No Image Headlineस्वास्थ्य/जिवनशैली

विश्वको आधा जनसंख्यालाई डेङ्गी, चिसोमा यसको जोखिम कति ?

हिउँद लागेसँगै लामखुट्टे कम हुने भए पनि अझै केही साता डेङ्गी पूर्ण रूपमा नसकिने विज्ञहरूको आकलन छ। यो प्रकोप उत्कर्षबाट ओर्लिँदै गए पनि सङ्क्रमण शून्य हुन समय लाग्ने डा शेरवहादुर पुन बताउँछन्।

उनी भन्छन्, चिसो मौसम सुरु हुँदैमा लामखुट्टे नआउने र डेङ्गी हराउने भन्ने हुँदैन। दशैँतिहारपछि प्रायः गर्मी ठाउँबाट काठमाडौं आउने मानिसहरूमा यो रोग देखिन्छ। यो विगतको अनुभव हो।

त्यस्तै इपिडिमियोलोजी अफ डेङ्गी भाइरस इन्फेक्शन इन नेपाल, २००६-२०१९ नामक एक अनुसन्धानको निष्कर्षमा पनि लेखिएको छ, नेपालमा डेङ्गी सङ्क्रमणको दायरा बढेको छ र यो देशको तल्लो भेगहरूबाट माथिल्लो भेगतर्फ उक्लिरहेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का शोधकर्ता डा. विष्णु मरासिनीका अनुसार परिषद्ले सन् २०१९ को डेङ्गी प्रकोपपछि गरिएको अनुसन्धानमा पनि हिमाली भेगमा डेङ्गी भाइरस सार्ने लामखुट्टे फेला परेको थियो। साथै दोलखाजस्ता माथिल्लो भेगका मानिसहरूमा डेङ्गी पुष्टि भएको थियो।

नेपालमा यो वर्ष अहिलेसम्म झन्डै ४२,००० जना डेङ्गी सङ्क्रमित भएको र तीमध्ये ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। तर डा. पुन भने यथार्थमा सार्वजनिक सङ्ख्याभन्दा  बढी मानिस सङ्क्रमित भएको हुन सक्ने बताउँछन्।

केही अस्पतालमा अति गाह्रो भएका मानिसहरू पुगेका छन्। तीबाहेक सहन सक्ने लक्षण देखिएका वा लक्षणरहित सङ्क्रमण भएकाहरूको गन्ती भएको छैन, उनले भने।

विश्वभरि प्रत्येक वर्ष ४० करोड मानिसलाई डेङ्गी हुन्छ। यो भाइरस एशियाका विभिन्न भाग, दक्षिण तथा मध्य अमेरिका र क्यारिबीअन क्षेत्रमा सामान्य मानिन्छ।

प्रायः एडीज एजीप्टी र कतैकतै एडीज एल्बोपिक्टस जातका लामखुट्टेको टोकाइबाट डेङ्गी भाइरस सर्छ। यी लामखुट्टेले येलो फिभर, जीका भाइरस र चिकूङ्गून्या पनि सार्छन्।

अमेरिकी स्वास्थ्य निकाय सीडीसीका अनुसार विश्वको झन्डै आधा जनसङ्ख्या अर्थात् चार अर्ब मानिस डेङ्गी भाइरसको जोखिमयुक्त क्षेत्रमा बस्छन्।

यो भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउँछ, शरीरमा डाबर देखा पर्न सक्छ र टाउको तथा पूरै जीउ दुख्न सक्छ। केही बिरामीलाई निरन्तर पेट दुख्ने, बान्ता हुने, जीउ सुन्निने, गिजाबाट रगत आउने, छटपटी हुने जस्ता जटिल समस्या देखा पर्न सक्छन्।

यो रोग प्राणघातक पनि हुन सक्ने भएकाले त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गराउनुपर्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्युदर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ।

तर यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धाले विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ।

रोगबाट बच्ने के कस्ता उपाय छन् ?

लामखुट्टेको टोकाइबाट जोगिनु

लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने

खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने

पानी छोपेर राख्ने

शरीरको अधिकांश अङ्ग ढाक्ने खाले लुगा लगाउने

सकेसम्म फिक्का सेतो रङ्गको पहिरन लगाउने

दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने

लामखुट्टेको टोकाइ जोगिन लामखुट्टेलाई विकर्षित गर्ने मलम प्रयोग गर्ने

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button