देशमुख्य खबर

संसदमा कांग्रेसले किन माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा ?

Thrill Factory
Rungta Group

विभिन्न प्रकरणमा अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई गृहमन्त्रीका रूपमा स्वीकार्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केहीबेर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी र दोहोरो नागरिकतासम्बन्धी विवादमा मुछिएका व्यक्ति रहेको भन्दै कांग्रेसले उनको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरेको हो।

ूस्वयम् अनुसन्धानको दायरामा रहेको व्यक्ति अनुसन्धानलाई प्रभावित गर्नसक्ने स्थानमा बस्नु नहुने कांग्रेसको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन तोडेपछि कांग्रेस अहिले विपक्षमा पुगेको छ।

संसद्‌मा लगातार तीन दिनदेखि कांग्रेसले विवादित व्यक्तिहरूलाई मन्त्री बनाएको भन्दै सरकारको आलोचना गर्दै आएको छ। शुक्रवार प्रतिनिधिसभामा विधेयक र विधेयकबारे राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो।

प्रतिनिधिसभामा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गर्ने तय भएको थियो। त्यस्तै गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो।

शुक्रवार आगामी वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा छलफल हुने कार्यसूची थियो। शुक्रवारको बैठक सुरु हुनु बित्तिकै कांग्रेसका सांसद्‌हरूले बैठकमा उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद प्रदीप पौडेललाई बोल्ने समय दिएका थिए।

पौडेलले विगत केही दिनदेखि प्रमुख प्रतिपक्षी दलले संसद्‌मा उठाउँदै आएका प्रश्नहरूबाट प्रधानमन्त्री भागेको आरोप लगाए। उनले विगतमा गृहमन्त्री प्रश्न गर्ने पेसामा रहेको स्मरण गराउँदै भने, आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री हुनु हुँदैनथ्यो। प्रधानमन्त्रीले प्रश्न उठेको मान्छेलाई गृहमन्त्री बनाउनु हुँदैनथ्यो।

उनले विगतमा प्रधानमन्त्रीले कांग्रेसका कारण सुशासन हुन नसकेको बताएको तर अहिले विवादित व्यक्तिहरूले घेरिएर कसरी सुशासन दिन सक्छन् भन्ने प्रश्न पनि उठाए। उनले गृहमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गर्दै भने, म उच्च नैतिकताको आधारमा राजीनामा दिन माग गर्छु।

शून्य समयमा बोल्ने अधिकांश कांग्रेस सांसद्‌हरूले पनि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए। कांग्रेस सांसदहरूले उभिएर विरोध जनाइरहेका बेला सभामुखले कारबाही अघि बढाउन खोजेका थिए। तर कांग्रेस सांसदहरू नबसेपछि सभामुखले उक्त दलका प्रमुख सचेतक रमेश लेखकलाई बोल्ने समय दिएका थिए।

लेखकले आगामी वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा हुने छलफलमा आफूहरूले अवरोध नगर्ने तर गृहमन्त्रीका रूपमा विवादित व्यक्तिलाई विधेयक प्रस्तुत गर्न नदिने बताए। उनले गृहमन्त्रीका सम्बन्धमा प्रधानमन्त्रीले जबाफ नदिएसम्म लामिछानेलाई विधेयक पेस गर्न नलिने अडान दोहोर्‍याए।

लेखकले बोलिसकेपछि पनि कांग्रेस सांसदहरूले उभिएर सदन अवरुद्ध गरिरहेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। स्थगित भएर बसेको बैठकमा सभामुखले गृहमन्त्री लामिछानेलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए।

तर उनी आफ्नो आसनबाट उठेर रोस्टममा नपुग्दै नेपाली कांग्रेसका सांसदहरूले रोस्टम अगाडि उभिएर नाराबाजी सुरु गरे। त्यसपछि लामिछानेले विधेयक प्रस्तुत गर्न पाएनन् भने सभामुखले बैठक आगामी आइतवारसम्मका लागि स्थगित गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले चाहिँ नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गर्ने कुनै आधार नभएको बताए।उनले भने, उहाँहरूले राजीनामा माग गर्नु भएको छ त्यो उहाँहरूको कुरा भयो तर त्यसको कुनै आधार छैन। उहाँ देशको संविधान अनुसार गृहमन्त्री बन्नु भएको हो र उहाँमाथि लागेका आरोपहरू कुनै पनि पुष्टि भएका विषय होइनन् र ती आरोप मात्र हुन्।

परियारले सभामुखले सदनमा उठेका प्रश्नहरूबारे जबाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेकाले प्रचण्डले त्यसको जवाफ दिने बताए। सभामुखबाट गृहमन्त्रीज्यूलाई पनि रुलिङ भयो भने उहाँले पनि निश्चय नै जवाफ दिनुहुनेछ, परियारले भने। उनले शुक्रवार लामिछानेले पूर्वनिर्धारित योजना अनुसार नै संसद्‌मा विधेयक प्रस्तुत गर्ने बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button