्षण अस्पताल र २ वटा आँखा अस्पतालसहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि स्वीकृति प्रदान गरेको छ।

चालु आर्थिक वर्षमा मेडिकल कलेजहरूले दिँदै आएको बीमा मार्फतको सेवा रोकिएको थियो। तर, अब काठमाडौंका केही मेडिकल कलेज र काठमाडौं बाहिरका केही मेडिकल कलेजबाट पनि बीमा मार्फतको सेवा सुचारु भएको बीमा बोर्डले जनाएको छ।

स्वीकृति प्रदान भएका स्वास्थ्य संस्थामा अगामी १ साउनदेखि स्वास्थ्य बीमा सेवा लागू हुने बताइएको छ। बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार आँखा अस्पतालहरुमा बिर्ताज्योति आइकेयर प्रालि झापा र दृष्टि आई अस्पताल पोखरा  रहेका छन्।

यस्तै, १० वटा मेडिकल कलेज टिचिङ अस्पतालहरूमा काठमाडौँ उपत्यकाका चारवटा र बाहिरका ६ वटा रहेका छन्। बीमा कार्यक्रममा सूचीकृत भएका अस्पतालहरूमा काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल (केएमसी अस्पताल) सिनामंगल काठमाडौं, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सीतापाइला काठमाडौं, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन्।

यस्तै, स्वास्थ्य बीमा कार्यक्रमका लागि सूचीकृत भएका उपत्यका बाहिरका मेडिकल कलेजहरूमा बिएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर, विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही, र नेपालगञ्ज मेडिकल कलेज बाँके रहेका छन्।

बोर्डका कार्यकारी निर्देशक डा बसौलाले भने, ‘स्वास्थ्य बीमा मार्फतको सेवालाई विस्तार गर्दै लाने उद्देश्यले हामीले मेडिकलकलेजहरूमा पनि स्वास्थ्य बीमा मार्फतको सेवा पुन सुचारु गर्ने निर्णय गरेका हौँ’ उनले थपे, ‘अब नयाँ आर्थिक वर्ष पनि यी मेडिकल कलेजहरूमा पनि बीमा मार्फतको सेवा पाइनेछ।’

यीमध्ये अधिकांशले दुई वर्ष आएको बजेट सकिएपछि स्वास्थ्य बीमा कार्यक्रम रोकेका थिए। तर, पछि उनीहरुले पुन बीमा कार्यक्रम सञ्चालन गर्न माग गर्दै आएका थिए। ठूला अस्पताल तथा मेडिकल कलेजहरूमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदा आम नागरिकलाई थोरै भए पनि राहत हुने अनुमान गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button