No Image Headlineदेशमुख्य खबरविशेष

राष्ट्रपति निर्वाचन : प्रचण्डको अभिव्यक्तिले कांग्रेसलाई आश, एमालेलाई त्रास

Thrill Factory
Rungta Group

प्रतिनिधिसभाको निर्वाचनपछि नयाँ प्रधानमन्त्री र सभामुख चयन भएलगत्तै आगामी केही साताभित्र हुने ठानिएको राष्ट्रपति निर्वाचनमा दलहरूको ध्यान केन्द्रित हुन थालेको छ।

सङ्घ र प्रदेश सबैतिर सरकारसँगै सभामुखजस्तो महत्त्वपूर्ण पद गुमाएको नेपाली कांग्रेसले गोप्य मतदानबाट चयन हुने राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रयास गर्ने नेताहरूले बताएका छन्।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने बताए। हामी उम्मेदवारी दिन्छौँ। यसका लागि समय छ अरू दलहरूको पनि  साथ चाहिन्छ हामी छलफल गर्छौँ, उनले भने।

राष्ट्रपति आफ्नो दलबाट बनाउने कांग्रेसको आकाङ्क्षालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थप आशा बढाइदिएका छन्।राष्ट्रपतिको उम्मेदवारमा सहमति खोज्ने प्रचण्डको प्रस्तावले एकैसाथ कांग्रेसमा आशा र एमालेमा आशङ्का बढाइदिएको छ।

हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस जारी राख्छौँ, सभामुख निर्वाचनपछि बिहीवार संसद् भवनबाट बाहिरिँदै गर्दा प्रचण्डले पत्रकारहरूसँग भने।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले भने राष्ट्रपति आफ्नो दलले पाउने सहमति सत्तारूढ गठबन्धनमा भइसकेको भन्दै त्यसमा पुनर्विचार गर्न नसकिने सङ्केत दिएको छ।

सहमति हुनुपर्छ, नेकपा एमालेले उम्मेदवार उठाउँछ हाम्रो सहमति त्यही हो। त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ, प्रचण्डपछि बाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले पत्रकारहरूसँग भने। राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिनाअगावै उक्त पदका लागि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिन्छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी नियमावलीमा गोप्य मतदान हुने भनिएको छ।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा सदस्यहरूको मतदानबाट चुनिने पद भए पनि गोप्य मतदान भएका कारण गठबन्धनको पनि केही मत आफूतिर पार्न कांग्रेसले प्रयास गरिरहेको देखिन्छ। तर कांग्रेस प्रवक्ता महतले कांग्रेसले सांसदहरूले लुकेर भोट हाल्ने आशामा उम्मेदवारी दिन लागेको भने होइन।

कांग्रेस निकटस्थ मानिने राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले माओवादीले औपचारिक निर्णय गरेर कांग्रेस उम्मेदवारलाई समर्थन नगरेको अवस्थामा गोप्य मतदान भए पनि त्यसले निर्वाचन नतिजामै फरक पार्ने आफूले नदेखेको बताउँछन्।

गोप्य मतदान भएकाले आंशिक मत यताउता हुन सक्ला। तर नतिजामै फरक पर्नेगरी नहुन सक्छ, वाग्ले भन्छन्। कांग्रेसले माओवादीलाई गर्न सकिने ठाउँमा सहयोग गरिसकेको छ। अब उसले के गर्छ त्यो हेर्न बाँकी छ।

कांग्रेसले सङ्घमा प्रचण्ड सहित केही प्रदेशमा माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत र सभामुखलाई समर्थन गरेको छ। यस्तो समर्थन कांग्रेसले एमालेका उम्मेदवारलाई भने गरेको छैन।

जसरी अघिल्लो चुनावअघि कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन भत्काउन एमालेले प्रयास गरिरहेको थियो त्यसरी नै कांग्रेसले पनि एमाले नेतृत्वको सात दलीय गठबन्धन टुटाउन प्रयास गरिरहेको छ। त्यसकै एउटा पाटो उसले दिएको समर्थन पनि हो, वाग्ले भन्छन्।

मन्त्रालय भागबन्डामा चित्त नबुझाएको सत्तारूढ गठबन्धनको जनता समाजवादी दल अझैसम्म सरकारमा सहभागी भएको छैन। प्रचण्डलाई प्रधानमन्त्री बन्न सघाएको जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि गठबन्धनप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्म धेशको अर्को शक्ति लोकतान्त्रिक समाजवादी पार्टी यसअघिबाटै कांग्रेससँग निकट छ।

जसपाका प्रवक्ता मनीषकुमार सुमनले गठबन्धनको नेतृत्वसँग आफूहरूको असमझदारी रहेको बताए। राष्ट्रपतिको भागबन्डा पनि ओलीजी र प्रचण्डजी बसेर गर्नुभएको भन्ने आएको छ। दुई नेता बसेर गरेको समझदारीको जिम्मेवार हाम्रो दल हुँदैन, उनले भने।

त्यसकारण राष्ट्रपति कुन दलबाट हुने, को हुने र शक्ति सन्तुलन कसरी गर्ने भन्नेबारे सबै दल बसेर फेरि छलफल हुनुपर्छ। जनता समाजवादी पार्टीले राष्ट्रपति निर्वाचनमा आफ्नो समर्थनबारे निर्णय लिने उनले बताए।

माओवादी पार्टीका सचिव लीलामणि पोखरेलले कांग्रेसको तर्फबाट राष्ट्रपति बनाउन माओवादी विपक्षमा नभएको बताए। हामी यो मामिलामा लचक छौँ। त्यसैका लागि राष्ट्रिय सहमति खोजौँ भनिरहेको हो, उनले भने।

कांग्रेस नेताहरूले आशा गरे जस्तो माओवादीले राष्ट्रपतिमा गठबन्धन बाहिरका उम्मेदवारलाई सहयोग गरिहाल्ने अवस्था चाहिँ अझै नबनेको उनले बताए। कांग्रेसले आशा गरेर मात्रै भएन नि। आफूले वाचा पूरा नगरेको विगत पनि हेर्नुपर्‍यो। हामी गठबन्धन भङ्ग गरेर उसलाई समर्थन गर्ने पक्षमा पुगिसकेका छैनौँ, पोखरेलले थपे।

कांग्रेस प्रवक्ता महत राजनीति सम्भावनाको खेल भएका कारण” माओवादीको समर्थन लिन कांग्रेसले प्रयास गर्ने बताउँछन्। तर उहाँहरूको यसमा के भूमिका हुन्छ अहिले नै भन्न सकिँदैन, उनले भने।

एमालेसँग प्रधानमन्त्री र सभामुखमा आलोपालो र राष्ट्रपति पाँचै वर्षका लागि उसलाई दिने सहमति भएको स्वीकार गर्दै पोखरेलले कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएका कारण सहमतिको प्रयास गर्न माओवादीले अग्रसरता लिएको बताए।

कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मतमा सहयोग गरेपछि राष्ट्रिय सहमति हुने परिस्थिति बन्यो। राष्ट्रपतिमा पनि बन्छ कि प्रयास गरौँ भन्ने हो, पोखरेलले भने। तर एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे यसअघिको सहमतिविपरीत एमालेले यो पद अरूलाई छोड्ने सम्भावना आफूले नदेखेको बताउँछन्।

यो सहमतिबारे हामीलाई स्पष्टसँग थाहा छैन। तर हामी मिल्यौँ सबै पदमा बाँडफाँट गर्‍यौँ भन्ने अनि अहिले आएर अरू कुरो गर्न मिल्ला र? पाण्डेले भने।

गठबन्धनमा राष्ट्रपति आफ्नो भागमा परेको दाबी गरिरहेको एमालेबाट राष्ट्रपतिको उम्मेदवार को हुने भन्ने अझैसम्म स्पष्ट भइसकेको छैन।

पूर्वसभामुख सुवास नेम्बाङ र बागमती प्रदेशकी मुख्यमन्त्री भइसकेकी अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिमा दाबी गरिरहेको विवरण सार्वजनिक सञ्चारमाध्यममा आएका छन्।

तर एमालेका नेताहरू हालसम्म राष्ट्रपतिका उम्मेदवारबारे पार्टीका कुनै पनि तहमा छलफल नभएको बताउँछन्। कांग्रेसबाट चाहिँ नेताहरू रामचन्द्र पौडेल र कृष्ण सिटौलाले उक्त पदमा दाबी गरिरहेको एक नेताले बताए।

तर उक्त पार्टीबाट राष्ट्रपति निर्वाचित हुने निश्चित नभएको अवस्थामा अरू कुनै उम्मेदवारलाई पार्टीले अघि सार्न सक्ने पार्टी निकटस्थहरूको आकलन छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button