सलमान खान ‘गलवान’को तयारीमा, नयाँ पिरियड थ्रिलरमा पनि स्वीकृति

बलिउड अभिनेता सलमान खान अहिले आफ्नो आगामी फिल्म ‘गलवान’ को तयारीमा व्यस्त छन्। अपूर्व लाखियाको निर्देशनमा बन्ने यो फिल्म गलवान उपत्यकाको वास्तविक संघर्षमा आधारित हुनेछ। वास्तविक घटनालाई पहिलोपटक पर्दामा उतार्ने उद्देश्यले निर्माण हुँदै गरेको फिल्मको छायांकन यस महिनाको अन्त्यतिर लदाखमा सुरु हुनेछ, जसको लागि करिब ३० दिनको निरन्तर सुटिङ तालिका तय भएको छ।
गलवान सुरु हुनुअघि नै सलमानले अन्य नयाँ प्रोजेक्टहरूमा पनि ध्यान दिइरहेका छन्। भारतीय मिडिया रिपोर्टहरूका अनुसार, उनले मलयालम निर्देशक महेश नारायणनसँग हालसम्म चार–पाँच पटक भेट गरिसकेका छन्। पछिल्लो भेट एक हप्ता अघि मुम्बईमा भएको थियो।
पिंकविलाको रिपोर्टअनुसार, सलमानले महेशसँग विभिन्न अवधारणामा छलफल गर्दै एक पिरियड थ्रिलर–एक्शन फिल्मलाई स्वीकृति दिएका छन्। यो फिल्म १९७० देखि १९९० को दशकबीचको पृष्ठभूमिमा आधारित हुने बताइएको छ। महेशले चाँडै पूर्ण स्क्रिप्ट सलमानलाई प्रस्तुत गर्ने तयारी गरिरहेका छन्। रिपोर्टका अनुसार, यो भूमिका सलमानको लागि नयाँ र चुनौतीपूर्ण हुनेछ।
त्यसैगरी, सलमानको अर्को परियोजना ‘बजरंगी भाईजान’ निर्देशक कबीर खानसँग पनि तयारी अवस्थामा छ। पिंकविलाले जनाएअनुसार, दुबैबीच स्टाइलिस एक्शन थ्रिलर, गम्भीर सामाजिक ड्रामा तथा ‘बजरंगी भाईजान’ को सम्भावित सिक्वेलसहित विभिन्न विधामा छलफल भइरहेको छ।



