दृष्टि/संवादमुख्य खबर

सीमावर्ती व्यापारका विरोधाभास : अवैध आयात किन हुन्छ, निकास के हो ?

Thrill Factory
Rungta Group

सीमावर्ती क्षेत्रका नेपालतर्फका बजार सुनसान भइरहँदा सीमापारि भने खचाखच हुने गरेको छ । यो समस्या दशकौंदेखिको हो । सीमावर्ती क्षेत्रका मात्र होइन, काठमाडौंदेखि नागरिक भारतीय सीमामा गएर किनमेल गर्ने गरेको समेत पाइन्छ ।

सीमापारिको पसल चहलपहल हुनुको कारण मूल्यमा हुने अन्तर नै हो । नेपालमा भन्दा केही सस्तोमा सीमापारि सामान पाइन्छ भने त्यही सामानका लागि नेपालमा बढी पैसा किन तिर्ने ? यसको उत्तर खोजिनु जरुरी छ । उपभोक्ता जहाँ सस्तो सामान पाइन्छ, त्यहाँ जानु स्वाभाविक हो ।

सीमापारि सस्तो सामान पाइन्छ भने सीमावारि नै त्यही सामान खरीद गर्ने न्यून हुन्छन् । त्यसैले टालटुले प्रयासले मात्र उपभोक्तालाई सीमावारि नै रोक्न सक्ने देखिँदैन । यो समस्या एउटा कुनै नाका वा शहरको नभई नेपालसँग सीमा जोडिएका अधिकांश शहरको हो ।

यसको समाधान केकसरी गर्न सकिन्छ भन्नेमा न अध्ययन भएको छ न त सरकारी तहबाट कुनै नीतिगत व्यवस्था नै । हेर्दा निकै ठूलो जस्तो नलाग्ने यस समस्याले सीमाक्षेत्रका नेपाली व्यवसायीलाई मात्र असर पारेको छैन, समग्र अर्थतन्त्रमै यसले प्रभाव पारिरहेको छ ।

नेपाल भारत सीमा खुला हुँदा यो समस्या चर्को भएको केहीको तर्क पाइन्छ । यो आंशिक सत्य हो तर यसले मात्रै समस्या भएको भने होइन । वास्तवमा भारतीय सीमाका पसल नै नेपालीलाई लक्षित गरेर खोलिएका हुन् ।

सरकारले कुनै पनि समस्याको समाधान निरोधात्मक मात्रै जानेको देखिन्छ । त्यसमा पनि निषेध गर्ने नीति लिन्छ तर कार्यान्वयनमा हावा खुस्किएको पत्तै पाउँदैन वा पाउने चासो पनि राख्दैन । उदाहरणका लागि सीमापारिबाट सामान ल्याउँदा भन्सार महशुल लिनुलाई लिन सकिन्छ । यस्तो व्यापार रोक्न २०६४ सालमै सरकारले यस्तो नीति लिएको थियो तर न यो प्रभावकारी कार्यान्वयन हुन सक्यो न त्यसको विकल्पमा अन्य कुनै नीति नै लिइयो ।

नेपालीहरूले भारतमा गएर केही सामान ल्याएर मात्रै यो समस्या चर्को बनेको छैन । चोरबाटोबाट अर्बौंका सामान भित्रिरहेको छ । यो चोरबाटो थुन्ने उपाय भनेको तिनको मूल्यमा अन्तर आउन नदिनु नै हो । त्यसो त कतिपय सामान उही ब्रान्ड भए पनि भारतमा बढी गुणस्तरको भएको अनुभव उपभोक्ताले गरेका छन् ।

त्यसले पनि भारतमा गएर सामान किन्न प्रेरित गरेको देखिन्छ । जे भए पनि नेपालको अव्यावहारिक कर नीतिका कारण नेपालमा सामान महँगो पर्ने गरेको छ । त्यसैले कर प्रणाली सुधार गरेर केही मात्रामा यो समस्या कम गर्न सकिन्छ ।

नेपाली बजारलाई चलायमान बनाउने अर्को उपाय भनेको भारतमा आवश्यक पर्ने वस्तुको उत्पादन गर्नु हो । केही वर्षअघिसम्म नेपालको बाबियाको डोरी भारतमा निकै आवश्यक मान्ने गरिन्थ्यो । त्यसकै लागि भारतीय व्यापारी नेपालसम्म आइपुग्थे । अब पनि त्यस्तै गर्न सकिन्छ ।

नेपालको मौलिक उत्पादनले भारतीय मनोविज्ञानमाथि प्रभाव पार्न सक्ने हो भने भारतबाट नेपाल आएर सामान किन्ने प्रवृत्ति बढाउन सकिन्छ । अहिले मदिरा सेवन गर्न प्रशस्त भारतीयहरू नेपाली बजारमा आउँछन् । केही अघि क्यासिनोका लागि मात्रै पनि भारतीयहरू नेपाल आउँथे । नेपालले यसै गरी आफ्नो उत्पादनप्रति भारतीय उपभोक्तामा विश्वास जगाउन सक्नुपर्छ ।

नेपालजस्तै सिमाना भएका अरू मुलुक पनि होलान् । ती मुलुकले कसरी काम गरिरहेका छन् ? उनीहरूको अवस्था हेर्न सकिन्छ । तर, यथास्थितिलाई नै मलजल गरिरहने हो भने सीमावर्ती क्षेत्रका बजार सधैं सुनसान रहिरहनेछन् ।

सीमा बन्द नै भए पनि सामान सस्तो पर्छ भने कुनै न कुनै तरीकाले त्यो सामानले सीमा पार गरेरै छाड्छ । अर्थात् मानिसले माग गरेपछि त्यस्तो वस्तुको आयात समेत सरकारले रोक्न सक्दैन, चोरबाटोबाट आउन थाल्छ । त्यसैले यसको समाधानका लागि व्यवसायीले उठाएका केही माग व्यावहारिक देखिन्छन् । तिनलाई सम्बोधन गर्नेतर्फ सरकारको ध्यान जानु जरुरी देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button