खबर फटाफटस्वास्थ्य/जिवनशैली
नेपालका कफ सिरफ कति सुरक्षित ?

इन्डोनेशिया र गाम्बियामा खोकीको झोल औषधिका कारण कैयौँ बालबालिकाको मृत्यु भएको विवरण आएपछि नेपाली औषधि नियामक निकायका अधिकारीहरूले नेपालमा पनि सजगता अपनाउनुपर्ने बताएका छन्।
झन्डै १०० बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न प्रतिबन्ध लगाइएको छ।
त्यसअघि द गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको घटनामा खोकीको औषधिको सम्बन्ध रहेको पाइएको थियो।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भारतमा उत्पादित खोकी रोक्ने औषधिहरूलाई गाम्बियामा भएका घटनासँग जोड्दै खोकीका चारवटा औषधिबारे विश्वव्यापी चेतावनी जारी गरेको थियो।
नेपालको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले नेपालमा झोल ओषधिहरूका कारण कुनै समस्या नदेखिएका भए तापनि इण्डोनेशिया र द गाम्बियाका घटनाका कारण आफूहरू सजग भएको बताए।



