No Image Headlineअर्थमुख्य खबरविशेष

ठेकेदारको बदमासीलाई महानगरकै संरक्षण, औद्योगिक कच्चा पदार्थमा पालिकैपिच्छे अवैध कर

Thrill Factory
Rungta Group

स्थानीय तह सञ्चालन ऐन २०७४ ले दिएको अधिकार दुरुपयोग गर्दै स्थानीय तहहरूले करमा अचाक्ली गरेको भेटिएको छ । यतिसम्म कि, भन्सार जाँचपास भएर भित्रिएको औद्योगिक कच्चा पदार्थमा समेत सीमावर्ती क्षेत्रका पालिकैपिच्छे कवाडी कर तिर्नुपरेको छ ।

आयातकर्ताले भन्सार नाकादेखि कच्चा पदार्थ पुर्‍याउनुपर्ने गन्तव्यसम्म राजमार्गमा पर्ने पालिकैपिच्छे अनधिकृत कर बुझाउन बाध्य भएको प्रमाण फेला परेको हो । वीरगञ्ज भन्सारबाट कोइला लिएर छुटेको गाडीलाई रोकेर वीरगञ्ज महानगर र जीतपुरसिमरा उपमहानगरले कवाडी कर असुलेका हुन् ।

औद्योगिक कच्चा पदार्थमा कवाडी कर लिन नपाइने भए पनि पालिकाले ठेकेदारमार्फत करमा मनपरी चलाएका छन् । स्थानीय सरकारले आफ्नो पालिका क्षेत्रभित्र उत्पत्ति, संकलन तथा व्यावसायिक उपयोग, कारोबार हुने जडीबुटी, कवाडी तथा जीवजन्तु करको ठेक्का दिएका छन् ।

तर, बारा–पर्सा औद्योगिक कोरिडोरमा पर्ने यी दुवै पालिकाले आफ्ना ठेकेदारमार्फत गैरकानूनी तरीकाले कर उठाइरहेको वीरगञ्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले बताए । सतही रूपमा हेर्दा यस्तो करको विषय व्यापारीको टाउको दुखाइजस्तो लागे पनि करको अन्तिम भार आम उपभोक्तामाथि नै जाने व्यवसायी बताउँछन् । वीरगञ्जमा मेदान्त कन्स्ट्रक्शन नामको कम्पनीले करको ठेक्का पाएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरमा एच एन्ड जे ट्रेडर्सले ठेक्का लिएको छ । यी दुवै ठेकेदारले सम्झौताविपरीत कर उठाएका छन् । गत भदौ १७ गते वीरगञ्जको आईसीपी भन्सारबाट कोइला जाँचपास गराएर निस्किएको जेएच १० बीए ३२७४ नम्बरको ट्रकलाई शुरूमा मेदान्तका कर्मचारीले स्थानीय बहुअरी चोकमा २०० रुपैयाँको रसिद थमाएका थिए ।

२०० रुपैयाँको रसिद काटे पनि जबरजस्ती २०० भारतीय रुपया तिराएको गुनासो आयातकर्ताको छ । यो समाचार आर्थिक अभियानमा प्रकाशित भएको थियो ।
भन्सार पार हुनेबित्तिकै मेदान्तका कर्मचारीले अवैध रकम असुलेको ट्रकलाई केही पर राजमार्गमा पुनः जितपुरसिमराका ठेकेदारले घेरेर पैसा तिराएका थिए । त्यहाँ एच एन्ड जेका मानिसले पुनः २०० रुपैयाँ तिराएको पछिल्लो प्रमाण आर्थिक अभियानले फेला पारेको छ ।

बाटोमा रकम उठाउन खटाइएका ठेकेदारका कर्मचारीले करको रसिदमा ढुवानी साधनको पूरा नम्बरसमेत लेख्दैनन् । दुवै ठेकेदारले काटेको रसिदमा ट्रकको नम्बरमात्र उल्लेख गरिएको छ । नम्बरसँग अल्फाबेट उल्लेख गरिएको छैन ।

पालिका नेतृत्वको संरक्षण पाएका यी ठेकेदारले वीरगञ्ज महानगरका १३ स्थानमा र जितपुरसिमराका विभिन्न स्थानमा कर असुली केन्द्र खडा गरेका छन् । औद्योगिक कोरिडोरका उद्योगका गेटगेटमा कर असुल्न ठेकेदारका मानिस रसिदको ठेली बोकेर उभिन्छन् ।

ठेकेदारका कर्मचारीले उद्योगमा प्रवेश गर्ने कच्चा पदार्थमात्र होइन, त्यहाँबाट निस्किने तयारी वस्तुमा समेत जबरजस्ती कर तिराउने गरेको उद्यमीको गुनासो छ । वीरगञ्ज महानगरका राजस्व प्रशासन प्रमुख मनोज कर्ण भने कच्चा पदार्थमा कवाडी कर लिन नमिल्ने बताउँछन् ।आर्थिक अभियानमा प्रकाशित 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button