No Image Headlineखबर फटाफट

विद्युतीय सवारी साधन प्रोत्साहन नीति, छैन भरपर्दो पूर्वाधार

Thrill Factory
Rungta Group

सरकारले २०८८ सालसम्म खनिज तेलबाट चल्ने सवारीसाधनलाई विद्युतीयले विस्थापन गर्ने नीति लिए पनि त्यसअनुसारको नीति, कार्यक्रम र इकोसिस्टम तयार गर्न सकेको छैन । यद्यपि विद्युतीय सवारीसाधनको आयात गर्दा दिइएको भन्सार महशुल र अन्त:शुल्क छूटका कारण यसको आयात र प्रयोग भने बढ्दो छ ।

विद्युतीय सवारीसाधनको विस्तारका लागि सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार पर्याप्त चार्जिङ स्टेशन हो । तर, यससम्बन्धी स्पष्ट नीति छैन र पर्याप्त स्टेशन पनि बनेका छैनन् ।

नेपालमा अहिले ४ सयओटा चार्जिङ स्टेशन रहेको बताइन्छ । मुलुकभरि कति सवारीसाधन बढ्दा कतिओटा स्टेशन चाहिने हो भन्ने अध्ययन भएको छैन । पछिल्लो समय विद्युतीय सवारीसाधनको आयात निकै बढेको छ भने पेट्रोल डिजेलबाट चल्ने सवारीसाधनको आयात सुस्त छ ।

यस्ता गाडी विक्री नहुँदा आयातकर्ताले भन्सारबाट गाडी छुटाएका छैनन् र भन्सार यार्डमा गाडीको थुप्रो देख्न सकिन्छ । यसले विद्युतीय सवारीप्रतिको बढदो आकर्षणलाई स्पष्ट पार्छ ।

सरकार आफै विद्युतीय सवारीसाधनबारे स्पष्ट नभएको देखिन्छ । कहिले यसको कर बढाउने, कहिले घटाउने त कहिले किलोवाट अनुसार फरक दर कायम गर्ने जस्ता नीति लिइरहेको छ । निश्चित व्यापारीको स्वार्थमा यसो गरिएको भन्ने आरोप सरकारले खेप्दै आएको छ ।

पछिल्लो विद्युतीय सवारीसाधनमा कर बढाउने हल्ला चलेपछि आयातकर्ताले ठूलो परिमाणमा सवारीसाधन आयात गरे जुन अहिले भण्डारण गरेर राखिएका छन् । इन्टरनल कम्बुशन इन्जिनभन्दा विद्युतीय सवारीसाधन बनाउन कम जटिल देखिन्छ ।

त्यसो हुँदा सरकारले लिएको भन्सार नीतिअनुसार गाडीको स्पेसिफिकेशन परिवर्तन गरेको समेत पाइन्छ । जेहोस्, निजीक्षेत्रकै पहलमा सवारीसाधनको आयात बढेको हो भन्न सकिन्छ ।

विद्युतीय सवारीसाधनका लागि आवश्यक चार्जिङ स्टेशन पर्याप्त छैन । त्यस्तै सबै स्टेशन युनिभर्सल पोर्टका हुँदैनन् । फलत: कुनै गाडीलाई सपोर्ट गर्ने र नगर्ने खालको चार्जिङ स्टेशन बनेका छन् । त्यस्तै चार्जिङ स्टेशन सामान्य अवस्थाका लागि पुग्नेगरी मात्र बनाइएका छन् ।

त्यसो हुँदा सार्वजनिक बिदा वा चाडपर्वका बेला स्टेशनमा घण्टौं पालो कुर्नुपर्ने बाध्यता छ । त्यस्तै कतिपय होटेलले आफ्नो परिसरमा चार्जिङ प्वाइन्ट राखेका छन् । आफैले पनि चार्जिङ मेशिन राखिदिएका छन् ।

त्यतिमात्र होइन, भारतको टाटा कम्पनीले नेपालमा चार्जिङ स्टेशन बनाउन इच्छा देखाएको समाचार आएको छ । यसमा पनि चार्जिङ शुल्क नै अवरोध बनेको छ । चार्जिङ पूर्वाधार बनाउने कम्पनीले कति मुनाफा राख्ने भन्ने स्पष्ट नीति बनाइनु आवश्यक छ ।

अर्को, अहिले विभिन्न ब्रान्डका विद्युतीय सवारीसाधन भित्रिइरहेका छन् । तिनको गुणस्तर, ब्याट्रीको व्यवस्थापन, सर्भिस सेन्टरजस्ता कुरामा स्पष्ट मापदण्ड बनाउन ढिला भइसकेको छ । यी सबै कुरामा विद्युतीय सवारीसाधन विक्रेता कम्पनीको जिम्मेवारी स्पष्ट पारिनुपर्छ ।

अहिले कतिपय कम्पनीले चार्जिङ स्टेशन बनाए पनि कतिपय कम्पनीले यसमा चासो दिएको पाइँदैन ।  हुन त अहिले चार्जिङ स्टेशनका लागि एप बनाइएको छ जसले स्टेशनका बारेमा जानकारी दिनेमात्र होइन, चार्ज शुल्क तिर्न र चार्ज गर्नसमेत सहयोग गर्छ । यो सकारात्मक हो तर पर्याप्त छैन ।

नेपालमा जलविद्युत्को सम्भावना उच्च भएकाले खनिज तेललाई प्रतिस्थापन गर्न विद्युतीय सवारीसाधनलाई उच्च प्राथमिकता दिनुपर्छ । त्यसमा पनि सार्वजनिक यातायातलाई विद्युतीय बनाइनु जरुरी छ । अहिले विद्युतीय बस, मिनीबस र माइक्रोबसले विभिन्न ठाउँमा सेवा दिन थालेका छन् भने विद्युतीय ट्याक्सी पनि बढ्दो छ ।

विद्युत् प्राधिकरणका अनुसार अहिले दैनिक १ लाख युनिट विद्युत् चार्जिङका लागि खपत भइरहेको छ । यसले दैनिक १ करोड रुपैयाँ पेट्रोल डिजेल विस्थापन गरिरहेको छ । यही गतिमा विद्युतीय सवारीसाधनको आयात र प्रयोग बढ्दै गए ५ खर्बसम्म विद्युत् खपत हुने अनुमान छ । त्यसैले नेपालले विद्युत् सवारीसाधनको विस्तारका लागि चार्जिङ स्टेशनमा काम गर्न पुगेको छैन ।

यसका लागि विद्युत् नियमन आयोगले चार्जिङ शुल्क, चार्जिङ स्टेशनको नक्सा, आवश्यक चार्जिङ स्टेशनको संख्या, दूरी, प्रकार आदिबारे स्पष्ट नीति र निर्देशन बनाउनुपर्छ । त्यस्तै विद्युत् प्राधिकरणले त्यसअनुसार सेवा दिनुपर्छ । सवारीसाधन आयातकर्तालाई पनि सवारीसाधनको अनुपातमा चार्जिङ स्टेशन बनाउन अनिवार्य गरिनुपर्छ । त्यस्तै चार्जिङ स्टेशन समान रूपमा सबैतिर बनून् भन्नेगरी तिनको स्थान निर्धारण गरिनुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button