No Image Headlineदृष्टि/संवादमुख्य खबर

नाममात्रको सहुलियत कर्जा, किन छैन आकर्षण ?

Patanjali Nepal
Sweet Mart Food

मुलुकमा औद्योगिक वातावरण सृजना गर्न घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले विभिन्न शीर्षकमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने कार्यक्रम ल्याए पनि यसको प्रभावकारिता ज्यादै कम देखिएको छ ।

खासगरी शैक्षिक प्रमाणपत्रको आधारमा प्रवाह गरिने कर्जा निकै कम गएको छ । यसले यो कार्यक्रममा धेरै नै सुधारको आवश्यकतालाई देखाएको छ । कर्जाको पहुँचविना कुनै पनि उद्योग व्यवसाय फस्टाउन सक्दैन । साना र घरेलु उद्यमका लागि बीउपैसाको महत्त्व निकै हुन्छ ।

त्यसैले केही गर्ने लक्ष्य लिएका र हातमा केही सीप भएका व्यक्तिले बीउ पैसाको अभावमा काम गर्न नसक्ने अवस्थालाई अन्त्य गर्न ब्याज अनुदानमा विभिन्न १० शीर्षकमा सहुलियतपूर्ण कर्जा दिने नीति ल्याएको छ । यस्तो कर्जा लिनेले तुलनात्मक रूपमा सस्तो ब्याजमा कर्जा पाउँछन् ।

व्यावसायिक कृषि तथा पशुपक्षी र महिला उद्यमशील शीर्षकमा राम्रैसँग कर्जा प्रवाह भए पनि अन्य शीर्षकमा भने कर्जा प्रवाहको अवस्था राम्रो छैन । वित्तीय स्रोतसँगको पहुँचविना उत्पादन बढाउन सकिँदैन । त्यसैले विभिन्न वर्गका जनतालाई वित्तीय पहुँच पुर्‍याउन र सस्तो ब्याजदरमा लगानी गर्न ब्याजअनुदानको सहुलियत कर्जा कार्यक्रम ल्याइएको हो ।

लक्षितसमूह यसबाट लाभान्वित हुन सकेको छैन र कर्जा प्रवाह पनि निकै सुस्त छ । त्यसले वास्तविक लक्षितसमूहले भन्दा पनि केही टाठाबाठाले यस्तो कर्जा लिएको अनुमान नेपाल राष्ट्र बैंकले समेत गरेको छ । सहुलियत कर्जामा बैंकहरूले आधार दरमा अधिकतम २ प्रतिशत विन्दु प्रिमियम थपी ब्याज लिन पाउँछन् ।

यस्तो कर्जामा सरकारले ५ प्रतिशत अनुदान दिन्छ । परियोजना हेरेर ५ लाखदेखि ५ करोड रुपैयाँसम्म कर्जा दिन सक्ने व्यवस्था गरिएको छ । यति सस्तो ब्याजदरमा समेत कर्जा प्रवाह नहुँदा कार्यक्रममा नै केही कमजोरी छ कि भन्ने देखिन्छ ।

सहुलियत कर्जाका सबै शीर्षकमा कर्जा प्रवाह गर्न आर्थिक दृष्टिकोणले उचित नदेखेर बैंकहरूले कर्जा प्रवाहमा चासो नदिएका हुन सक्छन् । तर, यस्ता सानासाना धेरै परियोजनामा लगानी गर्ने हो भने कर्जा मुनाफायोग्य हुन्छ ।

बरु ठूला परियोजनाको कर्जाको साँवाब्याज उठाउन कठिन होला यस्तो सानो क्षेत्रमा गएको कर्जा उठाउन त्यति गाह्रो हुँदैन । त्यसैले यस्तो कर्जा व्यापक रूपमा परिचालन गर्न बैंकहरूले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

अर्को, यो सहुलियत ऋण झन्झटिलो भएर पनि कर्जा लिनेको संख्या कम भएको हुन सक्छ । शैक्षिक प्रमाणपत्र नै धितो राखेर लिने कर्जामा ज्यादै कम कर्जा प्रवाह भएको छ । शैक्षिक बेरोजगारलाई स्वरोजगार बनाउने अभियानका लागि यो कर्जा निकै सहयोगी हुने अपेक्षा धेरैको थियो ।

यही शीर्षकमा कम कर्जा प्रवाह भएको छ । कि त यस शीर्षकमा दिएको कर्जा थोरै भएर युवा आकर्षित भएनन् कि त यो प्रक्रिया निकै झन्झटिलो भएर कर्जा लिन आएनन् भनेर बुझ्नुपर्ने हुन्छ । युवाहरूको विदेश पलायन रोक्नसमेत यो कर्जा सहयोगी हुनुपर्ने हो ।

लक्षितसमूहले नै यो सुविधा लिएको देखिँदैन । त्यस्तै युवा वर्ग स्वरोजगार र सीटीईभिटीबाट दिइने तालीममा दिने ऋण पनि निकै कम प्रवाह भएको छ ।  अब यो कार्यक्रमका बारेमा पर्याप्त जानकारी नहुँदा पनि कर्जा कम गएको हुन सक्छ ।

हुन त मुलुकमा कुनै पनि व्यवसाय गर्न उपयुक्त समय नभएको धेरैको विश्लेषण छ । यद्यपि यस्तै जोखिमपूर्ण अवस्थामा लगानी गरेर नै व्यवसाय चलाउन हो मुनाफा हुन सक्छ । कुनै पनि कार्यक्रम यसले परिणाम दिन सक्छ भन्ने निष्कर्षका साथ ल्याउन आवश्यक हुन्छ ।

सहुलियत कर्जामा राखिएका कार्यक्रमको औचित्य र सम्भावनाबारे अध्ययन भएको पाइँदैन । त्यसो हुँदा यस्तो कार्यक्रम नै असफल हुन्छ । प्रचारबाजीका लागि ल्याइएका कारणले पनि यस क्षेत्रमा कर्जा नगएको देखिन्छ । त्यसैले कुनै पनि कार्यक्रम ल्याउँदा पर्याप्त अध्ययन गरेर मात्रै ल्याउनु जरुरी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button