जनस्वास्थ्यमा सकस थपिरहेका यी भाइरस

पछिल्ला केही साता कोभिड सङ्क्रमणदर उच्च रहँदा उस्तै लक्षण देखिने अन्य भाइरसबाट हुने सङ्क्रमण पनि बढिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
ज्वरो आउने, जीउ दुख्ने र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या कोरोनाभाइरसको सङ्क्रमणका लक्षण हुन् तर पछिल्लो समय धेरै बालबालिका सङ्क्रमित भएको एडिनोभाइरसका लक्षणहरू पनि उस्तै छन्।
सबै उमेर समूहका मानिसहरूलाई लक्षण देखिने कोरोनाभाइरस र बालबालिकालाई सताउने एडिनोभाइरसबाहेक उस्तै लक्षण देखा पर्ने डेङ्गी सङ्क्रमण पनि नेपालका केही जिल्लामा देखिएको छ।
नेपालमा हरेक वर्ष वर्षा याममा फैलने डेङ्गीबाट पनि विगत सात महिनामा ९०० जना सङ्क्रमित भइसकेका छन्। यस बाहेक मलेरिया, निपा भाइरस र स्क्रब टाफइसको सङ्क्रमण पनि नेपालमा फाट्टफुट्ट देखा पर्ने गरेको छ।
स्वास्थ्य अधिकारीहरूले दक्षिण अफ्रिका युरोप र अमेरिकासम्म फैलिइसकेको र छिमेकी भारतसम्म आइपुगेको मङ्कीपक्स नेपालमा पनि देखा पर्ने जोखिम उच्च रहेको भन्दै सचेत पनि गराएका छन्।
कोरोना भाइरस
नेपालमा सन् २०२० बाट देखिएको कोरोनाभाइरस उत्परिवर्तन हुँदै आएको ओमिक्रोन भेरिअन्ट पछिल्लो एक वर्षयता नेपालमा सक्रिय छ।
यसका विभिन्न उपप्रजाति सक्रिय भएपछि विगत एक महिनायता कोभिड सङक्रमणदर उच्च देखिएको छ। ओमिक्रोन भेरिअन्टका लक्षणहरूमा नाकबाट पानी बग्ने, टाउको दुख्ने, शरीर गल्ने, हाच्छिउँ आउने र घाँटी दुख्ने जस्ता छन्।
पछिल्लो समय कोभिड सङ्क्रमणदार १७ प्रतिशत छ भने अहिले पाँच हजार जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन्।
खोपका कारण नियन्त्रण गर्न सहज हुने भनिए पनि नेपालमा ७१ प्रतिशतले मात्र पूर्ण मात्रामा कोभिड खोप लगाएका छन्।
एडिनो भाइरस
बालबालिकामा देखिने यो भाइरस आफैँ नियन्त्रण हुने सेल्फ लिमिटिङ समूहको भाइरस भएको विशेषज्ञहरू बताउँछन्।
यसको छुट्टै निगरानी गर्ने नेपालमा प्रणाली नभए पनि केही केही साताअघि कान्ति बाल अस्पतालमा यस्तो भाइरसबाट सङ्क्रमित बालबालिकाहरूको ठूलो सङ्ख्या पाइएको थियो।
जुलाईको अन्त्यतिर उक्त अस्पतालमा दैनिक ९०० देखि १,००० जनासम्म उक्त भाइरस सङ्क्रमणको लक्षण देखिएका बिरामीहरू उपचारका लागि आएको अस्पतालले जनाएको थियो।
नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष तथा बालरोग विशेषज्ञ डा। गणेश राईका भनाइमा एडिनोभाइरस लागेपछि रुघाखोकी लाग्ने र ज्वरो आउने हुन्छ।
गत जुलाईमा कान्ति बाल अस्पतालबाट सङ्कलन गरी पठाइएका १३ मध्ये १२ बटा नमुनामा एडिनोभाइरस पुष्टि भएको थियो
यस्तो सङ्क्रमण भएमा ज्वरो आएको तीनदेखि पाँच(छ दिनमा ज्वरो निको हुन्छ। कतिपयमा निमोनिया हुने र नाक तथा कान पाक्ने पनि हुने गर्छ। यो भाइरसका कारण देखिने रुघाखोकी आठदेखि १० दिनमा र आँखा पाक्ने १० दिन जतिमा निको हुन्छ।
डेङ्गी
दिउँसो सक्रिय हुने लामखुट्टेबाट फैलने डेङ्गीका लक्षण पनि कोभिडसँग मिल्दोजुल्दो ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने र थकान महसुस हुने छन्।
विगत केही वर्षको तथ्याङ्क हेर्दा नेपालमा जुलाईबाट सेप्टेम्बरबीचमा डेङ्गीको धेरै सङ्क्रमण हुने गरेको छ। यो पटक कोभिडको सङ्क्रमण पनि यही समयमा उकालो लागेको छ। यसकारण मानिसहरू झुक्किने जोखिम थप बढेको अधिकारीहरू बताउँछन्।
महाशाखाका अनुसार गत ज्यानुअरीयता नेपालमा ६० वटा जिल्लाका ९०४ जनामा डेङ्गी सङ्क्रमण भएको छ। जसमध्ये ७५ प्रतिशत सङ्क्रमित लुम्बिनी र बाग्मती प्रदेशका १० वटा जिल्लामा भएका छन्।
कोरोनासँग मिल्ने लक्षण भएका अन्य सङ्क्रमणहरू पनि नेपालमा पाइएका छन्। एचवन एनवन भाइरसका कारण निम्तिने स्वाइन फ्लूसमेत नेपालमा समय(समयमा देखा पर्ने गरेको छ।
त्यस्तै एक प्रकारको किर्नाको टोकाइबाट सङ्क्रमण फैलने स्क्रब टाइफस र फ्रूट ब्याट भनिने एक प्रकारको चमेरोमा पाइने एनआईभीबाट सर्ने निपा भाइरसको पनि जोखिममा नेपाल छ।
मङ्कीपक्स
नेपालसँग खुला सिमाना रहेको छिमेकी देश भारतमा समेत आइसकेको मङ्कीपक्स नेपालमा पनि देखा पर्नसक्ने जोखिम उच्च रहेको अधिकारीहरू बताउँछन्।
मङ्कीपक्स रोकथामका लागि खोपहरू पनि विकास नभइसकेको र विदेशबाट आउनेहरूमा पनि परीक्षण गर्न कठिन भएका कारण यसको जोखिम उच्च रहेको जानकारहरू बताउँछन्।
नेपालले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा शङ्का लागेका व्यक्तिहरूमा निगरानी गर्ने व्यवस्था गरे पनि स्थलमार्गबाट आउनेहरूमा निगरानीको समेत व्यवस्था छैन।
मङ्कीपक्सको शङ्का लागे अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण सुरु गरिसकिएको अधिकारीहरू बताउँछन्। यस्तो सङ्क्रमणको शङ्का लागे छाला तथा चर्म रोग विशेषज्ञहरूसँग परामर्श लिएर परीक्षण गर्न अधिकारीहरू सल्लाह दिन्छन्।



