नेपालमा मङ्कीपक्स नियन्त्रणको तयारी के छ ?

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्स रोगलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कट घोषणा गरेसँगै नेपाल प्रवेश गर्ने बिन्दुहरूमा सतर्कता अपनाउन थालिएको अधिकारीहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय विमानस्थल तथा विभिन्न सीमानाकामा परिचालित स्वास्थ्यकर्मीलाई यो रोगका लक्षणहरू पहिचान गर्ने र सन्दिग्ध बिरामीलाई अलग्ग राखेर उपचार गर्ने तरिका सिकाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले देशका सबै भेग समेटिनेगरी मुख्य १४ वटा अस्पतालका चर्मरोग विशेषज्ञहरूलाई यस रोगको फोकल पर्सन तोकिएको बताएका छन्।
आसपासका स्वास्थ्यकर्मीहरूले ती १४ सरकारी अस्पतालका फोकल पर्सनसँग सल्लाह र परामर्शअनुसार काम गर्छन्,ू निर्देशक डा। दासले भने। शङ्कास्पद बिरामीलाई पहिचान, अलग पार्ने, उपचार र आवश्यक पर्दा नमुना सङ्कलन कसरी गर्ने भन्ने वहाँहरूलाई सिकाइएको छ,ू उनले भने।
विश्वका ७५ देशमा १६,००० जनाभन्दा बढीमा मङ्कीपक्स पुष्टि भइसकेको डब्ल्यूएचओले जनाएको छ। सरकारले ती अस्पतालहरूमा बिरामीको लक्षण विश्लेषण गरेर नमुना परीक्षण गर्न पठाउने संयन्त्र पनि बनाएको छ।
नेपालमा नमुना परीक्षण गर्ने सुविधा छैन, भारत पठाउनुपर्छ, डा दास भन्छन्। तर अहिलेको अवस्थामा हाम्रो निगरानीको काम मुख्य छ। यसका लक्षणबारे सचेतना र प्रचार गर्ने काम भइरहेको छ।
पीसीआर उपकरण भएको प्रयोगशालामा मङ्कीपक्सको परीक्षण सम्भव हुन्छ। तर आवश्यक रसायन अभाव भएकाले बाहिरबाट ल्याउने तयारी थालिसकिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी बताउँछन्।
अहिलेलाई विश्व स्वास्थ्य सङ्गठनका समन्वय केन्द्रहरूमा त्यसको परीक्षण गर्ने प्रावधान छ, सहप्रवक्ता डा अधिकारी भन्छन्।



