अर्थखबर फटाफट

खेतीको समयमा पर्साका किसानलाई मलको अभाव

Thrill Factory
Rungta Group

धानबालीपछि अर्को मुख्य बाली गहुँ छर्न अहिले किसानहरूलाई भ्याइनभ्याइ भएको छ । किसानहरू यतिखेर गहुँ रोप्नका लागि आवश्यक उन्नत जातको बीउ, रासायनिक मल, खेतको सरसफाइ तथा जोताइमा लागेका छन ।

किसानहरूले खेतमा भएका पराल तथा ठुटा जलाउनुका साथै जोताइ गर्न, पानीको मात्रा कम भएको जग्गामा सिंचाइ गर्न व्यस्त छन्  यसका साथै जीराभवानी र पटेर्वासुगौली गाउँपालिकाले किसानहरूका लागि ५० प्रतिशत अनुदानमा विजय, एनएल र गौतम प्रजातिका उन्नत बीउ वितरण गर्दा किसानहरूलाई सहज भएको छ ।

तर कतिपय किसानहरूले यी जातका बीउबाट राम्रो उत्पादन नभएको भन्दै भारतीय बजारबाट हाइब्रिड जातका गहुँका बीउ खरीद गरी ल्याएका छन् । यी जातका गहुँको बीउबाट प्रतिकट्ठा  डेढदेखि दुई मनसम्म उत्पादन हुने किसानहरूले बताए ।

हाइब्रिड जातको बीउबाट प्रतिकट्ठा अढाई मनदेखि पाँच मन गहुँ उत्पादन हुने गर्छ । भारतीय बजार भङ्गाहा, इनर्वा, मैनाटाड, सिकटाबाट नेपाली किसानहरूले श्रीराम ३०३, सुपर ३०३, ए वन ३०३ ब्रान्डका भारतीय गहुँका बीउ ल्याइरहेका छन् । यी बीउको मूल्य प्रतिकिलो ५५ देखि ८० भारु पर्छ ।

किसानहरूले रासायनिक मलका लागि सास्ती भोग्नुपरेको गुनासो गरेका छन् । कतिपय किसानहरूले नेपाल सरकारको अनुदानको मल आउने आशा कम भएको भन्दै भारतीय बजारबाट मल ल्याएका छन् ।

केही किसानहरूले मात्र यहाँको कृषि सहकारी संस्थाबाट मल लिन सकेका छन् । भारतीय बजारबाट मल ल्याउँदा डिएपी प्रतिबोरा तीन हजार १००, युरिया प्रतिबोरा एक हजार ५०, पोटास तीन हजार ३५० रुपैयाँ पर्न जान्छ ।

कृषि सहकारीबाट मल लिंदा डिएपी प्रतिबोरा दुई हजार ५००, युरिया एक हजारमा पाउने गरेका छन् । जीराभवानी गाउँपालिका–२ सेढवामा रहेको मारुतीनन्दन कृषि सहकारीका सञ्चालक सत्यनारायण साहले डिएपी र युरिया मल ल्याइरहेको बताए ।

ठोरी गापा–५ मा रहेको हाम्रो चौतारी कृषि सहकारी संस्थाका अध्यक्ष रूपबहादुर श्रेष्ठले सो क्षेत्रमा तोरी र सुर्ती बाली बढी लगाएको हँुदा बढी भएका रासायनिक मल अन्य पालिकाका किसानहरूलाई वितरण गरेको बताए ।

कृषि सामग्री कम्पनीले भारतबाट ३० हजार मेट्रिक टन युरिया मल भित्रिने क्रम शुरू भएको र जिटुजीको माध्यमले भारतबाट थप ३० हजार मल ल्याउने तयारी भइरहेको बताइरहँदा पर्सेली किसानहरू भने मलको अभाव झेलिरहेका छन् ।

उनीहरूलाई सहकारीमार्फत सहजरूपमा मल उपलब्ध गराउनुपर्नेमा बिचौलियाहरूले यो समयमा चलखेल गरी लुकाउने र महँगो मूल्यमा बिक्री गर्ने परिपाटी छ ।

अहिले पनि सहकारीको माध्यमबाट वितरण गरिएको सूची कृषि सामग्री कम्पनीमा भएपनि ती सहकारीले भने किसानसम्म मल पु¥याउन सकेका छैनन् र नेपाली किसानहरू भारतीय मल महँगो मूल्यमा खरीद गर्न बाध्य छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button