No Image Headlineमुख्य खबरस्वास्थ्य/जिवनशैली

नेपालमा डेङ्गी संक्रमणको आवस्था कस्तो छ, कहिलेदेखि घट्छ ?

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण नेपालमा हालसम्मकै उच्च देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाले उपलब्ध गराएको विवरणअनुसार असोज २९ गतेसम्म देशभरि कुल सङ्क्रमित व्यक्तिको सङ्ख्या ४०,०२९ पुगेको छ। सो अवधिमा डेङ्गीका कारण ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या ४८ रहेको छ।

विगतका सङ्क्रमणको प्रवृत्ति हेर्दा प्रत्येक २(३ वर्षको अन्तरालमा नेपालमा प्रकोपको रूपमा डेङ्गी फैलिने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नेपालमा सन् २००४ मा पहिलोपटक डेङ्गी पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। त्यसयता सन् २००५ बाहेक हरेक वर्ष डेङ्गीका बिरामी फेला पर्दै आएका छन्।

यसअघि सन् २०१९ मा डेङ्गी रोगको प्रकोपले ठूलो रूप लिँदा देशका ६८ जिल्लामा १७,९९२ जना सङ्क्रमित भएका थिए ।
सबैभन्दा बढी प्रभावित जिल्लामा सुनसरी, चितवन, कास्की, काठमाण्डू, ललितपुर र झापा थिए।

स्वास्थ्य मन्त्रालयका अनुसार त्यति बेला डेङ्गीका कारण पाँच जनाले ज्यान गुमाएका थिए।

अहिले देशका लगभग सबै स्थानमा अर्थात्‌ ७७ मध्ये ७५ वटा जिल्लामा डेङ्गी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अधिकांश सङ्क्रमित जुलाइदेखि अक्टोबर महिनाको बीचमा फेला परेका हुन्।

सेप्टेम्बर महिनामा मात्रै २७,५२९ जना सङ्क्रमित थपिएका तथ्याङ्क छ। सबैभन्दा बढी सङ्क्रमण काठमाण्डू उपत्यका पनि पर्ने वाग्मती र लुम्बिनी प्रदेशमा देखिएको छ।

कुल सङ्क्रमितमध्ये वाग्मती प्रदेशमा मात्रै ३० हजार सङ्क्रमित रहेको पाइएको छ। तथ्याङ्क हेर्दा शहरी तथा शहर उन्मुख क्षेत्रमा बढी सङ्क्रमित फेला पर्ने गरेका छन्, महाशाखास्थित कीटजन्य रोग प्रमुख गोकर्ण दाहालले भने।

जनघनत्व बढी हुने भएर र घरमा पानी जम्मा गरेर राख्ने भएर ती क्षेत्रमा सङ्क्रमण बढी भएको देखिन्छ, उनले थपे। विज्ञहरूका अनुसार डेङ्गी निम्त्याउने लामखुट्टेले सफा पानीमै फुल पार्छन्।

दाहालका अनुसार काठमाडौं दाङमा हालै सर्भिलेन्स गर्दा डेङ्गी गराउने जङ्गल तथा झाडीमा मात्र पाइने विश्वास गरिएको लामखुट्टेको प्रजाति शहरमा पनि पाइएको थियो।

यो वर्ष दशैँका बेला देशका धेरै भागमा मध्यमदेखि ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ। यसपालि लामखुट्टेको वृद्धिमा दशैँभरि परेको पानीको पनि भूमिका रह्यो, डेङ्गीको प्रकोप अझै नसकिनुको एउटा कारणबारे त्रिभुवन विश्वविद्यालयस्थित माइक्रो बायोलोजीकी सहप्राध्यापक रेशमा तुलाधरले भनिन्।

विगतको सङ्क्रमणको प्रवृत्ति हेर्दा डेङ्गीको प्रकोप सकिन अझै एक महिना जति लाग्ने सहप्राध्यापक तुलाधरले बताइन्। त्यसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखास्थित कीटजन्य रोग प्रमुख दाहाल पनि सहमत देखिन्छन्।

कार्तिक मसान्तसम्म हामी डेङ्गीको जोखिममा रहने देखिन्छ। अबको झन्डै एक महिना पनि हामी सजग हुनैपर्छ, उनले सचेत गराए।

देशमा अहिले तीन तहको सरकार भए पनि डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम नचालिएको भन्दै आलोचना हुँदै आएको छ।

तर स्वास्थ्य मन्त्रालयअन्तर्गत पर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरू आवश्यक कामहरू भइरहेको बताउँछन्।
स्थानीय सरकारमार्फत्‌ लामखुट्टेको लार्भा खोजेर नष्ट गर्नेदेखि वयस्क लामखुट्टे मार्नेसम्मका अभियानहरू चलिरहेको छ, दाहालले भने।

त्यसका लागि महाशाखाले देशका १३९ पालिका, ६० जिल्ला र सातवटै प्रदेशलाई बजेट समेत छुट्ट्याइएको जनाएको छ।
साथै डेङ्गीबारे जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गरिँदै आएको अधिकारीहरूले बताएका छन्।

नियन्त्रण तथा रोकथाममा सरकारको मात्रै मुख ताक्नुभन्दा आममानिसको भूमिका पनि अहम भएको माइक्रो बायोलोजीकी सहप्राध्यापक तुलाधर बताउँछिन्।

आफ्नो वरपर पानी जम्न नदिने, झुलभित्र बस्ने, लामखुट्टे धपाउने धूप बाल्ने, मल्हम लगाउने जस्ता काम गरेर डेङ्गी निम्त्याउने लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ, उनले थपिन्।

डेङ्गी लागिसकेपछि बिरामीलाई झुलभित्र राख्ने, चिकित्सकको परामर्शमा मात्र औषधि सेवन गर्नुपर्ने तथा झोलिलो एवं पोषिलो खाना खानुपर्ने विज्ञहरू सुझाउँछन्। बीबीसी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button