खोप लगाएका मानिस कोरोना भाइरस सङ्क्रमणबाट कति सुरक्षित ?

नेपालमा केही सातादेखि कोरोनाभाइरस सङ्क्रमण दर बढिरहेको र आगामी दुई सातासम्म त्यो क्रम जारी रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक अधिकारीले बताएका छन्।
नेपालमा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टको उपप्रकार बीए फाइभ फेला परेको पुष्टि भएयता सङ्क्रमण दर निरन्तर उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ।
बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले भिडभाड कम गर्न र सार्वजनिक स्थलमा अनिवार्य मास्कको प्रयोग गर्न सचेत गराएको छ। सङ्क्रमण थप बढ्दै जाँदा रोकथामका लागि यसअघि जस्तै प्रतिबन्धहरू लाग्न सक्ने चिन्ता पनि मानिसहरूले व्यक्त गरिरहेका छन्।
तर स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। समिरकुमार अधिकारी नेपालमा यस अघिजस्तो लकडाउन हुने सम्भावना भने नरहेको बताउँछन्।
अबको दुई सातासम्म हामी सङ्क्रमणको उच्च अवस्थाबाट गुज्रिन्छौँ। त्यसपछि सङ्क्रमण ओरालो लाग्ने चरणबाट गुज्रिन्छौँ, उनले भने।
देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या ५,८०० नागेको छ। तीमध्ये अधिकांश काठमाण्डौं उपत्यकाका तीन जिल्लामा छन्।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला दुई छन् भने मोरङमा पनि २०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्। सङ्क्रमण बढे पनि खोप लगाएका मानिसहरूमा जटिलता कम देखिएको स्वास्थ्य अधिकारी र विज्ञहरूले बताएका छन्।
नेपालमा ७० प्रतिशत मानिसहरूले कोभिड खोपको पूर्ण मात्रा लगाएका छन् भने कतिपय खोप नै नलगाउनेहरू पनि छन्। यसअघि मन्त्रालयले कोभिड सङ्क्रमणबाट साउन महिनामा ज्यान गुमाउने मानिसमध्ये ७० प्रतिशत खोप नलगाएका व्यक्ति र दीर्घरोगी रहेको जनाएको थियो।
महामारी सुरु भएयता नेपालमा झन्डै १२,००० जनाले कोभिडका कारण ज्यान गुमाएको सरकारको औपचारिक तथ्याङ्क छ। अहिले नेपालमा कोभिड भएका मानिसलाई एक सातासम्म आइसोलेशनमा बस्न भनिएको छ।
विज्ञहरूले कोभिड खोप लगाएका मानिसहरू खोप नलगाएका मानिसको तुलनामा सुरक्षित हुने भए पनि खतरामुक्त भने नहुने बताएका छन्।
अहिलेको सङ्क्रमणबाट तेस्रो लहरमा सङ्क्रमित भएका र आस्ट्राजेनेका, फाइजर र मोडर्ना खोप लगाएकाहरू कम जोखिममा छन् तर खतरामुक्त चाहिँ छैनन्,ू सङ्क्रामक रोग विशेषज्ञ डा अनूप सुवेदी भन्छन्।
पूर्ण मात्रामा खोप लगाएका मानिसले पनि अरूलाई सङ्क्रमण सार्ने सम्भावना रहने भएकाले मास्कको प्रयोग र सरसफाइमा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्।
खोप लगाएका व्यक्तिहरूले मास्क प्रयोग नगर्दा उनीहरूबाट सङ्क्रमण फैलिन सक्ने खतरा अझ बढी हुन्छ, अर्का विशेषज्ञ डा शेरबहादुर पुनले भने।
फोटो खिच्नलाई भिडभाडमा मास्क खोल्दा र मास्कको उचित प्रयोग नगर्दा पनि सङ्क्रमण सर्ने जोखिम हुने डा सुवेदी बताउँछन्। मास्क लगाउँदा पनि छेउकुनाबाट हावा छिर्ने गरी लगाउन भएन। कमसल मास्कले पनि सङ्क्रमण नरोक्ने जोखिम हुन्छ, उनले भने।
विश्वका कतिपय देशहरूमा कोभिड खोपको चौथो मात्रा दिन सुरु गरिसकिएको छ। नेपालमा पनि स्वास्थ्यकर्मीसहित अग्रपङ्क्तिमा कार्यरत पेसाकर्मीहरूले अतिरिक्त मात्रा खोप लगाएको आठ महिनाभन्दा बढी भइसकेको छ।
सरकारले अतिरिक्त मात्रा खोप दिने नीति तत्काल नभएको बताए पनि सङ्क्रामक रोग विशेषज्ञ सुवेदी ५० वर्षमाथि उमेर भएका, दीर्घरोगी र रोग प्रतिरोध क्षमता कम भएका मानिसहरूलाई चौथो मात्रा खोप दिन उपयुक्त हुने बताउँछन्।
उच्च जोखिम समूहको मानिसले चाहिँ पछिल्लो छ महिनायता खोप लगाएका छैनन् भने चौथो डोज पनि लगाउनु राम्रो हो, उनले भने।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च यूनिटका प्रमुख डा पुन भने चौथो मात्रा बूस्टर खोपको प्रभावकारिताबारे विस्तृत अध्ययन भइनसकेका कारण यसका लागि हतार गर्न नपर्ने बताउँछन्।
केही देशहरूले चौथो मात्रा दिन सुरु गरे पनि यो साँच्चिकै आवश्यक हो वा होइन भन्नेबारे बलियो प्रमाण अझै आइसकेको छैन, उनले भने।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता अधिकारीले सङ्क्रमण बढ्ने प्रक्षेपणसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्ने र खोपको पहुँच थप विस्तार गरिने बताए।
हामी यसअघिको जस्तो प्रतिबन्धहरू लगाउने पक्षमा छैनौँ। भिडभाड कम गर्ने र स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्ने कुरामा हामीले जोड दिँदै आएका छौँ, अधिकारीले भने।
तर सङ्क्रामक रोग विशेषज्ञ सुवेदी अनलाइनबाट सञ्चालन गर्न मिल्ने कामहरू भौतिक उपस्थितिमा नगर्दा सङ्क्रमण फैलिनबाट रोक्न सकिने बताउँछन्।
हाम्रोमा धेरै बालबालिकाले अझैसम्म पूर्ण मात्रामा खोप लगाएका छैनन्। त्यसैले अब केही समय विद्यालयहरूको कक्षा अनलाइनबाटै सञ्चालन गरे पनि हुन्छ, उनले भने। बीबीसीको सहयोगमा



